![पाथीभरा केबलकार विवादमा नयाँ ट्वीस्ट, आन्दोलनमा क-कसकाे घुसपैठ ?](https://www.news24nepal.com/uploads/posts/Cablecar_Ra_Rajniti-1739256377.jpg)
काठमाडौँ । ताप्लेजुङको चर्चित धार्मिक स्थल पाथीभरामा केबलकार निर्माणको विवाद लम्बिदै गएको छ । पाथीभरामा केबलकार बनाउने वा नबनाउने ? यो बहसले नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल विवादमा तानिदै गएका छन भने केबलकार निर्माण राजनीतिकरणको विषय बन्न पुगेको छ ।
देशका विभिन्न क्षेत्रमा केबलकार निर्माण गरिरहेको आइएमई ग्रुपले पाथीभरामा पनि केबलकार निर्माणका लागि रुख कटानदेखि साइट क्लिरेन्सका काम गरिसकेको बताइन्छ । केबलकार निर्माण गर्ने वा नगर्ने भन्ने विवादमा पछिल्लो समय राजनीति चल्न थालेपछि यो विषय थप विवादीत बन्न पुगेको छ । तर, नेपाल उद्योग बाणिज्य महांघका अध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल भने केबलकारले विकास समृद्धिको ढोका खोल्ने भन्दै विरोध गर्नेहरु ताप्लेजुङका नभएकोदेखि विदेशमा रहेकाहरु भएको आरोप लगाइरहेका छन् ।
ढकालले यस्तो आरोप लगाउदै गर्दा कांग्रेस एमाले पनि केबलकार निर्माणको पक्षमै देखिन्छन् । ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित योगेश भट्टराईले पत्रकार सम्मेलन गरेरै केबलकारको पक्षमा बोलेका थिए ।
यसरी चलिरहेको विवाद संसदमा समेत पुगेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि केबलकार निर्माणको पक्ष विपक्षमा बहस चलिरहेको छ । भने राष्ट्रियसभा सदस्य रेणु चन्दले गम्भीर आरोप लगाउदै एमालेमाथि कटाक्ष गर्दा केबलकारलाई ढकालकारको संज्ञा दिएकी थिइन् ।
माओवादीसहित अन्य दलहरुले समेत केबलकारको विरोध गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी समेत केबलकारको पक्षमा देखिन्न । एकजना व्यापारीको हितका लागि राज्यले निर्णय लाद्ने काम गर्न नहुनेमा राप्रपाको जोड देखिन्छ ।
सत्तामा रहेको एमालेले केबलकारको पक्षमा माहोल निर्माणको काम गरिरहेको छ । यस्तोमा सरकारले गर्ने भनिएका वार्ताहरु समेत जटिलतातर्फ हेलिएका छन् ।
वार्ता निष्कर्षमा कहिले ?
केबलकार निर्माण नगर्ने भन्दै पहिचानवादीहरु सडकमा छन् । पूर्वमा बन्दको घोषणादेखि अनेक कार्यक्रम गरेका उनीहरुमाथि राज्य दमनको श्रृङ्खला समेत देखियो । प्रहरीको गोली लाग्दा केहि घाइते पनि भए । यस्तो स्थितिमा चलिरहेको वार्ता सफल हुन सकेको छैन भने आन्दोलनकारीहरुले फेरि आन्दोलनको घोषणा गरेका छन् । केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन् । केबलकार सम्झौता खारेजीको मागदेखि विभिन्न विषयमा उनीहरुले आन्दोलन गर्ने भनेका छन् । जसमा राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महत्तो समेत सहभागी बनेका छन् ।
राजनीतिकरणको प्रभाव
मधेस केन्द्रित राजनीतिबाट उदाएका महतो पनि पाथीभरामा केबलकार बनाउन हुन्न भन्ने आन्दोलनमा देखिन थालेका छन् । सत्ता पक्षले यसको समर्थन गरेपनि प्रतिपक्षमा रहेका प्रायः दलहरुले केबलकारको विरोध गरिरहेका छन् । केबलकार निर्माणको विषय सत्ता र प्रतिपक्षीको विषय बन्न पुगेको छ भने चन्द्र ढकालले गर्ने भनिएको लगानी समेत अनिश्चिततातर्फ धकेलिएको छ ।
पाथीभरामा केबलकारको आवश्यकता हो होइन भन्ने वैज्ञानिक बहसको सट्टा चलिरहेको राजनीतिकरणले यो विषय थप विवादमा जाने देखिन्छ । भने पहिचानवादी संघ संस्थादेखि दलहरु नै सक्रिय बन्न थापेलछि यो विषय पेचिलो बन्नेमा शंका छैन् । उसोतः पूर्वका धेरै जिल्लामा पहिचानवादीहरुको ठूलो जनमत रहेको आशंकामा राजनीतिक दलहरुले समेत यसलाई मुद्दाको रुपमा अघि बढाएर राजनीतिक शक्ति आर्जनको विषय बनाउन खोजेका छन् ।