News 24 Television
सांसदले सोधका प्रश्नमा प्रधानमन्त्री आक्रोशित, गैर-जिम्मेवार जवाफ दिएर पन्छिए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार प्रतिनिधि सभाका सांसदहरुले प्रश्नोत्तर गरे । प्रधानमन्त्रीले कतिपय सांसदका प्रश्नमा मिलाएर जवाफ दिए पनि कतिपय सांसदहरुका प्रश्नको जवाफै दिएनन् । बरु प्रतिप्रश्न, काउन्टर जवाफ र आक्रोश प्रकट गरे । सार्वभौम जनप्रतिनिधि थलो संसदमा उठेका प्रश्नको तथ्यगत जवाफ दिनु प्रधानमन्त्रीको नैतिक जिम्मेवारी हुने गर्छ । तर संसद छल्न माहिर, आलोचना सहन नसक्ने र संसदप्रति गैरजिम्मेवार प्रधानमन्त्रीको छवि बनाएका ओलीले आफ्नो छवि पुनः प्रकट गरेका छन् ।

आइतबार स्वतन्त्र सांसद प्रभु साहले प्रधानमन्त्री ओलीलाई वैदेशिक रोजगारी, आर्थिक तथ्यांकदेखि भारत भ्रमणसम्मका विभिन्न ८ वटा प्रश्न सोधे । तर प्रधानमन्त्री उनका प्रश्नप्रति आक्रोशित हुँदै अत्यन्त तुच्छ एवं गैरजिम्मेवार जवाफमा उत्रिए । उनले सांसद प्रभु साहका प्रश्नलाई मनमा रहेका घृणा भनेर हेपे । संसद्जस्तो गरिमामय स्थानमा यस्तो भाषा राख्दा तपाईंलाई के लाभ भयो ? भन्दै प्रतिप्रश्न गरे । वैदेशिक रोजगारीमा गएका ७० लाख युवाहरु आफू सरकारमा आएपछिका ७ महिनामै गएका हुन् ? के म म्यानपावर व्यवसायी हो ? भनेर उल्टो प्रश्न गरे । ओलीले साहका प्रश्नमा खासै जवाफ दिनु नपर्ने बताएर पन्छिए ।

ओलीकै भाषामा ‘संसदजस्तो गरिमामय’ स्थलमा प्रधानमन्त्रीले व्यक्त गर्ने हप्कीदप्कीको भाषा समेत तुच्छ रहेको भन्दै बाहिर आलोचना भइरहेको छ । फ्लोरबाट सांसद साहले प्रतिक्रिया दिन खोज्दा सभामुख देवराज घिमिरेले दोहोरो प्रश्नोत्तर गर्न नमिल्दै भन्दै बस्न आग्रह गरे । प्रधानमन्त्री ओलीले पूर्व अर्थमन्त्री वर्षमान पुनलाई पनि सोही प्रकारले जवाफ दिए । अर्थतन्त्रको चिन्ता लिनुअघि आफू अघिल्लो सरकारमा अर्थमन्त्री हुँदाका बखतको अवस्थामा फर्किन आग्रह गरे । पुनले देशको अर्थतन्त्र झन कमजोर भइरहेको तर सरकार भने अध्यादेश ल्याएर रमाइरहेको भन्दै प्रश्न उठाएका थिए । ओलीले पुँजीगत खर्च कम भएको स्वीकार गर्दै पूर्व अर्थमन्त्री वर्षमानको पालामा भन्दा बढी नै रहेको जवाफ दिए । असारमा धान नरोपेपछि मंसिरमा धान नफल्ने भन्दै अहिलेको अर्थतन्त्रको संकट हुनुमा अघिल्लो सरकारका नीतिलाई दोष दिए ।

यसैगरी, पूर्वमन्त्री प्रकाश ज्वालालाई पनि ओलीले नाजवाफ पार्नेगरी जवाफ फर्काएका छन् । काँग्रेस¬–माओवादी गठबन्धन सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका प्रकाश ज्वालाले ओलीले नै विगतमा तामझामका साथ सुरु गरेको १६५ रणनीतिक सडक र पालिका अस्पतालहरु अलपत्र रहेकोबारे प्रश्न सोधेका थिए । जवाफमा ओलीले आफू मन्त्री भएका बेला किन गर्नुभएन ? भन्दै ज्वालाई प्रतिप्रश्न गरे । तीन वर्षसम्म आयोजना रद्द गरेर राख्ने अनि अहिले ती कार्यक्रम किन सुरु भएनन् भनेर प्रश्न सोध्ने ? भन्दै काउन्टर जवाफ दिए । 

यसरी सांसदका प्रश्नहरुको तथ्यगत जवाफ दिनुको साटो प्रतिप्रश्न तेस्र्याउने, प्रश्न नै छल्ने र व्यंग्यपूर्वक प्रश्न गर्ने प्रधानमन्त्री ओलीको शैली संसदमा देखिएको छ । तर उनले वर्तमान सरकारका कमजोरी स्वीकार्न भने सकेनन्, बरु अघिल्लो सरकारलाई दोष दिँदै आफूले चाहिँ राम्रै गरिरहेको दाबी गरे । यसअघि माघ २४ गते संसदमै विपक्षी दलका नेता प्रचण्डले सम्बोधन गर्ने कार्यक्रममा समेत ओली अनुपस्थित रहँदै संसद छलेका थिए । प्रचण्डले समेत प्रधानमन्त्रीको कार्यशैली र सरकारबारे कडा टिप्पणी गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update