News 24 Television
मुख्यमन्त्री सिंहद्वारा वीरगञ्जकाे इण्डो अस्पताल बन्द गर्न निर्देशन 

वीरगञ्ज,पर्सा । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज वीरगञ्जका निजी अस्पतालहरुको छड्के अनुगमन गरेका छन् । 

बुधबार मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले वीरगञ्जमा आएर नगरका विभिन्न ७ वटा निजी अस्पतालहरुको स्थलगत अनुगमन गरेका हुन् । 

अनुगमन गर्ने क्रममा उनले वीरगञ्जस्थित नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टरलाई बन्द गर्न निर्देशन दिएका छन् । अस्पतालले अनुमति नलिई सञ्चालन गरेको पाईएकोले अस्पतालमा उपचार गराईरहेका बिरामीको अन्यत्र स्थानान्तरण गरी पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वस्थ्य अधिकृत संतोष कुमार ठाकुरले बताए । 

मुख्यमन्त्री सिंहले अस्पतालमा अन्य नयाँ कुनैपनि बिरामी भर्ना नलिन र पूर्णरुपमा अस्पताल बन्द गर्न निर्देशन दिएको बताए । उनले अनुगमनको क्रममा अस्पतालहरुमा फोहोरको व्यवस्थापनमा लापरवाही गरेको भेटिएको बताउदै संक्रामक रोगको जोखिम बढ्ने हुँदा अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन गर्न निर्देशन दिएको बताए । 

यस्तै अनुगमनको क्रममा वीरगञ्जस्थित बसपार्क नजिक लिंक रोडमा रहेको भवानी हस्पिटल र बाईपासमा रहेको स्पर्श मल्टिस्पेशलिटी हस्पिटल प्रालिलाई नविकरण नगरेको पाईएकोले नविकरण गर्न निर्देशन दिइएको छ । विरामीहरुले गुणस्तरीय स्वास्थ्य उपचारका लागी महंगो शूल्क तिरेर निजी अस्पताल जाने गरेको हुँदा विरामीहरुको सेवासुविधामा निजी अस्पताल कतिको गम्भीर  र गुणस्तर छ भन्ने अभिप्रायले आफूहरुले  निजी स्वास्थ्य संस्थाको अनुगमन गरेको मुख्यमन्त्री सिंहले बताए । 

अनुगमन टोलीले श्री भवानी हस्पिटल एण्ड रिर्सच सेन्टर, प्रभु हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर, सर्वाेत्तम अस्पताल, आशाराम हस्पिटल, स्पर्श मल्टीस्पेस्यालिटी अस्पताल लगायत विभिन्न निजी अस्पतालहरुको अनुगमन गरेका छन् । 

मुख्यमन्त्री सिंहले मेधश प्रदेशका ८ वटै जिल्लाका अस्पतालहरुमा अनुगमन कार्यलाई तिव्रता दिँदै आएका छन् । सोही अन्तरगत उनी सहितको टोली वीरगञ्ज आईपुगेका हुन् । उनले अस्पतालहरुको कागजपत्र, फार्मेसी, लयाब, आकस्मिक वार्डलगायत विभिन्न विभागहरुको अनुगमन गरेका छन् । आगामी दिनहरुमा पनि सो कार्यलाई निरन्तरता दिने उनको प्रतिबद्धता छ ।

76cefc0c-7338-4c46-97cc-bb262343f0fa-1739973938.jpg
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update