News 24 Television
डिजिटल बैंकिङमा नेपालीको पहुँच कति ? 

काठमाडौं । प्रविधिको विकाससँगै बैंकिङ कारोबारमा डिजिटल प्रणालीको विकास भयो । नेपालमा कोभिड–१९ का महामारीपछि डिजिटल बैंकिङ कारोबारको प्रयोग ब्यापक बन्यो । 

संक्रमण रोकथामका लागि नोटको प्रयोग घटाउन बैंकहरुले डिजिटल कारोबारमा मोबाइल बैंकिङ र क्यूआर कोड प्रयोगमा ल्याए । जसको प्रयोग अहिले निकै बढेको छ । डिजिटल कारोबारले वित्तीय पहुँच मात्रै बढाएको छैन समाजलाई नै आधुनिक बनाइरहेको छ भने धेरैलाई बैंकिङ कार्य निकै सहज पनि बनेको छ । 

पाँच वर्षअघि कोभिड–१९ महामारीबाट जोगिन विश्वभर ‘वर्क फ्रम होम’को अवधारणा विकास भयो । त्यसका लागि डिजिटल प्रविधिको प्रयोग गरियो । 

नेपालमा शिक्षा, स्वास्थ्य, सञ्चारमाध्यम, कर्पोरेट क्षेत्र, बैंक तथा वित्तीय संस्था, सेयरबजार सबैमा डिजिटल प्रविधि प्रयोग गरि घरबाटै काम र कारोबार गर्न सकिने व्यवस्था गरियो । इन्टरनेट बैंकिङसँगै, मोबाइल बैंकिङ, मोबाइल वालेट, क्यूआर कोडको विकास भयो । जसले हामी सबैलाई डिजिटल कारोबारमा जान प्रोत्साहन ग¥यो । 

यसले पैसाको सुरक्षा त ग¥यो नै, समयको बचत र विभिन्न बिल भुक्तानीका लागि सम्बन्धित कार्यालय धाउनुपर्ने स्थितिको अन्त्य गरेको छ । त्यसैले अहिले डिजिटल बैंकिङ अत्यावस्यक सेवा बनेको छ । 

राष्ट्र बैंकको तथ्यांकअनुसार २०८१ पुस मसान्तसम्म नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ६३ लाख ३६ हजार एक सय १७ पुगेको छ । 

यस्तै, डेबिट कार्ड प्रयोगकर्ता एक करोड ३३ लाख ६३ हजार एक सय ७४, इन्टरनेट बैंकिङ प्रयोगकर्ता २१ लाख १८ हजार तीन सय ८४, क्रेडिट कार्ड प्रयोगकर्ता तीन लाख छ हजार छ सय पाँच, प्रिपेड कार्ड प्रयोगकर्ता दुई लाख १९ हजार एक सय ६४ र एटीएम काउन्टर पाँच हजार दुई सय २९ पुगेको छ । 

kk-1739587491.JPG
डिजिटल बैंकिङको विकास भएसँगै अहिले वित्तीय सेवाका लागि बैंक धाउनुपर्ने बाध्यता हटेको छ । घरमै बसेर बैंक खाता खोल्न सकिने, बिल भुक्तानी गर्न सकिने, विवरण हेर्न सकिने, कर्जाको माग गर्न सकिने सम्मका सेवा बैंक तथा वित्तीय संस्थाले दिइरहेका छन् । यहीकारण डिजिटल कारोबारमा मानिसहरुको आकर्षण बढेको छ । 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update