News 24 Television
केबुलकार विवादले लियो नयाँ मोड, समर्थक पक्षले पनि थाले व्यापक प्रदर्शन !

काठमाडौं । ताप्लेजुङस्थति पाथीभरामा केवुलकार निर्माण गर्ने वा नगर्ने भन्ने विवादका कारण कोशी प्रदेश नै आक्रान्त बन्दै आएको छ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत रहेका व्यावसायी चन्द्र ढकालको नेतृत्व रहेको पाथीभरा देवी मुकुम्लुङ केवुलकार दर्शन प्रालिले निर्माण गर्न लागेको केवुलकारको विरोध स्थानीय देखि मुलुकभरका पहिचान पक्षधरबाट चर्कै रुपमा भइरहेको छ । 

सांस्कृतिक, धार्मिक आस्थामाथि चोट पुग्नेगरी केवुलकार निर्माण गर्न लागिएको तथा पाथीभरामा केवुलकार निर्माण गर्नु पर्यावरणीय र प्राकृतिक हिसाबले पनि अनुचित हुने भन्दै स्थानीय यसको विपक्षमा उभिएका छन्् । तर यहीबीच एक समूह भने कुनै हालतमा केवुलकार निर्माण गरिनुपर्ने माग राख्दै आन्दोदनमा उत्रिएका छन् । 

उक्त समूले समग्र ताप्लेजुङकै विकास र प्रगतिका लागि केवुलकार अपरिहार्य रहेको भन्दै सदरमुकाम फुङ्लिङ बजारमा प्रदर्शन गरेको हो । 

खासगरी, पाथीभरालाई स्थानीय किराँतका साथै बौद्ध र हिन्दु धर्मावलम्बीहरुले समेत अस्थाको केन्द्रका रुपमा लिने गर्दछन् । यही कारणले धार्मिक आस्थमाथि आँच पुग्ने र प्रकृति र पर्यावरणलाई प्रभाव पार्नेगरी केवुलकार निर्माण गर्न नहुने ‘नो केवलकार’ पक्षरको माग छ । 
यद्यपि केवुलकार निर्माणको समर्थन गर्दै ताप्लेजुङ सदरमुकाममै पनि प्रर्दशन भइरहेको हो । उक्त प्रदर्शनमा सम्बोधन गरेकाहरुले केवुलकार हरहालतमा बन्नुपर्ने र यसको पक्षमा आफूहरु ज्यान दिनसमेत तयार रहेको बताइरहेका छन् । 

केवुलकार निर्माणको विरोध गर्दै पाथीभरा क्षेत्रमा ‘नो केवलकार’ पक्षधरले आन्दोलन गरिरहँदा अर्को समूले पनि फुङ्लिङ बजारमै केवुलकारको समर्थनमा प्रदर्शन थाल्दा यही विषयका कारण अझ ठूलो मुडभेदको खतरा पैदा नहोला ? भन्ने प्रश्न गम्भीर रुपमा उठिरहेको छ । 

केवुलकारले राजनीति कित्ताकाट  

केवुलकार निर्माणको पक्ष विपक्ष संस्कृतिक सम्पदा र धार्मिक आस्थामा आधारित हो  । यद्यपि यो विवादलाई राजनीतिक दलहरुले आ–आफ्नै तवरले व्याख्या गरिरहेका छन् । यो विषयमा सत्ता पक्षले कुनै हालतमा केवुलकार निर्माण गरिनुपने पर्ने पक्षलाई बोकिरहेको छ ।  

ताप्लेजुङबाटै निर्वाचित एमाले सांसद योगेश भट्टराई केवुलकार निर्माणको पक्षमा उभिँदै आइरहेका छन् । उता प्रतिपक्षी दलहरुले भने स्थानीयको मनोविज्ञान र चाहना अनुसार उक्त योजना अघि बढाइनुपर्ने तर्क राख्दै आएको छ । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले संसदबाटै केवुलकार निर्माणको विषयमा स्थानीयको भावना अनुसार चल्नुर्ने भन्दै सरकारलाई सुझाएका थिए । 

त्यस्तै कोशी प्रदेशसभामै पनि यसको पक्ष र विपक्षम बहस चल्यो । यो अवस्थामा विपक्षी दलहरुले भने स्थानीय समुदायलाई सम्बोधन नगरी योजना अघि बढाइएको तथा सरकारले पनि फरक विचारमाथि दमन गरेको टिप्पणी गरेका थिए । 

यी आधारहरुले पनि केवुलकार निर्माणको पक्षधर र विपक्षीको राजनीतिक कित्ताकाट भइरहेको देखिन्छ । 

केवुलकार विवादपछि के–कस्ता घटना भए ? 

गत माघ  १२ गते केवुलकार निर्माणको विरोधी पक्षधरले गरेको आन्दोलनमा प्रहरीको गोली लागी ४ जना गम्भीर घाइते भए । उक्त आन्दोलनमा प्रहरी र प्रदर्शनकारी दुवै पक्षका गरि झण्डै दुई दर्जन संख्यामा घाइते भएकामा ३ जनाकालाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । त्यसपछि ‘नो केवलकार पक्षधरबाट कोशीका ९ जिल्ला बन्दको आह्वान भयो । र, लगातारको बन्दका कारण अरुण पूर्वका ९ जिल्लाहरु अस्तव्यस्त भएपछि सरकारले गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । 

उक्त टोलीले बन्द फिर्ता लिन तथा घाइतेहरुको निःशुल्क उपचार गर्नेसम्मको समझदारी गर्यो । यद्यपि केवुलकार निर्माण विवादबारेको समस्या समाधान गर्न भने सफल भएन । ‘नो केवलकार’ पक्षधरले कर्मचारीस्तरको वार्ता टोलीबाट समस्या समाधान हुन नसक्ने भन्दै मन्त्रिस्तरिय वार्ता टोलीको माग गरेपछि माघ २७ गते बस्ने भनिएको वृहत बैठक बस्न सकेन । 

त्यसबीचमा काठमाडौं केन्द्रीत आन्दोलनसमेत चर्काएका ‘नो केवलकार’ पक्षधरले केवुलकार समर्थकहरुलाई निशाना बनाइरहेका छन् । आईतबार मात्रै केवुलकार पक्षधर पदम चेञ्जी माबोलाई धरानमा ‘नो केवलकार’ पक्षधरले सार्वजनिक रुपमै कालोमोसो दलेका थिए । 

ताप्लेजुङबासी माबोलाई नै कालोमोसो दलिएपछि फुङ्लिङ बजारमा केवुलकार पक्षधरले पनि प्रदर्शन थालेका हुन् । उनै माबोले पनि केबुलकार बन्नुपर्ने भन्दै गरिएको प्रदर्शनलाई सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update