![भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपाको निर्णय](https://www.news24nepal.com/uploads/posts/upendra-yadav-1715578313.jpg)
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले सरकारद्वारा संसदमा पेश गरिएको भूमिसम्बन्धी अध्यादेशलाई अस्वीकार गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको जसपाको संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैतिर भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो ।
सरकारले राष्ट्रिय सभामा ६ वटा अध्यादेशहरु पारित गर्नका लागि उपेन्द्र यादव नेतृत्वको उक्त पार्टीसँग समर्थन मागिरहेको बेला जसपाले एक अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो । यद्यपि अन्य ५ वटा अध्यादेशहरुमा समर्थन जनाउन आफू सकारात्मक रहेको जसपाले जनाएको छ ।
सरकारले संसद् अधिवेशन पर धकेलेर विभिन्न २९ वटा कानुनमा संशोधन गर्नेगरी ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेशहरु पारित गर्नका लागि हाल संसदका दुवै सदनमा दर्ता गरिएको छ । प्रतिनिधि सभामा सत्तापक्षको स्पष्ट बहुमत रहे पनि राष्ट्रिय सभामा भने जसपाले समर्थन गरेमा मात्र बहुमत पुग्ने देखिन्छ ।