
काठमाडौं । क्रिप्टोकरेन्सी कारोबार नेपालमा गैह्रकानुनी छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले नै यसको कारोबार, माइनिङ्ग र प्रयोगमा पूर्ण बन्देज लगाएको छ । तरपनि लुकेर कारोबार गर्नेहरु सक्रिय छन् । क्रिप्टोकरेन्सीबाट नागरिक ठगिने, देशको पुँजी पलायन हुने जस्ता समस्या जोडिएकाले यसलाई राज्यले अवैधानिक भनेको छ ।
प्रविधिको विकाससँगै विश्वभर लगानीको स्वरुप परिवर्तन हुँदै गएको छ । भौतिक कारोबारलाई डिजिटल कारोबारमा रुपान्तरित हुने क्रममा क्रिप्टोकरेन्सीहरुको विकास भएको छ । विश्वका धेरै मुलुकमा क्रिप्टोकरेन्सी कारोबार हुने गरेको छ । तर यसलाई एक÷दुई वटा मुलुकले बाहेक मुद्राको मान्यता दिएको पाइदैन ।
नेपालमा पनि केन्द्रीय बैंकले क्रिप्टोकरेन्सी कारोबारलाई बर्जित गरेको छ । तरपनि गैरकानुनी भएको थाहा भएर वा नभएर क्रिप्टो कारोबारमा लाग्नेहरु बढ्दै गएको प्रहरीको आशंका छ । प्रहरीले कारोबारमा संलग्न केही व्यक्तिलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।
नेपाली वा विदेशी नागरिकले नेपालभित्र वा बाहिर बसेर कुनैपनि क्रिप्टो कारोबार गरेको वा गराइएको पाइएमा कानून बमोजिम कारबाही हुने व्यवस्था छ । प्रहरीले क्रिप्टोकरेन्सी लगायत विभिन्न बेटिङ प्लाटफर्मममा कारोबार गराउनेहरु सक्रिय रहेको पाइएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार, माइनिङ्ग र प्रयोगमा पूर्ण बन्देज लगाएपनि यसको कारोबार भित्रभित्रै बढ्दै गएको देखिन्छ । जसबाट आतंकवादी क्रियाकलापमा लगानी, सट्टेबाजी जस्ता गैरकानूनी गतिविधि बढ्ने आशंका राष्ट्र बैंकको छ । क्रिप्टो कारोबार बढ्दा ठगी, कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता हुन सक्छ ।
यस्तो गतिविधि नागरिक र राज्यको हितमा नभएकाले नियामक निकायले क्रिप्टोकरेन्सीलाई बारम्बार अवैधानिक भन्दै आएको छ र कारोबारमा बन्देज लगाउँदै आएको छ । तर अर्थशास्त्रीहरुले देशभित्र क्रिप्टोकरेन्सीको कारोबारमा बन्देज लगाए पनि यसको माइनिङका लागि भने विचार र अध्ययन गर्नुपर्ने बेला भएको बताउँछन् ।
क्रिप्टोकरेन्सी ब्लकचेन प्रविधिमा आधारित हुन्छ । यसलाई कम्प्युटरको नेटकर्वले निरिक्षण र सञ्चालन गरिएको हुन्छ । प्रयोगकर्तालाई यसको सञ्चालकको बारेमा ज्ञान हुँदैन भने नियमन गर्ने निकाय पनि हुँदैन ।
विश्वका कुनैपनि देशका केन्द्रीय बैंकले क्रिप्टो करेन्सीको स्वामित्व लिएका छैनन् । कहिँ कतैबाट पनि नियमन नहुने भएकाले नागरिक ठगिने भएपछि राष्ट्र बैंकले यसको कारोबार र माइनिङमा बन्देज लगाएको हो ।