News 24 Television
खाताबाट काटिएको पैसा कसरी फिर्ता हुन्छ ?  

काठमाडौं । कहिलेकाहीँ डिजिटल वित्तीय कारोबार गर्दा भुक्तानी हुनुपर्ने ठाउँमा पैसा नपुग्ने तर तपाइको खातामा पैसा काट्ने समस्या देखिन सक्छ । यस्तो बेला पनि तपाईंको पैसा फिर्ता हुने व्यवस्था छ । तर त्यसका लागि केही समय भने लाग्छ ।

डिजिटल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ, एटीएम लगायतका विद्युतीय भुक्तानीका माध्यमबाट भुक्तानी गर्दा वा रकमान्तर गर्दा कारोबार सफल नभएपनि कहिलेकाहीँ खाताबाट पैसा घट्न सक्छ । तपाईलाई पनि यस्तो समस्या आउन सक्छ । तर यो पैसा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले खातामा फिर्ता गर्नुपर्छ । तर त्यसका लागि केही समय भने लाग्छ ।

कति दिन भित्र फिर्ता हुन्छ ?

१. विद्युतीय भुक्तानीका माध्यमहरु जारी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था एउटै भएमा कारोबार पछिको एक दिन (टी +वान) भित्र पैसा फिर्ता हुन्छ । 

२. विद्युतीय भुक्तानीका माध्यमहरु जारी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था फरक फरक भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको ३ दिन (टी + थ्री) दिन भित्र पैसा फिर्ता हुन्छ । 

३. विद्युतीय भुक्तानीका मध्यमहरु जारी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था फरक फरक भई कुनै एक विदेशी संस्था भएमा कारोबार भएपछिको ३० दिन (टी +थर्टी ) भित्र पैसा फिर्ता हुन्छ । 

राष्ट्र बैंकले तोकेको समयभित्र हिसाब मिलाउने दायित्व उपकरण जारी गर्ने र प्रयोग हुने दुवै संस्थाको हुन्छ । खाताबाट पैसा काटेको तर भुक्तानी हुन नसकेको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी कहिलेसम्म फिर्ता हुन सक्छ जानकारी लिन सकिन्छ । 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update