News 24 Television
ओडिसामा छिन्मै नयाँ–नयाँ घटना ! नेपालसँगै भारतीय संसदमै हंगामा !

काठमाडौं । भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद निधनमा भारतीय प्रहरीले अनुसान्धान जारी राखेको छ । तर, प्रकृतिको मृत्युविरुद्ध न्यायको माग गर्ने विद्यार्थीमाथि भएको ज्यादतिविरुद्ध सरकारले कूटनीतिक पहल गर्न नसक्दा सरकारमाथिका प्रश्नहरु थप पेचिला बनेका छन् । 

राष्ट्रियसभाको बैठकमा सांसदहरुले प्रकृति लम्सालको न्यायको सवालमा प्रश्न उठाए । उनीहरुले भारतीय पक्षले नेपालीमाथि गरेको व्यवहारमाथि समेत शंका गरे । 

त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले कूटनीतिक पहल गर्न सरकारलाई निर्देशन दिदै न्यायको पहल गर्न भने । राष्ट्रियसभामा बोल्ने सांसदहरुले प्रकृतिको न्यायका लागि आवाज उठाए । केहि सांसदले सरकारले कुटनीतिक पहल नगरेको भन्दै गुनासो पोखे भने नेपालीको स्वाभिमानमाथि समेत गम्भीर चोट पुगेको भने ।

राष्ट्रियसभाले सरकारलाई कुटनीतिक पहल गर्न निर्देशन दिएपनि प्रतिनिधिसभाको स्थिति भने फरक छ । प्रकृतिको मृत्यु प्रकरणमा बोल्न खोज्दा सांसदलाई प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले बोल्न नदिएको आरोप लागिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीदेखि अन्य सांसदले सभामुखको भूमिकामाथि प्रश्न गरिरहेका छन भने सभामुखको राजनीतिक आबद्धतासँग जोडेर हेर्न थालेका छन् । 

यद्दपी, सभामुखले संसदमा बोल्न नदिएको विषयमा खण्डन गरेका छन् । संसद नियमावली स्मरण गराउदै सभामुख घिमिरेले सामाजिक सञ्जालदेखि मिडिया ट्रायल गर्ने काम बन्द गर्न अपिल समेत गरेका छन् । सभामुखमाथि यस्तो आरोप लाग्दै गर्दा प्रतिनिधिसभामा पनि सांसदहरुले सरकारले कुटनीतिक पहल गर्न नसकेको भन्दै गुनासो गरेका छन् । 

प्रतिपक्षी दलका सांसदले सरकारले कुटनीतिक पहल गर्न नसकेको आरोप लगाउदै गर्दा सत्ता पक्षका सांसदहरु भने केहि रक्षात्मक देखिन्छन् ।

संसदमा प्रकृतिको न्यायका आवाज

प्रतिपक्षी दलका सांसदहरुले सरकारले कुटनीतिक पहल गर्न नसकेको भन्दै आलोचना गरेको बेला सत्तारुढ दल नेपाली कांग्रेसले भने सरकारको सराहना गरेको छ । सरकारले तत्काल कुटनीतिक पहल गरेर राम्रो काम गरेको दाबी गरेको  छ । 

सत्ता पक्षले सरकारको सराहना गरेपनि प्रतिपक्षीले भने कुटनीतिक पहल नपुगेको भनिरहेको छ ।

यसरी सत्ता र प्रतिपक्षीबीच चलिरहेको विवादकाबीच पनि न्याय, क्षतिपूर्ति र विद्यार्थीको सुरक्षा संवेदनशीलतादेखि विभिन्न विषयको पहलका लागि आवाज उठिरहेका छन् । 

उता, ओडीसाको विधान सभामा समेत सांसदहरुले प्रकृतिलाई न्याय देउ भन्दै आवाज चर्को बनाएका छन् भने ओडीसामा कमजोर सुरक्षाको आरोप लगाउँदै सत्ताधारी भारतीय जनता पार्टीको विरोध गरेका छन् । 

कहाँ चुक्यो सरकार ?

प्रकृति लम्सालको शंकास्पद मृत्युपछि केआईआईटी विश्वविद्यालयमा अध्ययनरत अन्य विद्यार्थीामथि फेब्रुअरी १६ अर्थात आजभन्दा दुईदिन पहिले नै दुव्र्यहारका घटना भइरहेका थिए ।

त्यो बेलासम्म समाचार शीर्षक बन्नेबाहेक सरकारले यो विषयलाई प्राथमिकतामै राखेन् । तर, भारतीय सञ्चार माध्यमहरुले नै प्रकृतिको न्यायका लागि आवाज उठाइरहेका नेपाली विद्यार्थीमाथि कलेज प्रशासनले ज्यादति गरेको विषयमा समाचार सार्वजनिक गर्न थालेपछि नेपाली सञ्चार माध्यम पनि तातिए । 

चौतर्फी प्रकृतिको न्यायका निम्ति आवाज चलिरहँदा परराष्ट्रमन्त्री विदेश भ्रमणमा थिइन भने प्रधानमन्त्री केपी ओली लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्दै हिडिरहेका थिए । 

उनले दाङमा अन्य कार्यक्रममा सहभागी हुँदै प्रतिपक्षी दलका नेता प्रचण्डमाथि क्रोध पोख्दै थिए भने शंकर पोखरेललाई निर्वाचन हराएर गलत गरेको भन्दै जनतालाई भनिरहेका थिए । तर, यता प्रकृतिको न्यायको आवाज जब्बर बनिसकेको थियो ।

यसरी घटनाक्रम अघि बढेपनि प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षीसँग सम्वाद गर्ने वा नेपालस्थित भारतीय राजदूतलाई बोलाएर कुनै सोधिखोजी नै गरेनन् । भारतमा रहेका राजदूतले केहि सक्रियता देखाएको भनियो । तर, प्रभावकारी भने हुनै सकेन् । 

सञ्चारमाध्यममा आएका विभिन्न समाचार शिर्षकका कारण गतिविधि तीब्र बन्न थाले । केआईआईटी विश्वविद्यालयले पनि एकपछि अर्को गर्दै वक्तव्य जारी गर्न थाल्यो । यसरी सरकारले कुटनीतिक रुपमा कसिलो पहल गर्न नसक्दा आलोचना तीब्र बन्न पुगेको छ ।

प्रकृतिको शंकास्पद मृत्युपछिका घटनाहरुमा तीब्र विकास भइरहेको छ । नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने एकजना महिलाले माफी माग्दै भिडियो पोस्ट गरेकी छन् । 

यता, कलेजमा समेत छिनछिनमा घटनाहरु घटिरहेका छन् । कलेजका सुरक्षाकर्मी बर्खास्तीदेखि कर्मचारीको निलम्बन धमाधम चलिरहेको छ । 

प्रहरीले पनि सक्रियतापूर्वक घटनाको अनुसन्धान जारी राखेको भनेको छ । छिनछिनमै घटनाहरु बदलिनेक्रम जारी छ । यस्तोमा प्रकृतिको न्यायका लागि उठेका आवाजमा भारतीय जनता पार्टीको विद्यार्थी संगठनले समेत विरोध गरिरहेको भनिएको छ ।

पीडित परिवारको माग के ?

प्रकृतिका बुवा सुनिल लम्साल ओडिसा पुगेका छन् । उनले छोरीमाथि ह्यारेसमेन्ट भएकै कारण यस्तो घटना भएको भन्दै न्यायबाहेक केहि नचाहिएको भनेका छन् । सुनिलले ओडिसा पुगेर स्थानीय प्रशासन, कलेज प्रशासनसँग न्यायका लागि कुराकानी गरेको भनिएको छ ।

विद्यार्थी कलेज फर्किन थालेको दाबी

नेपाली विद्यार्थीको सुरक्षाका लागि दिल्लीस्थित राजदूतावासबाट दुई सुरक्षाकर्मी त्यहाँ पुगेको दाबी परराष्ट्रमन्त्री आरजु राणा देउवाले गरिरहेकी छन् । कलेजले विद्यार्थीलाई फर्किन भनेको विषयलाई समेत उनले कुटनीतिक पहलको प्रभावको रुपमा अथ्र्याएकी छन् । 

राजदूतावासले नै समन्वय गरिरहेको भन्दै आरजुले विद्यार्थी पढाइका लागि कलेज फर्किन थालेको भनेकी हुन् । सरकारले कूटनीतिक पहलको राम्रो प्रभाव परेको दाबी गरेपनि ओडिसामा घटेको यो घटना र सरकारले देखाएको सुस्तताले नागरिक प्रति नेपाल सरकार कतिसम्म वेमतलबी छ भन्ने सतहमै देखाएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update