News 24 Television
बन्दी आदानप्रदानः १९ इजरायली, ५ थाइ र ७६६ प्यालेस्टिनी रिहा

काठमाडौं । इजरायल–हमासबीच भएको युद्धविराम सहमति अनुसार हमासले कब्जामा लिएका नागरिकलाई छाड्ने क्रम जारी राखेको छ । बन्दी आदानप्रदान सहमति अनुसार इजरायलले पनि सयौं प्यालेष्टिनी बन्दीहरुलाई रिहा गरिरहेको छ । विभिन्न चरणमा बन्दी आदान प्रदान गर्ने क्रममा शनिबार हमासले थप ३ जना इजरायली बन्धकलाई मुक्त गरेको छ । 

इजरायल र हमासबीच गत जनवरी १९ मा युद्धविराम सम्झौता अनुसाaर बन्दी आदानप्रदान भइरहेका छन् । हमासले चरणवद्ध रुपमा आफ्ना बन्धकहरुलाई मुक्त गरिरहँदा इजरायलले पनि सहमति अनुसार नै प्यालेष्टिनी बन्दीहरुलाई रिहा गरिरहेको छ ।

हमास समूहले युद्धविराम सम्झौतापछि छैठौं पटक शनिवार थप ३ जना इजरायली बन्धकहलाई मुक्त गरेको छ । इजयरायली नागरिक अलेक्जेन्डर ट्रुफनोभ, याएर होर्न र सागी डेकल–खेनलाई हमासले शनिबार मुक्त गरेको हो । गाजाको दक्षिणी युनिस सहरमा हमासले रेडक्रसलाई ३ जना इजरायली बन्धकको जिम्मा लगाएको हो । 

३ जना इजरायली नागरिक मुक्त गरेको बदलामा इजरायलबाट ३ सय ६९ प्यालेष्टिनी बन्दी रिहा भएका छन् । हमासले गाजामा बन्धकहरू मुक्त गरी रेडक्रसलाई जिम्मा लगाएको दृष्य इजरायलको विभिन्न स्थानको स्क्रिनमा देखाइएको थियो । 

हमासले बन्धक मुक्त गरि रेडक्रसलाई जिम्मा लगाउँदा परिवारका आफन्त तथा इजरायलीहरु खुशीले चिच्याएका देखिन्थे । हमासले ३ बन्धक मुक्त गरेपछि विज्ञप्ति जारी गर्दै वार्ता र युद्धविराम सम्झौता पालना बाहेकका अन्य उपाय नरहेको बताएको छ । 

पछिल्लो युद्धविराम सुरु भएयता हालसम्म हमासले १९ जना इजरेली र पाँचजना थाई बन्धकहरू मुक्त गरेको छ । त्यसको बदलामा इजरायलले ७६६ जना प्यालेस्टिनी बन्दी रिहा गरेको छ । 

विपिन अझै मुक्त भएनन् 

हमास–इजरायल युद्धका क्रममा हमास समूहको कब्जामा परेका कञ्चनपुरका विपिन जोशी भने अझैसम्म पनि मुक्त भएका छैनन् । हमासले शनिवार छैठौं पटक बन्धक मुक्त गर्दा पनि विपिन मुक्त नभएका हुन् । 

पछिल्लो युद्धविराम सम्झौतापछि हमास समूहको कब्जामा रहेका विपिनलाई मुक्त गराउन नेपालले कतार, इजरायल लगायत विभिन्न देशसँग पहल पनि गरेको छ । 

परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वयम्ले विपिनलाई मुक्त गराउन पहल गरिदिन विभिन्न पक्षसँग आग्रह गरेकी थिइन् । तर हमासले विपिनलाई भने मुक्त गरेको छैन । 

युद्धविराम सम्झौताअनुसार इजरायाली मुक्त गर्दा ठूलो संख्यामा प्यालेष्टिनी नागरिक रिहा हुने भएकाले पनि हमासले इजारायलीलाई मुक्त गरिरहेको छ । 

युद्धविराम भंग हुने चिन्ता

युद्धविराम सम्झौताअनुसार हमास र इजरायलबीच बन्दी आदान प्रदान भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेष्टाइनको गाजा क्षेत्रका बासिन्दालाई अन्य देशमा स्थानान्तरण गर्ने अभिब्यक्ति दिएका थिए । 

ट्रम्पको यो अभिब्यक्तिले हमास मात्र नभई प्यालेष्टिनी राष्ट्रपति कार्यालयले समेत आपत्ति जनाएको थियो । युद्धविराम सहमति अनुसार आफूले बन्दी मुक्त गरिरहँदा इजरायलले युद्धविराम शर्तहरु उलंघन गरेको भन्दै केही दिनअघि हमास समूह रुष्ट बनेको थियो । 

इजरायलले युद्धविराम शर्त उलंघन गरेको भन्दै बन्धक मुक्त नगर्ने चेतावनी दिएपछि इजरायलले तत्कालै गाजामा हमला गर्ने प्रतिक्रिया जनायो । 

जसका कारण युद्धविराम भंग हुने आशंका ब्याप्त थियो । अन्तर्राष्ट्रिय दबाब तथा इजरायली धम्कीपछि हमासले शनिवार थप ३ जना बन्धकलाई छाडेको हो । 

इजरायली हमलामा गाजापट्टी ध्वस्त भएको छ । पहिलो चरणको युद्धविरामपछि दोस्रो चरणको वार्ता गर्ने सहमति दुई पक्षबीच भएको छ । सन् २०२३ अक्टोबर ७ मा हमास समूहले एक्कासी इजरायलमा हमला गरी २ सय ५१ जनालाई बन्धक बनाएको थियो । हमासको हमलामा झण्डै १२ सय जनाको मृत्यु भएको थियो । 

हमासको हमलाको विरुद्ध इजरायलले गरेको जवाफी हमलामा परि कम्तीमा ४७ हजार ५ सय प्यालेष्टिनीको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update