
कैलाली । उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्याउ उत्पादन राम्रो हुन्छ । तर तराईको जस्तो गर्मी वातावरण रहेको कैलालीको मोहन्याल गाउँपालिका वडा न.६ ले वडामा स्याउ पकेट यरिया बनाउन परीक्षण सुरु गरेको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका ९ प्रतापपुरका किसान गोकर्ण ओलीले तराईमै स्याउ फलाएको देखेपछि यो वडाले पपनि आफ्नो क्षेत्रमा स्याउ फलाउने योजना बनाएको हो ।
कैलालीकोे मोहन्याल गाउँपालिका वडा न. ६ ले स्याउ खेती परीक्षण थालेको छ । यसका लागि वडाले पाँच सय १५ परिवारलाई विरुवा वितरण गरेको छ ।
लखनौ नाईन्टीनाइन जातको स्याउ प्रति विरुवा चार सय पाँच रुपैयाँका दरले पाँच सय १५ बिरुवा वडा कार्यालयले २ लाख ६० हजारमा खरिद गरि किसानलाई निःशुल्क बितरण गरेको हो । निःशुल्क स्याउका बिरुवा पाए पछी यहाँका किसान खुसी भएका छन् । यो परिक्षण सफल भए आफूहरुको दैनिकी फेरिनेमा उनीहरु आशावादी छन् ।
मोहन्याल गाउँपालिका वडा न.६ कर्णाली नदीको किनारमा पर्दछ । यहाँको हावा पानी तराइको हावा पानी मिल्दो जुल्दो छ । त्यसैले तराईको जस्तै गर्मी हुन्छ । प्रारम्भिक परिक्षणका लागि एक घर एक स्याउँको विरुवा अभियान सुरु गरेको वडा कार्यालयले जनाएको छ ।
यो वर्ष लखनउ नाइन्टीनाइन (९९) जातका स्याउको विरुवा वितरण गरिएकोमा अर्को बर्ष ताईवानी जातका अम्बाका विरुवा परीक्षणका लागि वितरण गर्ने वडाको तयारी छ । मोहन्याल गाउँपालिकाको अधिकांस क्षेत्र कान्छो पहाडले परिचित चुरे क्षेत्र हो ।
यो क्षेत्र जैविक विविधतामा निक्कै धनी छ । तरकारी, फलफूल, दलहन खेती, अदुवा, हल्दी, चिया, कफी खेती, विभिन्न अन्नवाली, मौरीपालन, पशुपालन आदीमा राम्रो सम्भावना यो क्षेत्रमा छ । तर अहिलेसम्म सिंचाई सुविधा तथा सडक सञ्जाल नजोडीएको कारण यहाँको उत्पादनले बजार पाउन सकेका छैनन् । यो क्षेत्रमा बाह्रै महिना चल्ने सडक सञ्जाल बिस्तारको लागी समेत जनप्रतिनिधीहरुले पहल गर्नुपर्ने आवश्यक छ ।