
काठमाडौं । पर्यटकीय राजधानी घोषणापछि पोखराको पर्यटनमा उलटफेर गर्ने भन्दै आयोजित कार्यक्रम नै दुर्घटनामा परिणत हुँदा माहोल बिग्रिएको छ । असावधानीवस बेलुन पड्किदा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य नै घाइते बनेका छन् । यसले भ्रमण वर्षको शुभारम्भ कार्यक्रम नै खल्लो बन्न पुगेको हो ।
पोखराले भ्रमण वर्षको धुमधाम तयारी र प्रचार गरिरहेको छ । अघिल्लो वर्ष पर्यटकीय राजधानी घोषणापछि पोखरामा शीर्षस्थहरुलाई बोलाएर भ्रमण वर्ष २०२५ को शुभारम्भ भव्य बनाउन खोजिएको थियो । जसमा विभिन्न कला संस्कृतिदेखि झाँकीको प्रदर्शन हेर्न लायक थियो ।
पोखरामा विदेशी र आन्तरिक गरेर २० लाख पर्यटक भित्र्याउने तयारीस्वरुप भ्रमण वर्ष २०२५ को घोषणा गरिएको छ ।
२०२५ लाई पोखरा भ्रमण वर्षको रूपमा मनाउने भन्दै पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ को शुभारम्भ गरेको छ ।
जसमा पोखराको प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रममा थिए, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखराका मेयर धनराज आचार्य लगायत । तर, यो कार्यक्रममा बेलुन पड्किएपछि भने स्थिति तनावग्रस्त बन्न पुग्यो ।
कार्यक्रमस्थलमै असावधानीका कारण बेलुन पड्किएपछि अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते बनेका छन् । पोखरामै सामान्य उपचारपछि उनीहरुलाई हेलिकोप्टरमा काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार थालिएको छ ।
दुर्घटनाका कारण दुबैजनाको अनुहारमा ५\६ प्रतिशत जलन देखिएको र यसको प्रभाव श्वासप्रश्वास नलीमा पनि पर्न सक्ने भएकाले उच्च सतर्कताका साथ उपचारी जारी राखिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार जलनका कारण दुबैजनाको उपचार सघन कक्षमा जारी रहेको छ । बेलुन पड्किदा घाइते भएका अर्थमन्त्री र मेयरको उपचार जारी रहेपनि पोखरामा कार्यक्रम भने गरिएको छ । कार्यक्रममा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले भ्रमण वर्षले पोखराको मात्रै नभई सिंगो देशको आर्थिक उन्नयनमा मदत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
महानगर तथा पालिकहरुसँग सहकार्य गरेर पर्यटनका क्षेत्रलाई पर्यटकको आकर्षणको केन्द्रको रूपमा विकास गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा पोखराको पर्यटनलाई टेवा पु¥याउने विषयमा बहस छलफल चलेपनि मेयर आचार्य घाइते बन्दा कार्यक्रमको स्थिति भने खास हुन सकेन् । यद्यपी पोखरा महानगरले रोयल ट्रेकलाई पुनः रेखांकन गरी विकास तथा प्रर्वद्धन गर्नुका साथै ‘लेक टु लेक’, ‘केभ टु केभ’ तथा ‘कोट टु कोट’ पदमार्ग निर्माणका लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गर्ने जनाएको छ ।
पर्यटकीय राजधानी घोषणापछि पोखराले पर्यटनबाटै समृद्धिको बाटो खोजिरहेको छ । तर, यसमा केन्द्र सरकारले समेत पर्याप्त ध्यान सक्दा पोखराले नेपालको पर्यटन क्षेत्रलाई अर्थतन्त्रसँग जोड्न मदत गर्ने विश्वास गरिन्छ ।