News 24 Television
सर्त बुझेर मात्रै क्रेडिट कार्ड प्रयोग गरौँ

काठमाडौं । क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या पछिल्लो समय बढ्दै गएको छ । अहिले खर्च गर्ने र पछि तिर्न पाइने सुविधाका कारण क्रेडिट कार्डको प्रयोगमा मानिसहरुको आकर्षण बढ्दै गएको छ । तर, कतिपय अवस्थामा कार्ड प्रयोग गर्ने सर्तहरु थाहा नहुँदा धेरैले ठूलो नोक्सानी ब्यहोर्नु परेको छ । 

तपाईं क्रेडिट कार्ड प्रयोग गर्दै हुनुहुन्छ भने यसका सर्त बुझेर मात्र प्रयोग गर्नुहोस् । क्रेडिट कार्डमा भएको पैसा प्रयोग गर्न जति सजिलो छ,  यदि त्यसको भुक्तानीको प्रक्रिया बुझिएन भने त्यतिकै महँगो पनि पर्न सक्छ । 

क्रेडिट कार्डको प्रयोगबारे राम्रो जानकारी नहुँदा धेरै पैसा बैंकलाई बुझाउनुपर्ने अवस्था आउन सक्छ । नेपालमा क्रेडिट कार्ड ‘क’ वर्गका वाणिज्य बैंक तथा राष्ट्रि स्तरका ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो । 

क्रेडिट कार्डको प्रयोग गरी रकम भुक्तानी गर्दा तोकिएको समय सीमासम्म कुनै ब्याज लाग्दैन । तर तोकिएको मितिमा भुक्तानी नभएमा उच्च दरको ब्याज लाग्छ । त्यसैले यस्तो कार्ड जारी गर्दा क्रेडिट सीमा, कारोबारको बिल प्राप्त हुने मिति र माध्यम, भुक्तानी गर्नुपर्ने समायवधि, सो अवधिभित्र भुक्तानी नगरेमा लागू हुने ब्याजदर आदिका बारेमा बुझिएन भने क्रेडिट कार्डको प्रयोगबाट फाइदा भन्दा नोक्सानी धेरै हुन सक्छ ।

क्रेडिट कार्ड प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरुः 

१. क्रेडिट कार्ड लिनु अघि आफ्नो क्रेडिट सीमा कति हो र त्यसमा लाग्ने शुल्कहरु के के हुन् भन्ने कुरा राम्रोसँग बुझ्नुपर्छ । 

२. क्रेडिट कार्डको ब्याज दर कति छ भन्ने कुरा पनि थाहा पाउनु जरुरी छ । समयमै बिल भुक्तानी गर्न नसकेमा उच्च ब्याज तिर्नुपर्ने हुन सक्छ ।

३. क्रेडिट कार्डको बिल तिर्ने अवधि कति छ भन्ने कुरा ख्याल गर्नुपर्छ । समयमै बिल भुक्तानी नगरेमा जरिवाना लाग्न सक्छ र क्रेडिट स्कोर पनि घट्न सक्छ ।

४. क्रेडिट कार्डको पिन नम्बर र अन्य गोप्य जानकारी सुरक्षित राख्नुपर्छ । कार्ड हराएमा वा चोरी भएमा तुरुन्तै बैंकलाई खबर गर्नुपर्छ ।

५. क्रेडिट कार्डलाई आवश्यक परेको बेला मात्र प्रयोग गर्नुपर्छ । अनावश्यक खर्च गरेर ऋणमा फस्नबाट बच्नुपर्छ ।

त्यसैले बैंकहरुले पनि यसबारे राम्रो जानकारी नदिई ग्राहकसँग सम्झौता गर्नु हुँदैन । ग्राहकले पनि राम्रोसँग बुझेर मात्र क्रेडिट कार्डको प्रयोगका लागि सम्झौता गर्नुपर्छ । क्रेडिट कार्डको सीमा, शुल्क, ब्याजदर, भुक्तानी मितिलगायतका सर्तबारे प्रष्ट रुपमा बुझेर मात्र आफूलाई उपयुक्त हुने किसिमको कार्ड सम्बन्धित संस्थाबाट माग्नुपर्छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update