
कास्की । केही वर्ष पहिलेसम्म पोखरा आउने धेरैजसो पर्यटक सराङकोट पुग्ने गर्थे । तर, अहिले सराङकोटमा पर्यटकको चाप भने पहिले जस्तो छैन । त्यसैले पर्यटकलाई पुरानै लयमा फर्काउन र धार्मिक पर्यटकीय क्षेत्र बनाउन नेपालकै ठुलो शिव मन्दिर तथा ५१ फिटको पञ्चमुखे गणेशको मूर्ति निर्माण गरिएको छ । केवलकारबाट सरर पुग्न सकिने सराङकोट अब धार्मिक पर्यटकीय स्थलको रुपमा स्थापित हुने अपेक्षा राखिएको छ ।
पोखरा धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मध्येको एक गन्तव्य हो । यहाँ विभिन्न मन्दिर, गुम्बा, चर्च, तथा धार्मिक स्थलहरू छन् । जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको छ । पछिल्लो समय पोखरालाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विभिन्न पूर्वाधार निर्माण कार्यहरू अघि बढिरहेका छन् ।
अहिले, पोखरा–१८ स्थित सराङकोटमा ५१ फिट अग्लो पञ्चमुखी गणेश मूर्ति निर्माणाधीन अवस्थामा छ । जसले धार्मिक पर्यटनमा नयाँ आकर्षण थप्ने अपेक्षा गरिएको छ । यसअघि पोखराको पुम्दिकोटमा विशाल महादेवको मुर्ती बने पछि धेरै पर्यटकको ध्यान तानेको थियो । अहिले पनि हजारौ पर्यटक दैनिक त्यहा पुग्ने गरेका छन् ।
अग्लो स्थानमा रहेको पोखराको सराङकोट सुर्योदय र सूर्यास्तको दृष्य अवलोकनका लागि प्रख्यात छ । यही सराङकोटलाई धार्मीक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उदेश्यले ६४ फिट चौडाईको तीन तले विशाल शिव मन्दीर र ५१ फिटको आकर्षक विशाल पञ्चमुखे गणेशको मुर्ती निर्माण गरीएको छ ।
सराङकोटबाट पोखरा बजारको सुन्दर दृश्य, हिमाल, फेवाताललगायतका रमणीय दृश्य देख्न सकिन्छ । प्राकृतिक सुन्दरता सगैँ धार्मिक पर्यटक बढाउने उद्देश्यले गणेशको मूर्ति स्थापना गर्न लागेको सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले जनाएको छ ।
पोखराबाट सराङकोट अन्नपूर्ण केबलकार चढेर वा सडक मार्गबाट सहजै पुग्न सकिन्छ । हिन्दुहरुको पवित्र स्थल मुक्तिनाथ प्रवेश गर्ने मुल ढोका पोखरा भएको हुँदा मुक्तिनाथ दर्शनका लागि आउने धार्मीक र अन्य पर्यटकलाई सराङकोट पुर्याउने समितिको योजना छ । पञ्चमुखे गणेशको मुर्ती नेपाल मै पहिलो रहेको समितिको दावी छ ।
पञ्चमुखे गणेशको मुर्ती, शिव मन्दीर लगायतका संरचना बनाउन करिब ३५ करोड खर्च लागेको समितिले जनाएको छ । गणेशको मूर्ति निमार्णका लागि मात्रै करिब ११ करोड रुपैयाँ खर्च भएको प्रारम्भिक अनुमान छ ।
नेपालको पर्यटकीय राजधानी पोखरामा पर्यटककको बसाइ लम्बाउन पर्यटकीय स्थलको विकास गर्न समितिले ५० करोड लागतको गुरुयोजना समेत बनाएको छ
फाल्गुन १४ गते महाशिवरात्रि पर्व देखि फाल्गुन २१ गते सम्म सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव आयोजना गरिएको छ ।
सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ सालदेखि वृहत गुरुयोजना मार्फत विशाल शिवमन्दिर, भ्यूटावर, १०८ शिव लिङ्ग, १०८ धारा, भुमे कालिका, गणेश मन्दिर, बहुउद्देशिय भवन कार्य सम्पन्न गरिएको र सोही दिन उद्घाटन गरिनेछ । यी धार्मिक संरचनाहरूले पोखरालाई धार्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।