News 24 Television
युवालाई सशक्त बनाएर समृद्धितर्फ लैजाने सरकारको नीति छ : प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको बताएका छन् । बुधवार प्रजातन्त्र दिवसको अवसर पारेर सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रको समृद्धि र जनताको सुख नै परिपूर्ण लोकतन्त्र भएको बताए ।

 प्रधानमन्त्री ओलीले  परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गर्ने बताए । उनले सरकार बढ्दो जनआकांक्षा र चुनौतीहरूबीच, राज्यको संस्थागत र सामर्थ्यबीच लय मिलाएर संगतिपूर्ण ढङ्गले अगाडि बढिरहेको जिकिर गरे । युवा पुस्ता देशको भविष्य भएको भन्दै उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअपमार्फत उद्यमशीलताको थालनी गरिएको बताए । लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिवी र भ्रष्टाचारलाई हटाउँदै लैजाने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रको समृद्धि र जनताको सुख’लाई मैले ‘परिपूर्ण लोकतन्त्र’ भन्ने गरेको छु । चलन चल्तीमा भनिने प्रजातन्त्रले ‘संगठन र अभिव्यक्तिको स्वतन्त्रता’को मात्र वकालत ग¥यो । परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गर्छ । समृद्धि भनेको समग्र विकास हो, सुख भनेको व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति हो । हामी त्यसतर्फ इमान्दारीपूर्वक हिंडिरहेका छौं । बढ्दो जनआकांक्षा र चुनौतीहरूबीच, राज्यको संस्थागत र सामथ्र्यवीच लय मिलाएर संगतिपूर्ण ढङ्गले अगाडि बढिरहेका छौं । हाम्रो युवा पुस्ता देशको भविष्य हो । उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअपमार्फत उद्यमशीलताको थालनी गरिएको छ । युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने यस सरकारको नीति छ । लोकतन्त्रको खुला मैदानमा नै जनताको जीवनमा प्रगति भएको छ । तर हाम्रा चुनौती अझै बाँकी छन् । लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिवी र भ्रष्टाचारलाई हटाउँदै हामी ती चुनौतीलाई चिर्नेछौं । लोकतन्त्रको उज्यालोकै कारण आज हामीले डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौं, जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन शुरु गरेको छ । सन् २०२६ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरुको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै हो । सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा हामी हाम्रा हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेका छौं । यसबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सफल हुनेछौं ।’

फागुन ७ गते, नेपाली जनताको प्रजातान्त्रिक हक अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत संघर्षमा आफूलाई समाहित गर्ने वीर/वीरङ्गनाहरुको स्मरण गर्ने दिन भएको बताए । प्रजातन्त्र स्थापनाको संघर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्षमार्फत जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको आकांक्षा साकार पार्न संकल्प गर्ने दिन भएको बताए । मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताको लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न आह्वान गरे ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update