News 24 Television
देउवाले भित्रभित्र अर्को योजना बनाउँदै, महाधिवेशको कुरा यस्तो !

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताहरुको जमघट बाक्लिन थालेको  छ । सत्ता सञ्चालनमा देखिएको समस्या, आगामी महाधिवेशनमा देखिन सक्ने राजनीतिक ध्रुवीकरण लगायतका विषयमा शुक्रबारको जमघटमा छलफल भएको बताइएको छ । यस बैठकले आगामी राजनीतिक परिदृष्यबारे कस्तो धारणा बनायो त ? 

कांग्रेस महाधिवेशन कहिले ? सर्वाधिक चर्चामा रहेको विषय हो । आगामी निर्वाचन ०८४ अघि नै महाधिवेशन गर्नुपर्ने आवाज कांग्रेसभित्रबाट उठिरहेका छन् भने देउवाले के गर्लान् भन्ने चासो समेत उत्तिकै देखिन्छ । यस्तोमा कांग्रेस नेताहरुले महाधिवेशनबारे विभिन्न तर्क दिने गरेका छन् । 

महाधिवेशन ०८४ को निर्वाचन अघि नै हुनुपर्ने भन्दै नेताहरुले निरन्तर दबाब बढाउन थालेका छन् । महाधिवेशनको समय ०८४ को निर्वाचनपछि गर्न सकिने गरि कानूनले नै नदिने समेत उनीहरुले भनिरहेका छन् । 

यस्तोमा महाधिवेशन केन्द्रित छलफलमा देउवाले सक्रियता बढाएको देखिन्छ । आफूलाई सभापतिमा निर्वाचित गराउन काम गरेका नेताहरु उपसभापति पूर्णबहादुर खड्कासहित नेताहरु प्रकाशमान सिंह, शशांक कोइराला, गोपालमान श्रेष्ठ, कृष्ण सिटौला, बालकृष्ण खाँण, उमाकान्त चौधरी, प्रकाशशरण महत, एनपी साउँद लगायतका नेताहरुलाई डाकेर छलफल गरेको बताइएको छ । यो छलफलमा देउवाले महाधिवेशनदेखि सत्ता राजनीतिबारे समेत गहन छलफल गरेको बताइन्छ ।

अध्यादेशले कांग्रेसमा तनाव

सरकारले गठबन्धनको सहमतिमै ल्याएको अध्यादेशमा भूमिसम्बन्धिको अध्यादेश विवादमा फसेको छ । सत्तारुढ दल लोकतान्त्रिक समाजवादी र जनता समाजवादी पार्टी नेपालले अस्वीकार गर्ने भनिसकेका छन् । 

यस्तोमा राष्ट्रियसभामा देखिएको संकटलाई कसरी टार्ने ? कांग्रेसमा तनाव देखिन्छ । यस्तोमा कांग्रेसले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग छलफल गर्ने भनेको छ । तर, माधव नेपालले तत्काल ओली नेतृत्वको सरकारलाई सहयोग गर्ने वातावरण भने देखिन्न । यस्तोमा अध्यादेश के होला भन्ने तनावले कांग्रेसमा विमर्श थप चर्किएको छ । 

सत्ता उलटफेरको चर्चा

कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सत्ता सहकार्यमा खास तनाव नभएपनि प्रधानमन्त्री केपी ओली र उनको दलका नेताहरुको अभिव्यक्तिका कारण सत्ता सञ्चालन कठिन बन्दै गइरहेको निष्कर्ष कांग्रेसले निकालेको भनिएको छ ।  

एमाले नेताहरुले माधव नेपाल नेतृत्वको नेकपा एसलाई अत्यन्तै तल झारेर बोल्ने, प्रतिपक्षीसँगको सम्बन्धमा पनि सुधारको सट्टा तीतोपना देखाउने गरेका कारण पनि सत्ता समिकरणमा तनाव बढ्ने निष्कर्ष निकालेको दाबी गरिन्छ । केहिदिन पहिले बालुवाटारमा बसेको सत्तारुढ दलको राजनीतिक संयन्त्रको बैठकले पनि खास निर्णय गर्न सकेको थिएन् । सामान्य नोकझोकपछि परराष्ट्रमन्त्री आरजु राणा देउवा सरकारी सवारी छाडेर देउवाको निजी सवारीमा बाहिरिएको चर्चा छ । यस्तो विषयले पनि सत्तागठबन्धनभित्रको राजनीतिक माहोलमा तीतो देखिन थालेको बताइन्छ । 

यहि कारण नै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डसँग आफ्नो दुरी नजिकिए छैन है भन्नलाई पनि तथानाम गरेको बताइन्छ । यस्तोमा अब कांग्रेसले लिने निर्णय एमालेसँगको सत्ता सहकार्यको जस्तो नहोस भनेर नै देउवाले प्रारम्भिक छलफल चलाउन थालेको बताइन्छ ।

सत्ता नेतृत्वमै हुँदा महाधिवेशन !

कांग्रेस महाधिवेशन ०८४ को निर्वाचन अगावै अर्थात ०८३ को प्रारम्भमै गर्नुपर्ने स्थितिमा देउवा छन् । सत्तामा हुँदा महाधिवेशन गराउन नसकिए आफू पक्षका धेरै नेताहरु बाहिरिने र पार्टी सत्ताबाट आफ्नो वर्चश्व गुम्ने खतरा देखिरहेका छन् । 

पार्टी नेतृत्वबाट आफू हटे जुनसुकै बेला पनि संसदीय दलको नेता फेर्ने अभ्यास चल्नेमा समेत उनी सचेत छन् । यस्तोमा देउवाले सत्ता सम्हालेपछि मात्रै महाधिवेशन गराउने मनशाय बनाएको देखिन्छ । राज्य सत्ता हातमा रहेको बेला महाधिवेशन गराउँदा आफ्नो शक्ति प्रदर्शन गर्न सकिने र त्यसले लाभ हुनेमा सचेत देउवा महाधिवेशन समयमै गराउने सर्त बलियो बनेमा सत्ता नेतृत्व सम्हाल्ने बाटोमा छिटो अघि बढ्ने कांग्रेस नेताहरुले बताउने गरेका छन् । 

अहिलेको सरकार पनि देउवाको चाहनामा निर्भर रहेकाले देउवाको इशारामै सरकार फेरिने गरि बाहिर दलहरुको कसरत चलिरहेको देखिन्छ । यस्तोमा देउवाले के गर्लान् ? महाधिवेशनअघि प्रधानमन्त्री पद लिने गरि कस्तो योजना अघि सार्लान् ? यस्तै प्रश्नहरु अहिले कांग्रेसवृत्तमा चर्चामा देखिन्छन् । 

नेतृत्वको सवाल

१० औं महाधिवेशनदेखि देउवालाई सघाउदै आएका नेताहरुले बुढानिलकण्ठमा अबको सभापति पनि यहि गुटभित्रबाटै हुनुपर्ने माग राखेका छन् । 

पछिल्लो समय देउवा निकट हुँदै महामन्त्री गगन थापाले सक्रियता बढाइरहेका छन्, भने देउवालाई सघाउदै आएकाहरुले नेतृत्व बाहिर जान नदिने गरि अघि बढ्नुपर्ने आवाज राखेको बताइन्छ । बुढानिलकण्ठमा चलेको छलफलमा देउवाले भने सक्रियातपूर्वक काम गर्नुपर्ने र एकताबद्ध हुनुपर्नेमा जोड दिनेबाहेक खास प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update