काठमाडौं । तपाईंसँग कुनै पनि बैंकको एटीएम कार्ड छ भने कार्डमा ध्यान दिएर हेर्नुहोस् त । त्यो कार्डमा वाइफाईको जस्तो एउटा चिन्ह देख्नुहुन्छ । यो चिन्हको अर्थ के होला ? यसको फाइदा के होला ? तपाईलाई थाहा छ ?
बैंक तथा वित्तीय संस्थाले जारी गरेका कुनैपनि कार्ड मेसिनमा स्वाइप गरेपछि अर्थात पीन नम्बर वा पासवर्ड नहाली भुक्तानी गर्न मिल्ने प्रविधि कन्ट्याक्टलेस पेमेन्ट प्रविधि हो । अर्थात यस्तो कार्डलाई पस मेसिनमा छोएर मात्रै पनि भुक्तानी हुन्छ ।
यस्तो कार्डमा सानो वाईफाईको चिन्ह जस्तो संकेत देख्न सकिन्छ । यस्तो चिन्ह भएका कार्डबाट पिन नम्बर नहालीकन पस मेसिनमा छोएर वा ट्याप गरेर मात्र पनि भुक्तानी गर्न सकिन्छ । अन्तर्राष्ट्रिय कार्ड कम्पनी भिसा र मास्टर कार्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डमा यस्तो संकेत देख्न सकिन्छ ।
यसको अर्थ यो कार्डबाट पिन नम्बर नहालेर पनि भुक्तानी गर्न सकिन्छ भन्ने हो । कुनैपनि पसल व्यवसायमा हुने पस मेसिनमा तिर्नुपर्ने रकम उल्लेख गरिसकेपछि तपाईंसँग भएको कार्ड उक्त मेसिन नजिकै लैजाँदा मात्रै पनि भुक्तानी हुन्छ । नेपाल राष्ट्र बैंकले दैनिक पाँच हजार रुपैयाँसम्म भुक्तानी गर्न मिल्नेगरी यस्तो कार्ड जारी गर्न सक्ने सुविधा दिएको छ । यसबाट गरिने भुक्तानीलाई ट्याप टु पे वा ट्याप एण्ड पे भन्ने गरिन्छ ।
बैंक तथा वित्तीय संस्थाले पनि दिनमा कति पटकसम्म यसरी भुक्तानी गर्न सकिन्छ भनेर सीमा तोकिदिएका हुन्छन् । यस्तो गर्नुको अर्थ पसल, मार्ट वा अन्य कुनैपनि ठाउँमा छिटो भुक्तानी होस् र भिडभाड नहोस, धेरै समय कुर्नु नपरोस् भन्ने हो । तर कार्डलाई सुरक्षित राख्न सकिएन भने पाँच हजार रुपैयाँसम्म पैसा चोरी हुने जोखिम भने हुनसक्छ । त्यसैले कार्ड हराउने वित्तीकै सम्बन्धित बैंकमा सम्पर्क गरी ब्लक गर्न लगाउनुपर्छ । यो भन्दा उत्तम विकल्प आफ्नो कार्ड आफैसँग सुरक्षित राख्नुनै उपयुक्त हुन्छ ।