
रौतहट । पूर्वपश्चिम राजमार्ग नेपालकै लाइफलाइन मानिन्छ । यो राजमार्ग हुँदै दैनिक हजारौं संख्यामा सवारी साधनहरु चल्ने गरेका छन् । यसै राजमार्ग अन्र्तगत रौतहट र सर्लाही जोड्ने बागमती पुल भासिएर डाइभर्सन गरि यातायात सञ्चालन गरिँदै आएको छ । जसले गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यवस्त बनेको छ ।
बागमती पुलको पुलको पूर्वतर्फ ४ र ५ नम्बरको स्परमाथि जडान गरिएको बिम झण्डै ८ सेन्टिमिटर तलतिर भाँसिएको छ । माघ १४ गते सो पुलमा बिम (गिर्डर) चर्किएर समस्या उत्पन्न भएको थियो । पुलमा समस्या देखिएपछि पुल महाशाखा र सडक डिभिजन कार्यालय रौतहटले पुलको अनुगमन गरेर मर्मतको कार्य सुरु गरेको हो ।
पुल मर्मतको काम भइरहेकाले पुलबाट रौतहट तर्फको करिब ३ सय मिटर अगाडिबाट गाउँको साँघुरो बाटो हुँदै बागमती नदी माथिबाट सर्लाहीतर्फ पुलको मुख नजिकै निस्कने ड्राइभर्सनको व्यवस्था मिलाइएको छ । ठुला सवारी साधन र ड्राइभर्सनको बाटो साँघुरा भएकाले ट्राफिक व्यवस्थापनमा निकै चुनौति भोग्नुपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
ठुला सवारी साधनहरु साँघुरो ग्रामीण वस्तीबाट सञ्चालन गरिँदा स्थानीयले धुलो धुवाँको सास्ती भोग्नु परेको छ । ठूला परिमाणका गाडी सञ्चालन हुँदा घरहरु कमजोर बनेका छन् । पुल मर्मतको काम पनि जारी नै रहेको छ । पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको कङ्क्रिट हालेर ढलान गरिने निर्माण कम्पनीले जनाएको छ ।
पुलको मर्मतको लागि ड्राइभर्सनसहित करिब ६० लाख लागत लाग्ने सडक डिभिजन कार्यालय रौतहटको प्रारम्भिक अनुमान रहेको छ । माघ २६ गते ड्राइर्भसन बनाएर २८ गते देखी पुल मर्मतको काम भईरहेको र फागुण २ गते भित्र पुल संचालनमा ल्याउने गरी काम भइरहेको सडक डिभिजन कार्यालय रौतहटले जनाएको छ ।
सोभियत संघको सहयोगमा बागमती नदीमा निमार्ण गरिएको करिब ५५ वर्ष पुरानो सो पुल जीर्ण भइसकेको छ । सो पुल दुई लेनको भएपनि निकैं साँघुरो भएकाले एकपटकमा एकतर्फी मात्रै ठुला सवारी साधनहरु चल्ने गरेको थियो । पुल जिर्ण र भार थेग्न नसक्ने भएकाले नयाँ पुल निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।
राजमार्गका पुलका पल्ट गार्डरहरु लामो समयसम्म मर्मत नहुदा खिया लागेर जीर्ण बनेका छन् । पुलहरु धेरै पुराना भएकाले पुलमा प्रयोग गरिएका फलामहरु खिया लागेर भाच्चिने , धस्सिने लगायतका समस्याहरु आइरहने गरेका छन् । जिर्ण बनेको पुललाई मर्मतका भरमा सञ्चालन गरिँदा दुर्घटनाको जोखिम कायमै देखिन्छ ।