News 24 Television
'अध्यादेश फिर्ता हुनुपर्छ, विधेयकमार्फत प्रक्रिया अघि बढे गुण/दोष केलाउँछौँ'

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) ले सरकारले अध्यादेश फिर्ता लिएर विधेयक ल्याएको खण्डमा गुण, दोषको बारेमा छलफल गर्न सकिने बताएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यादेशबारे छलफल भएको हो । छलफलका क्रममा दुई पक्षबाट विश्लेषण गरिएको पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए । आफ्नो पार्टी सरकारले ल्याएको अध्यादेश प्रक्रियागत रुपमा त्रुटीपूर्ण रहेको र अध्यादेशको विपक्षमा उभिने बताए । उनले सरकारले अध्यादेश फिर्ता लिएर विधेयकमार्फत प्रक्रिया अघि बढाएको खण्डमा राम्रा र नराम्रा गुण दोषको बारेमा छलफल गर्न सकिने उल्लेख गरे ।

उनले भने, ‘आजको स्थायी कमिटीको बैठकमा अध्यक्षले राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नुभयो । त्यो छलफलका लागि सदस्यहरुलाई बाँडिएको छ । छलफल गरेर भोलि बिहान ८ बजेदेखि बस्ने बैठकमा उहाँहरुले आफ्ना धारणा राख्नुहुनेछ । आगामी दिनमा पार्टीलाई जनतासँग जोडेर जनसंघर्षका माध्यमबाट निर्माण गर्छौं, बिस्तार गर्छौं भन्ने हाम्रो थप कार्ययोजना छ । त्यस विषयमा छलफल गर्न अध्ययन सामग्री स्थायी कमिटीका सदस्यहरुलाई प्रदान गरिएको छ । पार्टीका आगामी दिनका दैनिक कार्ययोजनाहरु छन्ः प्रदेश अधिवेशन, जिल्ला अधिवेशनको स्थिति के छ ? पार्टी कार्यकर्ताको स्थिति के छ ? कसरी अघि जाने भन्नेबारेमा पनि छलफल गरिएको छ । केन्द्रिय कमिटीको बैठक यही ८ र ९ गते बस्दैछ । त्यसको कार्यसूचि तयार गर्ने र अध्यादेशको विषयमा केही छलफल भएको छ । अध्यादेशलाई दुई प्रक्रियाबाट हेरेका छौँ । एउटा त्यसको विषयवस्तुको कोणबाट र अर्को प्रक्रियाको कोणबाट, प्रक्रियागत रुपले यो त्रुटीपूर्ण छ । त्यसकारण यो प्रक्रियालाई मान्न सकिँदैन । अध्यादेशको विपक्षमा हामी उभिनेछाँै । विषयवस्तुको हिसावले सरकारले अध्यादेश फिर्ता लिएर यदी त्यो विधेयक भएर आए त्यसका राम्रा र नराम्रा गुण दोषको बारेमा छलफल गर्नेछौँ ।’

पार्टीको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन छलफलका लागि सदस्यहरुलाई बाँडिएको र छलफल गरेर बुधवार बस्ने बैठकमा सदस्यहरुले धारणा राख्ने बताए । आगामी दिनमा पार्टीलाई जनतासँग जोडेर जनसंघर्षका माध्यमबाट पार्टी निर्माण गर्ने र त्यस विषयमा छलफल गर्न अध्ययन सामग्री स्थायी कमिटीका सदस्यहरुलाई प्रदान गरिएको बताए । फागुन ८ र ९ गते बस्ने केन्द्रिय कमिटीको बैठकको कार्यसूचि तयार बनाउने बारेमा पनि छलफल भएको बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update