
काठमाडौं । सिभिल अस्पतालका ज्यालादारी कर्मचारीहरू आफ्नो हक अधिकारको लडाई भन्दै विरोधमा उत्रिएका छन् । अस्पतालको प्रशासनिक कठोरतासँग थाकिसकेको भएपनि झुक्न तयार छैनौं भन्दै उनीहरुले आवाज उठाएका हुन् ।
उचित पारिश्रमिक, सामाजिक सुरक्षा कोष, जोखिम भत्ता, र श्रम शोषण अन्त्यका मागसहित आन्दोलनरत यी कर्मचारीहरू अस्पताल प्रशासनको धम्कीपूर्ण रवैयाले झन् आक्रोशित भएका छन् । प्रशासनले आफ्नो मनोमानी कायम राख्दै अस्थायी श्रमिकलाई शोषण गरिरहेको आरोप लगाइएको छ ।
निजामती कर्मचारी (सिभिल) अस्पतालका ज्यालादारी कर्मचारीहरू आन्दोलित छन् । आफ्नो हक अधिकारको लडाइँ भन्दै उनीहरू अस्पताल प्रशासनविरुद्ध आवाज उठाइरहेका छन् । अस्पतालको विनियमावली संशोधन, जोखिम भत्ता, सामाजिक सुरक्षा कोषको व्यवस्था, र समान पारिश्रमिक सुनिश्चितता उनीहरुका प्रमुख मागहरूमा छन् ।
त्यसमा पनि उनीहरूको मुख्य गुनासो भने श्रम शोषणको छ । स्वास्थ्य सेवा प्रदान गर्ने स्वयं स्वास्थ्यकर्मी नै अन्यायमा परेको महसुस गर्दै आन्दोलित भएका छन् ।
सुत्केरी विदा र किरिया विदामा गए पनि जागिर नै गुमाउनु पर्ने खतरा रहनु उनीहरूका लागि सबैभन्दा ठूलो पीडा बनेको छ । आफ्ना जायज मागहरू सम्बोधन हुनुको सट्टा विभागीय प्रमुखहरू उल्टै धम्कीपूर्ण भाषा प्रयोग गरिरहेको आन्दोलनरत कर्मचारीहरूको गुनासो छ । कर्मचारीहरू केवल उचित पारिश्रमिक र श्रम अधिकार खोजिरहेका छन् । तर, व्यवस्थापन पक्षले उनीहरूका माग सुन्ने भन्दा दबाउने प्रयास गरिरहेको उनीहरूको आरोप छ ।
अस्पतालहरूमा कर्मचारी भर्नाको विषय पटक–पटक विवादमा पर्ने गर्छ । सिभिल अस्पताल पनि यसको अपवाद छैन । नियम र प्रक्रियाविपरीत करार, ज्यालादारी तथा पार्ट–टाइम पदमा कर्मचारी भर्ती गरेर अस्पताललाई ‘भर्ती केन्द्र’ बनाएको आरोप यसअघि पनि लागेको थियो । त्यही प्रवृत्ति दोहोरिँदा स्थायी दरबन्दी खुला गरेर योग्यता अनुसार कर्मचारी लिने प्रक्रियालाई बेवास्ता गर्दै गएको देखिन्छ ।
गत पुष महिनामै अस्पतालले ४ सय ४८ जनालाई करार, ज्यालादारी र सेसन (पार्ट–टाइम) मा भर्ना ग¥यो । यतिमात्र होइन, ज्यालादारी कर्मचारीहरू प्रशासनबाट दोहोरो मारमा परेका छन् । स्थायी नियुक्ति दिनुपर्छ भने प्रशासनले नियम देखाएर उम्कने तर आफ्ना मान्छेलाई छान्ने बेला आन्तरिक परीक्षा नै नगर्ने गुनासो उनीहरूको छ । यसरी अपारदर्शी प्रक्रिया अपनाउँदा योग्य र स्थायी जागिर चाहने कर्मचारीहरू अन्यायमा परिरहेको उनीहरु बताउँछन् ।
अस्पताल स्थापनाका क्रममा विशेष शर्तसहित करार, ज्यालादारी र पार्ट–टाइम कर्मचारी भर्ना गरिएको भन्दै उनीहरू सेवासुविधाबाट बञ्चित हुन नहुने माग गरिरहेका छन् । विगतदेखि नै अस्पतालमा योगदान दिँदै आएका यी कर्मचारीहरू अहिले शान्तिपूर्ण धर्नामा बसेका छन् । तर, माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
वर्षौंदेखि निरन्तर सेवा दिँदै आए पनि स्थायी कर्मचारीसरह सुविधा नपाउँदा उनीहरू असन्तुष्ट छन् । प्रशासनले नियमको नाममा उनीहरूलाई पन्छाउने प्रयास गरे पनि स्थायी दरबन्दी खुला नगरी नयाँ कर्मचारी भर्ना गरिनु अन्यायपूर्ण भएको उनीहरूको तर्क छ । एकातिर, अस्पतालले कानुनी प्रावधानको उल्लंघन गर्दै मनपरी भर्ना गरिरहेको छ ।
अर्कोतिर, वर्षौँदेखि काम गरिरहेका कर्मचारीहरू अधिकारबाट बञ्चित भइरहेको भन्दै विरोधमा छन् । प्रशासन भने अहिलेसम्म मौन बसेको छ । परिस्थिति अहिलेकै गन्जागोल अवस्थामा रहे सिभिल अस्पतालको कर्मचारी व्यवस्थापन थप जटिल मोडमा पुग्ने सम्भावना देखिन्छ ।