
काठमाडौं । दुई वर्षअघि नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जलनमा परेका थिए । भण्डारीसँगै जलनमा परेकी उनकी आमाले मृत्युवरण गर्नुपर्यो । भण्डारी जलनमा परेपछि सरकारले नेपालमा एउटा जलन अस्पताल निर्माण गर्ने निर्णय गरे पनि निर्माण हुन सकेको छैन ।
त्यसको ठीक दुई वर्षपछि शनिबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकामा मेयर धनराज आचार्य पोखरामा बेलुन विस्फोटपछिको जलनमा परेर घाइते भएपछि सबैलाई चिन्ता बढाएको छ ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आजभन्दा ठीक दुई वर्षअघि २०७९ फागुन ४ गते जलनका कारण आमा गुमाएका थिए । आमासँगै जलनमा परेका भण्डारी भारतमा ३ महिना लामो उपचारपछि घर फर्किएका थिए । त्यसयता पनि नेपालमा जलनका घटनाहरु थुप्रै भएका छन् ।
नेपालमा वर्सेनि ६५ देखि ७५ हजारको हाराहारीमा जलनका घटनाहरु हुने गरेका छन् । विश्वमा बर्सेनि एक करोड १० लाख मानिस गम्भीर प्रकारका जलनमा पर्ने गरेको विश्व स्वास्थ्य संगठनको रेकर्डमा उल्लेख छ । तर यति ठूलो जलनका घटनाहरु हुँदा पनि नेपालमा गम्भीर प्रकारको जलनको उपचार गर्ने एउटा अस्पताल पनि छैन ।
गम्भीर प्रकारको जलनको उपचारका लागि छिमेकी मुलुक भारत लैजानुपर्ने बाध्यता छ । यहि बाध्यतालाई प्रत्यक्ष भोगेका कांग्रेस नेता भण्डारीले त्यसयता सदनदेखि सडकसम्म नै जलनका विषयलाई गम्भीर रुपले उठाइरहेका हुन्छन् । तर कसैले पनि गम्भीर रुपमा नलिएको उनको गुनासो छ ।
एक साताअघि मात्रै माघ २४ गते विहानै काठमाडौंको कमलपोखरीको शान्दार मःम पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना जलनमा परेका थिए । ती मध्ये ४ जनाको ज्यान गयो । अन्यको उपचार जारी रहेको अवस्था छ । काठमाडौंमै यति ठूलो जलनको घटना हुँदा समेत राज्यले गम्भीरतापूर्वक भने लिएको देखिएन ।
घाइतेलाई अस्पतालसम्म लैजान एम्बुलेन्स समेत पाउन सकेनन् । शनिवार पोखरामा भ्रमण वर्ष उद्घाटनका क्रममा हाइड्रोजन ग्यास भरिएको बेलुनको झुप्पो पड्किएर आगो लाग्दा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भए । पोखराको यो घटनालाई रास्वपाकी एसिडपीडित सांसद एवम् विन्दबासिनी कंसाकारले सदनमा गम्भीर रुपमा उठाइन् ।
भर्खरै फागुन महिना लाग्दै गर्दा देशका विभिन्न ठाउँमा आगलागी र डढेका घटनाहरु भइरहेका छन् । हरेक वर्ष फागुन चैतमा हावाहुरी चल्ने भएकाले यस्ता घटनाहरु अत्याधिक हुने गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र सांसदहरुबीचको प्रश्नोत्तरमा पनि यो विषय उठेपछि प्रधानमन्त्री ओलीले यो विषयमा सरकार संवेदनशिल रहेको बताएका छन् ।
प्रधामन्त्री ओलीले सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा सबै जिल्लामा डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना बनाई कार्य गर्न निर्देशन आफूले निर्देशन दिएको बताए पनि सरकारको गम्भीर्यता भने नदेखिएको नेताहरुकै अभिब्यक्तिले स्पष्ट गरेको छ । रास्ववा सांसद कंसाकारले ७ महिनाअघि जलनसम्बन्धी गैरसरकारी विधेयक संसदमा दर्ता गराएकी थिइन् ।
छानबिन समिति गठन
पोखरामा ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहका क्रममा शनिबार भएको बेलुन विस्फोटको घटनाबारे सकरारले छानबिन समिति बनाएको छ । गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा ८ सदस्य छानबिन समिति बनाएका हुन् ।
एक जना विष्फोटक विज्ञ समेत रहने गरी बनाइएको छानबिन समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सशस्त्र तथा जनपद प्रहरीका अधिकारीहरु र अनुसन्धान निर्देशक सदस्य छन् । १५ दिनको समय सिमा दिइएको उक्त समितिले घटनाको छानबिन गर्नुका साथै पूर्व सतर्कताको उपायसहतिको प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ ।
खासगरी पोखरामा भएको बेलुन विस्फोटपछिको जलनको विषयले राजनीतिक वृत्तमा चिन्तित बनाएको छ । पोखराको घटनापछि उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यलाई हेलिकोप्टरबाट तत्कालै काठमाडौं ल्याएर कीर्तिपुरमा उपचार भइरहेको छ । मन्त्री पौडेललाई भेट्न राष्ट्रपतिदेखि मन्त्री र राजनीतिक दलका नेताहरुको लाम लागिरहेको छ ।
जसका कारण अस्पतालले धेरै भीँड नगर्न अपिल नै गर्नुपरेको छ । तर अझ यो भन्दा गम्भीर प्रकृतिको काठमाडौं कमलपोखरीको घटनाबारेमा भने न त छानबिन समिति बनेको छ, न त पीडित परिवारको बारेमा राज्यले अभिभावकत्व नै ग्रहण गरेको छ । त्यसैले मन्त्री, सांसद वा सर्वसाधारण नागरिक जो कसैप्रति पनि राज्यको समान दृष्टि जरुरी छ ।