
सर्लाही । सर्लाहीमा सर्वसाधारणलाई राष्ट्रिय परिचय पत्र बनाउन सकस बेहोर्नु परिरहेको छ । अत्याधिक भिडका कारण मात्र १० देखि १५ मिनेटको कामको लागि जिल्लाका दुरदराजबाट आएका सेवाग्राहीलाई ३ देखि ५ दिनसम्मको टोकन मात्र दिएर फर्काउने गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीको राष्ट्रिय परिचयपत्र शाखामा सिमित जनशक्ति भएका कारण पनि सेवाग्राहीलाई समस्या भएको हो । एक रिपोर्ट ।
यस कार्यालयमा दैनिक हजारौँको संख्यामा आउने सेवाग्राहीमध्ये धेरैजसो राष्ट्रिय परिचयपत्र बनाउने हुन्छन् । बैंकमा नयाँ खाता खोल्न र केवाईसी फर्म भर्न समेत राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा राष्टिय परिचय पत्र बनाउनेको भिड बढेको छ । तर १० मिनेटमा हुने कामको लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनावश्यक दुःख दिने गरेको सेवाग्राहीको गुनासो छ । १० देखि १५ मिनेटको कामको लागि जिल्लाका दुरदराजबाट आएका सेवाग्राहीलाई ३ देखि ५ दिनसम्मको टोकन मात्र दिएर फर्काउने गरिएको छ ।
विगतमा वडा र नगरपालिका स्तरमै राष्ट्रिय परिचय पत्र बनाउने काम थालिएको थियो । तर त्यहाँ अफलाइन काम मात्र भएको कारण उक्त डाटालाई अनलाइन गर्दा कतिपय डाटा नै नरहने र भएको डाटामा पनि राष्ट्रिय परिचय पत्रको नम्बर इंगित गर्न पुनः जिल्ला प्रशासन कार्यालय नै धाउनपर्ने बाध्यता छ ।
उता जिल्ला प्रशासन कार्यालय सर्लाहीले भने पछिल्लो समय बैंकले पनि खाता खोल्न राष्ट्रिय परिचय पत्र माग्न थालेपछि भिड बढेको बताएको छ । अशक्त र अपाङ्ग सेवाग्राहीलाई तुरुन्त सेवा प्रवाह गर्नुपरेको कारण सर्वसाधारणलाई भिडका कारण एक दुई दिनको समय दिने गरेको जिल्ला प्रशासन कार्यालयको स्वीकारोक्ति छ ।
अत्याधिक भिड र त्यसमाथि जिप्रका राष्ट्रिय परिचयपत्र शाखामा सिमित जनशक्तिका कारण पनि सेवाग्राहीलाई समस्या खेप्नु परेको हो । राष्ट्रिय परिचयपत्र बनाउँदा स्वयंले फोटो खिचाउनुपर्ने, बायोमेट्रिक गर्नुपर्ने बाध्यताले ज्येष्ठ नागरिक, अशक्त ब्यक्तिहरु अझ बढी मारमा परेका छन् । राष्ट्रिय परिचयपत्र बनाउनेको भिडभाडलाई मध्यनजर गरेर नियमितभन्दा अतिरिक्त समय थप गरेरै भए पनि सेवाग्राहीलाई सहज बनाउन जरुरी छ ।