
कास्की । पोखराको फेवातालका डुङ्गाचालकले मापसे अर्थात् मादक पदार्थ सेवन गरे नगरेको जाँच गरिएको छ । आन्तरिक र बाह्य पर्यटकका संख्या बढ्दै गएको र हावाहुरीको मौसम सुरु भएका बेला प्रहरीले आकस्मिक रूपमा मापसे जाँच गरेको हो । हिउँदमा हावाहुरी लाग्ने र चालकको असावधानीका कारण दुर्घटना हुने गरेको छ ।
पोखरा साइडको फेवातालमा समय समयमा डुङ्गा दुर्घटना हुँदा मानवीय क्षतिसमेत हुने गरेको छ । सम्भावित दुर्घटना रोक्न डुङ्गा चालकको मादक पदार्थ सेवन (मापसे) जाँच गरिएको कास्कीका प्रहरीले जनाएको छ । बाराही घाट र फिस्टेल गेटमा रहेका डुङ्गा चालकहरुका मापसे चेक गरिएको थियो ।
डुङ्गा चलाइरहेका करिब एक सय चालकको जाँच गरिएकोमा एक जनाले मापसे गरेको पाइएको छ । उनलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । लाइफ ज्याकेट नलगाउने र परिचयपत्र नभएका चालकलाई सचेत गरिएको छ ।
पोखरामा आउने धेरै पर्यटकले फेवातालमा बोटिङ गर्ने गर्दा डुङ्गा चालकले लापरवाही पूर्वक बोटिङ गरेको, यात्रुहरूसँग राम्रो व्यवहार नगरेको भन्ने लगायतका गुनासो प्रहरीकोमा पुगेको छ । तालमा छाल आउँदा, हावाहुरी आउँदा रेस्क्यु मोटरबोट मार्फत उद्धार गर्ने गरिएको छ ।
साथमा शसस्त्र प्रहरी र नेपाली सेनाको रेस्क्यु डुङ्गा पनि तयारी अवस्थामा रहने गरेको छ । तर, पनि दुर्घटना हुने गरेका छन् । फेवा डुङ्गा व्यवसायी सङ्गठनले फेवातालमा डुङ्गा शयर गर्नेको सुरक्षाका लागि लाइफ ज्याकेट अनिर्वाय गरेको छ ।
डुङ्गा चालकले लापरबाही गर्दा यहाँ आउने पर्यटकमा नकारात्मक सन्देश प्रवाह हुने भएकोले यस तर्फ सतर्क हुन आवश्यक रहेको देखिन्छ । पोखरा अउने अधिकांस पर्यटक फेवा तालमा पुग्ने गरेका छन् । हावाहुरीको मौसम सुरु हुन लागेको र विगतमा हावाहुरीको समयमा बढी मात्रामा डुङ्गा दुर्घटना हुने गरेको कारणले त्यसलाई ध्यानमा राखेर सुरक्षाका उपाय अपनाउन सरोकारवालाहरुले आग्रह गरेका छन् ।
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, सामुदायिक प्रहरी कार्यालय बैदाम र वडा प्रहरी कार्यालय बैदामले संयुक्त रुपमा अनुगमन कार्य गरेका हुन् । फेवातालमा ७ सय ७६ वटा डुङ्गा रहेकोमा बाराहीघाटमा मात्र ३ सय ५६ डुंगा छन् । फेवातालमा झण्डै ३ सयको हाराहारीमा डुङ्गा चालक छन् ।