
काठमाडौं । रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गत रहेको रिलायन्स इन्टरनेशनल एकेडेमी, चाबहिलले विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव गर्ने भएकाे छ । 'REN Science Fair Ft. Literature Fest.-2025 (4th Season) नाममा उक्त कार्यक्रमहरू आयोजना गर्न लागेको हाे ।
फागुन १ देखि ३ गते (फेब्रुअरी १३-१५, २०२५) सम्म सञ्चालन हुने विज्ञान प्रदर्शनीमा विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा साहित्यका विविध गतिविधिहरू समेटिने छन् ।
५ हजार विद्यार्थी लाभान्वित हुने अपेक्षा
उक्त विज्ञान प्रदर्शनीमार्फत करिब ५ हजार विद्यार्थीहरू लाभान्वित हुने आयोजकको अपेक्षा छ । विज्ञान, सूचना प्रविधि, कला, साहित्य र अनुसन्धानमा रुचि राख्ने विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइ उपलब्ध गराउनु यसको प्रमुख उद्देश्य हो ।
प्रदर्शनीमा ४९ स्टलहरू रहनेछन्, जसमा विज्ञान र सूचना प्रविधिसम्बन्धी खोज, अनुसन्धान तथा नवीनतम प्रविधिहरू समेटिएका हुनेछन्। अन्य विद्यालयस्तरीय विज्ञान प्रदर्शनीहरूका साथै Art Painting, HM Stall, Face Painting, Food Stall, Book Stall जस्ता अतिरिक्त गतिविधिहरू पनि रहनेछन्।
रिलायन्स एकेडेमी तथा रिलायन्स एजुकेशन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्रजंग थापाले विद्यार्थीहरुलाई विज्ञान–प्रविधि तथा सीपमूलक विषयमा ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त प्रर्दशनी गर्न लागेको बताए । पत्रकार सम्मेलनमा अध्यक्ष थापाले युवाहरुलाई देशभित्रै काम गर्ने वातावरण निर्माण गर्न प्रर्दशनी सहयोगी हुन सक्ने धारणा राखे । सो क्रममा एकेडेमीका विज्ञान संकाय संयोवक यादव पाण्डेले आजको युगमा विज्ञानको महत्व दर्शाउन विज्ञान प्रर्दशनीको आयोजना गरेको बताए ।
प्रदर्शनीमा कस्तूरी मृगको संरक्षण र दिगो व्यवस्थापन, तितलीहरूको संसार (फोटो ग्यालरी र स्लाइड प्रस्तुति), स्मार्ट सिटी : सौर्य तथा वायु ऊर्जा उपयोग गरेर थ्रीडी मोडल निर्माण, आपतकालीन प्रतिक्रिया प्रणाली, ज्वालामुखी विस्फोटको प्रस्तुति र यसको प्रभावहरू, स्मार्ट सिंचाइ प्रणालीको प्रदर्शन तथा रजस्वला चक्रको वैज्ञानिक व्याख्या लगायत प्रमुख आकर्षणहरू रहने बताइएकाे छ ।
साहित्यिक अन्तरक्रिया तथा विशेष कार्यक्रम
कार्यक्रममा ख्यातिप्राप्त उपन्यासकार अमर न्यौपाने र उद्धव प्याकुरेलसँग विशेष अन्तरक्रिया समेत हुनेछ । समापन समारोहअघि Reliance Singing Idol 5th Season को Grand Finale समेत आयोजना गरिने जनाइएकाे छ ।
नेपालका प्रतिष्ठित वैज्ञानिक, साहित्यकार, शिक्षाविद् तथा विद्यार्थीहरूको उपस्थितिमा यो प्रदर्शनी भव्य रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ । कार्यक्रम निःशुल्क प्रवेशयोग्य रहने आयोजककाे भनाइ छ ।