
काठमाडाैँ । राष्ट्रिय सभाले प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर बाेल्न, आफ्ना विचार सम्प्रेषण गर्न निर्देशन दिएको छ ।
आईतवारको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न निर्देशन दिएका हुन् ।
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले शुन्य समय र विशेष समयमा प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रिय सभाको काम कारबाहीका सन्दर्भमा प्रश्न उठाउकोप्रति आपत्ति जनाएका थिए । सोही विषयलाई लिएर सभाका अध्यक्ष दाहालले विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज मान्य सदस्यले कपो कल्पित झुट र यथार्थ भन्दा बाहिर गइ आफ्ना अभिव्यक्ति दिएकाे बताए । उनले सांसद शाहीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको भन्दै खेद प्रकट गरे ।
उनले भने, ‘मान्य सदस्यहरु । आजको बैठकमा शुन्य समय र विशेष समयमा मान्य सदस्यहरुले प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रिय सभाको काम कारबाहीका सन्दर्भमा सामाजिक सञ्जाल ज्ञानेन्द्र शाहीको नामको फेसबुक पेजमा व्यक्त गर्नुभएको टिप्पणीको सन्दर्भमा विषय उठान गर्नुभएकोमा सभाको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा सभाले मिति २०८१ साल माघ २८ गते पारित गरेको मिडिया काउन्सिल विधेयक, २०८० मिति २०८१ जेठ १३ गते यस सभामा पेश भइ उक्त विधेयकमाथि सैद्धान्तिक छलफल पश्चात विधेयकउपर २६ जना मान्य सदस्यहरुबाट विभिन्न दफामा ७८ वटा संशोधन प्राप्त भइ उक्त संशोधनमाथि सभाको विधायन व्यवस्थापन समितिमा सरोकारवाला पक्ष, सम्बन्धित मन्त्रालय र संशोधनकर्ता मान्य सदस्यहरुसँग १४ वटा बैठकमा दफावार छलफल गरी प्रतिवेदन तयार पारेको र उक्त समितिको प्रतिवेदनमा उल्लेखित २१ वटा बुँदामा रहेका संशोधनसहित सभाको मिति २०८१ माघ २८ गतेको बैठकबाट उक्त विधेयक पारित भएको अवस्था छ । यसरी पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज मान्य सदस्यले कपो कल्पित झुट र यथार्थ भन्दा बाहिर गइ एक सभाको सदस्यले अर्को सभाको काम कारबाही र सभाका मान्य सदस्यहरुको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्तै गैरजिम्मेवारपूर्ण ढंगले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकाले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ । आइन्दा आफ्ना विचार संप्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन मान्य सदस्यलाई यो सभा निर्देशन समेत दिन्छ ।’
त्यसअघि राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राष्ट्रिय सभालाई 'वृद्धाश्रम' भनेको भन्दै आपत्ति जनाएकी थिइन् । उनले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राष्ट्रिय सभालाई केही दिनको पाहुना र वृद्धाश्रम भनेको भन्दै आपत्ति जनाइन् । शाहीको भनाइप्रति खेद प्रकट गर्दै सभाले पनि खेद प्रश्ताव पारित गर्नुपर्ने माग गरिन् ।
यस्तै काँग्रेस सांसद नारायणदत्त मिश्रले पनि शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेकोप्रति आपत्ति जनाए । उनले प्रदेश सरकार र स्थानीय सरकारमा आफ्नो पार्टीको कमजोर उपस्थिति भएका कारण राष्ट्रिय सभामा आफ्नो प्रतिनिधित्व हुन नसकेको कुण्ठा शाहीले पोखेको बताए ।
उनले भने, ‘म खेद प्रकट गर्दछु । प्रतिनिधि सभामा भन्न नसकेर एक जना सांसदले फेसबुकमा नै ओकलेछन् । राष्ट्रिय सभा वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र ? वृद्धाश्रममा जानुपर्ने बाजेहरु राष्ट्रिय सभामा भत्ता खान गएकाले मिडिया काउन्सिल विधेयक नपढिकनै पास गरेका छन् भनि तथानाम सरापेका छन् । विधेयकमाथि विधायन व्यवस्थापन समितिमा विभिन्न कोणबाट छलफल भएको छ । यहाँ कुरा विधेयकमा ल्याएर तथानाम भनेपनि प्रदेश सरकार र स्थानीय सरकारमा आफ्नो पार्टीको कमजोर उपस्थिति भएका कारण राष्ट्रिय सभामा आफ्नो प्रतिनिधित्व हुन नसकेको कुण्ठा पोखिएको स्पष्ट हुन्छ । किनभने वृद्धहरु राष्ट्रिय सभामा भन्दा प्रतिनिधि सभामा ज्यादा उमेरका छन् । सांसदज्यु बाच्यो भने तपाईंहरु पनि बुढो हुनेकुरा निश्चित छ । बुढो हुनुमा हामीलाई गर्व छ, किनभने हामी बाँचेका छौँ । अनुरोध छ, मुखारबिन्दबाट बोलौँ, थुतुनो कम चलाऔँ । सत्यं ब्रुयात, पियं ब्रुयात न ब्रियात सत्यमा प्रियं ।’