
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक संकटतर्फ गएको भन्दै सक्रिय शासन सत्ताको मोहतर्फ हेलिएका छन् । मुलुकको व्यवस्था फेरिएपनि अवस्था नफेरिएको दाबी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले देखाएको सक्रियतालाई अर्थपूर्ण मानिएको छ ।
राजगद्दी छाड्दा ज्ञानेन्द्रले गरेको सम्बोधन हो यो । ज्ञानेन्द्रलाई सायदै लागेको थियो होला, राजाबाट एकैपटक सर्वसाधारण बन्दैछु भन्ने ।
तर, जनता सडकमा ओर्लिएर राजाविरुद्ध चर्का नारा लगाउन थालेपछि उनले यसको विकल्प सोच्ने मौका नै पाएनन्, राजदरबारबाट बाहिरिन बाध्य बने ।
विश्वका धेरै राजनीतिक आन्दोलनले शासन सत्ता फेर्ने र राजनीतिक प्रणालीमै उथलपुथल ल्याएका कयौं दृष्टान्त छन् । यो परिस्थिति नेपालमा पनि निर्माण भयो । ज्ञानेन्द्र सर्वसाधारण नागरिकको हैसियतामा फर्किनु प¥यो ।
सामान्य नागरिकको हैसियतमा देशमै रहेर बेलाबेला आक्रोश पोख्ने गरेका ज्ञानेन्द्र शाहले नेपालले दुख पाएको भन्ने गर्छन् । राजनीतिक प्रणालीमाथि प्राय प्रश्न गर्छन् । प्रणालीमाथिका प्रश्नलाई मुखारित गर्छन् । देश र जनताको हितको कामना गर्छन् ।
देवालय र शक्तिपीठको भ्रमण गर्छन् । जनताले देखाएको सद्भावलाई नियाल्छन् । भारतमा पुगेर सत्ता शक्तिको स्वादबारे चासो राख्छन् । यस्तैमा दैनिकी गुजारीरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको शुभकामना दिने बन्दै सार्वजनिक गरेको भिडियो सन्देशले भने तरङ्ग पैदा गरिदिएको छ ।
ज्ञानेन्द्रले व्यवस्था फेरिएपनि अवस्था फेरिएन भन्दै आफूलाई सक्रिय शासकको रुपमा चाहेका छन् । उनको यस्तो अभिव्यक्तिले उनीमा सत्तामोह पलाएको प्रष्टै देखिन्छ ।
राजपरिवारको माइलो सन्तान भएर पनि सौभाग्यले राजा बन्न पाएका ज्ञानेन्द्रमा किन यस्तो सोच पलायो ? राजतन्त्रमा वंशीय शासनको निरन्तरता उनीपछि के हुन्छ ? अनेक प्रश्नहरु अनुत्तरित हुँदैपनि ज्ञानेन्द्रको बढ्दो उमेर, स्वास्थ्य अवस्था र देशमा चलिरहेको राजनीतिक दाउपेचपछि जनताको आक्रोशलाई उनले सही समय ठानेको देखिन्छ । जसकारण सत्तारोहण भइ पो हाल्छ कि भन्ने मनशाय ज्ञानेन्द्रमा देखिन्छ ।
दल र नेताहरु सक्रिय
पूर्वराजा ज्ञानेन्द्रले देखाएको सत्तामोहमा राजावादी दलका नेताहरु भने औधी खुशी भएको देखिन्छ । उनीहरुले ज्ञानेन्द्रको सम्बोधनलाई ऐतिहासिक भनेका छन् । राजाले केहि गर्ने भाव देखाएको भन्दै निर्णायक मोड आएको दाबी उनीहरुले गरेका छन् ।
जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु धवलशमशेर राणा, ज्ञानबहादुर शाहीले प्रशंसा गरेका छन् । राणा सामाजिक सञ्जाल फेसबुकमै राजाले समर्थन र साथ खोजेको भन्दै हौसिएका छन् । राणाजस्तै अर्का नेता प्रकाशचन्द्र लोहनीले पनि ज्ञानेन्द्रको सम्बोधनलाई नजरअन्दाज गर्न नहुने मत राखिरहेका छन् ।
यता राप्रपाका मुख्य सचेतक ज्ञानबहादुर शाहीले पनि जनमत संग्रहको माग गरेका छन्, भने कट्टरराजावादी सोचबाट जनतालाई निर्णय गर्न दिनुपर्ने मतमा उनी देखिन्छन् ।
यता, अर्को राजावादी दल राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि राजसंस्थाको अन्त्य षडयन्त्रपूर्वक गरिएको भन्दै फेरि राजसंस्था ल्याउन कदम चाल्नुपर्ने भन्दै प्रजातन्त्र दिवसको शुभकामना दिएका छन् ।
यसरी राजावादी दलहरु हौसिएको बेला एमाले महासचिव शंकर पोखरेलले भने पुर्वराजालाई उक्साएर राजनीतिक षडयन्त्रको प्रयास भइरहेको आरोपसहित राजनीतिक दलमाथि नै खेदो खन्ने काममा उत्रिएका छन् ।
ज्ञानेन्द्रको मनोविज्ञान
पूर्वराजा ज्ञानेन्द्र शाह उमेरका हिसावले उत्तराद्र्धमा छन् । बढ्दो उमेर र राजपरिवारमा आफूपछिको उत्तराधिकारीको हालत सहि नहुँदा उनी एकखाले छटपटीमा देखिन्छन् । केहि समय पहिले नेपालगञ्जबाट स्थलमार्ग हुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटपछि उनीमा एकखाले वेचैनी देखिन्छ ।
कुनै समय स्थायी शक्तिका रुपमा लिइने राजसंस्था अहिले विस्थापित भइसकेको छ । यही कारण पनि विस्थापित शक्तिसँग चीन र अझ विशेषगरी भारतको संस्थापन पक्षको उतिसारो लगाव देखिन्न । यो कारणले पनि उनमा अहिले धैर्यता निकै कम देखिन्छ भने दलहरुप्रतिको नागरिकको निराशाको चढ्दो ग्राफलाई उनले बोल्ने र आफ्नो कुरा राख्ने उपयुक्त समय ठानेका छन् । अब पनि आफ्नो कुरा राख्न नसकिए धेरै कुरा बिग्रिने ठानेकै कारण पनि सक्रियतापूर्वक उनले आफ्नो आवश्यकता आफैले खुट्याउने प्रयास गरेका छन् ।
राजतन्त्रमा वंशले शासन गर्ने प्रचलन पाइन्छ । यस्तोमा उनीपछिको उत्तराधिकारीको रुपमा छोरा पारस शाह सही होलान ? धेरैले जिब्रो टोक्न सक्छन् । यसकारण केहिले पारसका छोरा हृदेन्द्रलाई नै राजाको रुपमा सत्तासिन गराउनुपर्ने समेत भन्ने गरेका छन् ।
यस्तो मतभेदका कारण पनि राजावादीहरुले यो हो राजा भन्न सक्ने स्थिति छैन । आफुलाई बोक्ने भनेका दलहरुबीचको मतभेद र इमान्दारितामाथिको प्रश्नका कारण पनि ज्ञानेन्द्र सक्रियतापूर्वक आफ्ना माग राखेर जनमतको सर्वेक्षण गर्ने प्रयासमा जुटेको देखिन्छ ।