
काठमाडौं । नेपालमा अहिले दुई लाख ६२ हजार भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको राष्ट्र बैंकको तथ्यांक छ । यस्तै मोबाइल वालेट प्रयोगकर्ता पनि धेरै नै छन् । भुक्तानीका लागि सहज र झन्झटरहित भएकाले यो माध्यम सबैको रोजाइमा परेको छ । तर यसको प्रयोग गर्दा न्यूनतम सुरक्षाका उपाय ख्याल गरिएन भने बैंक खातामा रहेको पैसा कुनैपनि बेला चोरी हुनसक्छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले नेपालमा दुई लाख ६३ हजार भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता छन् । यस्तै दुई करोड ५५ जनाले मोबाइल वालेट पनि प्रयोग गर्छन ।
एउटै व्यक्तिले एक भन्दा धेरै बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ र वालेट प्रयोग गर्ने भएकाले यो संख्या उच्च देखिन्छ । तर एक महिनामा तीन खर्ब ९८ अर्ब बढी मोबाइल बैंकिङ कारोबार र ४० अर्ब भन्दा बढी वालेटबाट कारोबार हुने गरेको छ ।
मोबाइल एपको माध्यमबाट भएको यस कारोबारले नेपालमा डिजिटल भुक्तानीमा आकर्षण राम्रैसँग बढेको देखाउँछ ।
भुक्तानीका लागि सजिलो हुने, पैसा हराउने जोखिम नहुने, समयको बचत हुने लगायत कारण मानिसहरु डिजिटल कारोबारमा आकर्षित भइरहेका छन् । तर डिजिटल बैंकिङ प्रयोगगर्दा सावधानी अपनाइएन भने खातामा भएको पैसा ह्याकरले चोरि गर्न सक्छन् । अथवा वित्तीय अपराध गर्ने व्यक्तिको फन्दामा जानेर वा नजानेर पर्न सकिन्छ । त्यसैले यसको प्रयोगर्दा केही न्यूनतम सुरक्षाका उपायहरु अवलम्बन गर्नुपर्ने देखिन्छ ।
- डिजिटल वित्तीय कारोबार गर्ने मोबाइल र कम्प्युटरमा अनधिकृत पहुँच रोक्न अनिवार्य रुपमा पासवर्ड वा पिन राख्नुपर्छ ।
- डिजिटल वित्तीय सेवासँग सम्बन्धित लगइन आइडी, युजरनेम, पासवर्ड, पिन जस्ता व्यक्तिगत विवरण कसैलाई दिनु हुँदैन ।
- इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, मोबाइल वालेट, बैंकमा रजिष्टर गरिएका इमेलका साथै आफ्ना डिभाइसमा लामो समयसमम एउटै पासवर्ड राख्नुहुँदैन । समयसमयमा परिवर्तन गर्नुपर्छ । अरुले अनुमान गर्न सक्ने किसिमका सामान्य पासवर्ड प्रयोग गर्नुहुँदैन ।
- सामाजिक सञ्जाल वा जुनसुकै माध्यमबाट प्राप्त मेसेजको भरमा वित्तीय कारोबार गर्नुहुँदैन, र गर्नैपरे सम्पूर्ण विवरण यकिन गर्नुपर्छ ।
- आधिकारिक वेबसाइट तथा मोबाइल एपको मात्र प्रयोग गर्नुपर्छ ।
- यस्ता सम्वेदनशील विषयमा लापरवाह हुँदा सूचना चुहिने र वित्तीय ठगीमा पर्न सकिने भएकाले अत्यन्तै सजग भई डिजिटल वित्तीय कारोबार गर्ने बानी बसाल्नुपर्छ ।