
स्याङ्जा । स्याङजाको अर्जुनचौपारी गाँउपालिकाले धार्मिक महोत्सव शुरु गरेको छ । गाउँपालिकाले नवग्रह मन्दिरको निर्माण सम्पन्न गरि प्राण प्रतिष्ठा तथा अनुष्ठानसँगै धार्मिक महोत्सव शुरु गरेको हो । यहाँ धार्मिक पर्यटनको सम्भावना अनुसार गाउँपालिकाले विभिन्न योजनाहरु अघि बढाउँदै आएको छ ।
यो हो स्याङजाको अर्जुन चौपारी–१ मा बनेको नवग्रह मन्दिर । सिद्धार्थ राजमार्गदेखि करिब ७ किलोमिटर दुरीमा रहेको अर्जुन चौपारी गाँउपालिका धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गाँउपालिका हो । हाल यहाँ धार्मिक पर्यटनलाई प्रवद्र्धनका लागि गाँउपालिकाले नवग्रह मन्दिरको निर्माण सम्पन्न गरि प्राण प्रतिष्ठा तथा अनुष्ठान सहित धार्मिक महोत्सव सुरुवात गरेको छ ।
पालिकाले १५७ रोपनी क्षेत्रफलमा नवभुज आकार र आकाशतर्फ फर्केको २७ फिट अग्लो नवग्रह मन्दिरको निर्माण गरि भारतमा जारी महाकुम्भको समयमै अनुष्ठान थालेको हो । विरलै आउने महाकुम्भको समय अत्यन्तै पवित्र र शक्तिशाली हुनाले धेरै नेपालीहरु पूजापाठ तथा स्नानको निम्ति भारततर्फ जाने गरेकोले आन्तरिक पर्यटकलाई आकर्षित गर्न पालिकाले नवग्रह मन्दिरको निर्माण गरेको जनाएको छ ।फागुन १४ गते सम्म प्राण प्रतिष्ठा सहित धार्मिक महोत्सव चल्ने छ । नवग्रह मन्दिरको अनुष्ठान तथा धार्मिक महोत्सवमा बेद पारायणको लागि बनारसबाट तीन जना धार्मिक गुरुहरु बोलाइएको छ ।
आचार्य श्री चैतन्वय कृष्ण महाराजका अनुसार यस महोत्सवमा एक करोड २५ लाख दिप प्रज्वलन गरी चार बेदको पाठ परायण, गायत्री मन्त्रद्धारा सवा लाख हवन, सन्ध्याकालिन महआरती सहित दैनिक दुई हजारलाई खाना, पाँच हजारलाइ प्रसाद ग्रहण गराउने लक्ष्य रहेको छ । प्राण प्रतिष्ठा तथा अनुष्ठानमा चार बेदको पाठ पारायण समेत गरिने छ ।
कस्तो छ त नवग्रह मन्दिर ?
– नवग्रहको मात्रै पूजा गरिने मन्दिर नेपालमा अहिलेसम्म नबनेको र यो नै पहिलो भएको दाबी गाउँपालिकाको छ ।
– नवग्रहको पूजा गर्दा व्यक्तिमा नौ ग्रहबाट शान्त मिल्ने विश्वास भएकोले पिलरको सबै भन्दा माथी आकाशतर्फ फर्काएर सौर्यमण्डलीय ब्रमाण्डको प्रतीक राखिएको छ ।
– पिलरको १४ फिटमा सूर्य, शुक्र, केतु, चन्द्र, मंगल, बुध, शनि, वृहस्पती र राहुको प्रतीक राखिएको छ, भने पिलरको नौ वटा भुजामा ग्रह अनुसारका रङ लगाइएको छ ।
– मन्दिरमा इष्ट देवता, कुलदेवता, गणेशको पूजा गरि बीचमा रहेको पञ्चमुखी शिवलिंग घुमी पूजा सकेसँगै हनुमान, लक्ष्मी, कालाभैरवको पूजा गरेर बाहिर निस्किने व्यवस्था गरिएको छ ।
– नवग्रह मन्दिरसँगै षट्कोण शिवालय बनाइएको छ, भने षटकोण शिवालयको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङग, गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएको छ ।
– षट्कोण आकारको शिवालयका मूर्तिको अस्तित्वमा रहेको कर्णको मूर्ति नवग्रह तर्फ फर्काएर करिब तीन सय मिटर पूर्वको जंगलमा राखिएको छ ।
– षट्कोण शिवालयको पूजा पश्चात वर्षौदेखि गरिँदै आएको पञ्चकन्याको मन्दिरको दर्शन गर्न मिल्छ ।
– नव्रग्रह यन्त्र, शिवयन्त्र र एक मण्डला समेत निर्माण गरिएको छ ।
आन्तरिक तथा बाहिय धार्मिक पर्यटकलाई आकर्षित गर्न पालिकाले थालेको यो प्रयासले पर्यटन क्षेत्रको सम्भावनालाई परिणाममुखितर्फ अग्रसर गरेको देखिन्छ । यद्दपी, यसलाई व्यवस्थित गर्न मन्दिरसम्म पुग्ने सडकको स्तरोन्नतीमा ध्यान दिन समेत जरुरी रहेको स्थानीयले औल्याएका छन् ।