
कास्की । केही दिनयता फोहर नउठेपछि पर्यटकीय राजधानी पोखरा प्रदुषित बनेको छ । स्थानीयले फोहोर फाल्न रोकेपछि पोखरा महानगरमा ५ दिनदेखि फोहोर उठेको छैन ।
६ महिनाको अस्थायी समाधान भन्दै बाच्छेबुडुवाबाट लामेआहाल सारिएको ल्याण्डफिल साइटमा साढे २ वर्षसम्म पनि महागनरले फोहोर फाल्न नछाडेको भन्दै स्थानीयले अवरोध गरेका हुन् । जसको कारण फोहोर व्यवस्थापनमा पुनः समस्या बल्झिएको छ ।
गण्डकीको प्रदेश राजधानी पोखरा महानगरपालिकामा फोहोर व्यवस्थापनको समस्या बल्झिएपछि दुर्गन्धित बनेको छ । विगत ५ दिनदेखि पोखराको फोहोर अहिले सडकमै असरल्ल छ । महानगरका फोहोर बोक्ने गाडीहरू फोहोरले भरिएर थन्किएका छन् ।
लामे आहालमा फोहोर फाल्नका लागि भएको दोस्रो सम्झौता माघ २३ देखि सकिएको भन्दै स्थानीयले फोहोर फाल्न रोकेका हुन् । फोहोर व्यवस्थापन उचित तवरले नहुँदा दुर्गन्ध फैलिएको, सडक कच्ची हुँदा हिलो र धुलोले सास्ती दिएको भन्दै स्थानीयले पटक पटक फोहोर फाल्न अवरोध गर्दै आएका छन् ।
प्रभावित बासिन्दाहरूले सम्झौता अन्त्य भएको र महानगरपालिकाले गुनासो सम्बोधन नगरेको भन्दै पाँच दिनदेखि फोहोर फाल्न अवरोध गरेका हुन् । स्थानीय राजनीतिक दलहरु पनि त्यहाँ फोहोर विसर्जन गर्न दिने पक्षमा छैनन् ।
स्थायी ल्याडफिल साइट निर्माण नहुँदा महानगरले वडा नम्बर ३२ लामेआहालमा अस्थायी रुपमा फोहोरमैला व्यवस्थापन गर्दै आएको थियो । पोखरामा दैनिक एक सय टन जति फोहोर संकलन हुन्छ । महानगरले सन् २०२३ जनवरीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लामेआहालस्थित सेती नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको हो ।
पोखरा महानगरमा अहिले ६ वटा कम्पनीले फोहोर व्यवस्थापन गर्दै आएका छन् । २०७९ फागुन महिनामा अन्तिम पटक सम्झौता गरेका ती कम्पनीहरुसँग आगामी दुई वर्षको राजस्वसमेत प्रक्षेपण गरी शुल्क बुझाएका छन् ।
पोखरा महानगरले वडा नम्बर ३३ को पुँडिटार क्षेत्रमा रहेको झाँक्रीखोला र देव्रेखोला क्षेत्रमा ल्याण्डफिल साइट बनाउने निर्णय गरिसकेको छ । तर ल्याण्डफिल साइट नभई अहिलेसम्म फोहोर प्रशोधन केन्द्र बनाउने योजना पनि अघि बढ्न सकेको छैन ।
केन्द्र निर्माणका लागि ग्लोबल टेन्डर गरी त्यसमा टेन्डर गर्ने पाँच कम्पनीमध्ये ३ कम्पनी छानिएका थिए । लामेआहालमा आरम्भमा ६ महिनाका लागि फोहोर व्यवस्थापन गर्ने सहमति भएको थियो । सहमति भएको पनि दुई वर्ष भइसकेको छ ।
महानगरले सार्वजनिक निजी साझेदारी (सानिसा) मोडेलमा प्रशोधन केन्द्र बनाउने योजना भए पनि जग्गा प्राप्ति नहुँदा काम रोकिएको छ । झाक्रीखोला, देब्रेखोला क्षेत्रमा व्यक्तिको ९६ रोपनी र बाँकी सार्वजनिक जग्गामा केन्द्र बनाउने योजना थियो । योजना अनुरुप काम नहुँदा पोखरामा पटक पटक फोहोर ब्यवस्थापनमा समस्या बल्झिने गरेको छ ।