
ललितपुर । भारतको उडीसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै पुल्चोक क्याम्पसका विद्यार्थीले विरोध र्याली प्रदर्शन गरेका छन्।
नेविसंघ पुल्चोकले आयोजना गरेको विरोध र्यालीमा क्याम्पसका विद्यार्थीहरू सहभागी भएका हुन्। पुल्चोक क्याम्पसबाट सुरु गरिएको र्याली लबिम मल हुँदै हरिहर भवन पुगेर पुनः पुल्चोक क्याम्पसको डिन कार्यालयमा आएर सम्पन्न भएको थियो।
विद्यार्थीहरूले ‘प्रकृतिलाई न्याय दे’, ‘Justice for Prakriti’, ‘निष्पक्ष छानबिन गर’ जस्ता प्लेकार्डसहित दबाबमूलक प्रदर्शन गरेका थिए।
"प्रकृति लम्सालले न्याय पाउन र यस्ता घटना फेरि कहिल्यै नदोहोरिउन् भन्नका लागि हामीले विरोध प्रदर्शन गरेका हौँ," नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पसका इकाई सभापति विक्रम भण्डारीले भने।
त्यस्तै, पुल्चोक क्याम्पसका विद्यार्थी दीपक न्यौपानेले भने, "प्रकृति दिदीका लागि न्याय खोज्दैछौँ। हाम्रो माग छ— घटनाको निष्पक्ष अनुसन्धान होस् र दोषीलाई कडा कारबाही गरियोस्। नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि सरकारले ठोस पहल गर्नुपर्छ।"