News 24 Television
चन्द्रागिरीमा राजकुलो मिचिदाँ ढल घर–घरमा

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका ११ र १२ नम्बर वडाको सिमानामा पर्ने सुगम बस्ती भित्र दिशा पिसाब सहितको ढलको पानी घर भित्र पस्दा त्यसले महामारीको जोखिम बढाएको छ । यस बिषयमा स्थानीयहरुले नगरपालिकालाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले कुनै चासो देखाएको छैन । 

विगतमा रहेको यहाँको राजकुलोमा अहिले ढलको पानी बग्छ । वरपरका घरहरुमा बस्ने मानिसहरुले दिशा, पिसाब गरेको, भाँडा माझ्ने, कपडा धुने र नुहाउन प्रयोग गरिएका सबै पानी त्यहि ढलमा आएर मिसिन्छ । सुगम बस्तीभन्दा माथि राजकुलो रहे पनि अहिले सुगम बस्तीमा भने राजकुलो मासेर केहि स्थानीयहरुले संरचना ठडाएका छन् । १०, १५ बर्ष अगाडि नै यसरी सार्वजनिक जग्गा राजकुलो मिचेर उनीहरुले संरचना ठड्याएका थिए । 

त्यसपछि स्थानीयहरुले राजकुलो मिचेर संरचना ठडिएको र ढलबाट आएको पानी व्यक्तिको जग्गा हुँदै बग्ने गरेको भन्दै यो समस्याको समाधान गरिदिन नगरपालिकामा हारगुहार गरेका थिए । तर नगरपालिकाले अहिलेसम्म पनि समस्या समाधानका लागि कुनै पहल गरेन । यता व्यक्तिगत जग्गा भएर ढल बगेको भन्दै उक्त जग्गाका धनीले पर्खाल लगाई दिए । 

     त्यसपछि अहिले ढलको पानी बस्तीको बी भागमा रहेको अर्काे व्यक्तिको जग्गामा पोखरी बनेर बसेको छ । करीब २ महिनादेखि ढलको पानी बस्तीको बीच भागमा पोखरी बनेर बस्दा पनि नगरपालिकाले त्यसको समस्या समाधानका लागि कुनै चासो नदेखाएको स्थानीयहरुको आरोप छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update