
कास्की । २४ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा नेपाल पुलिस क्लब र उज्बेकिस्तानको ब्ल्याक बुल्स भिड्ने भएका छन् ।
पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा ललितपुरे क्लब थ्रीस्टारलाई ४–० गोलको फराकिलो गोल अन्तरले पराजित गर्दै उज्बेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा प्रवेश गरेको हो । उपाधिका लागि उज्बेकिस्तान क्लबले शनिबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
कास्कीको पोखरामा जारी २४ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि नेपाल पुलिस क्लव र उज्बेकिस्तानको ब्ल्याक बुल्स भिड्ने भएका छन् । पोखरामा विहीबार भएको दोस्रो सेमिफाइनलको खेलमा ब्ल्याक बुल्सले थ्रीस्टार क्लवलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
पुलिस क्लब भने बुधबार भएको पहिलो खेलमा नै चर्च ब्वाईज युनाइटेडलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । अब ब्ल्याक बुल्सले शनिबार फाइनलमा क्याराभानसहित ६ पल्टको विजेता पुलिसको सामना गर्नेछ । पाँचपटकका च्याम्पियन थ्री स्टार क्लबले भने आहारारा गोल्डकप २४ औं संस्करणको सेमिफाइनलबाट आफ्नो यात्रा टुंगाएको छ ।
फितलो प्रदर्शन गरेको थ्री स्टारले मौकाको सदुपयोग भने गर्न सकेन । खेल कमजोर नभएको तर योजना अनुसार जान नसक्दा हार बेहोर्नु परेको थ्री स्टार फुटबल क्लबका प्रशिक्षक गणेश खड्काले प्रतिक्रिया दिएका छन् ।
पहिलो हाफमा १–० गोलअन्तरले अग्रता कायम गरेको पाहुना टोली ब्ल्याक बुल्सले दोस्रो हाफमा थप ३ गोल गर्दै जारी संस्करणमा सर्वाधिक गोलअन्तरको रेकर्ड पनि राख्न सक्यो । थ्रीस्टारलाई सुरुवातबाटै दबाबमा राखेको ब्ल्याक बुल्सले २५औं मिनेटमा कुभोनचबेक ओलिमोभको गोलबाट अग्रता बनायो ।
त्यसपछि ५८औं मिनेटमा असिलबेक ओरिफजोनोभले, ६३औं मिनेटमा सात्तोरोभले र ८७औं मिनेटमा वैकल्पिक खेलाडी साइदजमोद दाभलातजोनोभले गोल गरेपछि उज्बेकिस्तान क्लब ब्ल्याक बुल्स ४–० को जित निकाल्न सफल भयो । खेलाडीको उत्कृष्ट प्रदर्शन र मुभमेन्ट समात्न सक्दा सहज जित निकाल्न सकिएको ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिज निशोन्बाएभ बताउँछन् ।
अहिलेसम्म आहा रारा पोखरा गोल्ड कपमा नेपाल पुलिस र मनाङ मस्र्याङ्दी क्लबले सर्वाधिक समान ६ पटक, थ्री स्टार क्लबले ५ पटक र संकटा क्लब दुई च्याम्पियन भइसकेको छ ।
आयोजक सहारा क्लब, अफ्रिकन युनाइटेड, एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब समान १ पटक च्याम्पियन बनिसकेका छन् । २४औं संस्करणको यो प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त प्राप्त गर्नेछन् ।
शनिबार हुने उपाधि भिडन्तमा नेपाल पुलिसले उपाधि उचाले सातौं पटक च्याम्पियन बन्नेछ भने ब्ल्याक बुल्सले जिते आहा रारा पोखरा गोल्डकपले नयाँ च्याम्पियन पाउनेछ ।