
झापा । मोफसलको प्रतिष्ठित एवं लोकप्रिय मानिएको भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणको मिति नजिकिएसँगै तयारी तिब्र पारिएको छ ।
आगामी फागुन ७ गतेदेखि शुरु हुने प्रतियोगिताको लागि अहिले रंगशालाको रंगरोगन तथा प्यारापिट मर्मतको काम भइरहेको छ । करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत, रङरोगन तथा बाँसको अस्थायी प्यारापिट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
यहि रंगशालामा फागुन पहिलो सातादेखि भद्रपुर झापा गोल्डकप प्रतियोगिता शुरु हुँदैछ । फागुन ७ गतेदेखि १६ सम्म सञ्चालन हुने प्रतियोगिताको लागि तयारी तीब्र पारिएको छ ।
प्रतियोगितामा ३ विदेशी क्लव र ५ वटा ए डिभिजनका क्लवहरुले सहभागिता जनाउँदैछन् । दोस्रो संस्करणको झापा गोल्डकपमा विभागीय टिम नेपाल पुलिस र एपिएफ क्लबसहित चर्च ब्वाइज, मछिन्द्र, एनआरटी गरी ५ वटा ए डिभिजन क्लबको सहभागिता रहनेछ ।
यस्तै, भारतको दार्जिलिङ पुलिस फुटबल क्लब, काउवार्न बाजार प्रगति संघ बंगलादेश र ट्रान्सपोर्ट युनाइटेड एफसी गरी तीन विदेशी क्लबको सहभागिता रहने आयोजक आयोजक भद्रपुर ब्लेजर्सले जनाएको छ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको सम्मानस्वरुप ‘गम्भीर राई स्मृति संस्करण’ का रुपमा सञ्चालन गरिँदैछ ।
मोफसलमा सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापाको पुरानो मेची रंगशालालाई चलायमान बनाउँन पनि गोल्डकप आयोजना गर्न लागिएको गोल्डकप आयोजक समितिका महसचिव जीवनकुमार श्रेष्ठ बताउँछन् ।
झापाको खेलकुद क्षेत्रमा एउटा इतिहास बोकेको मेची रंगशालामा अन्तराष्ट्रिय टिमसहितको उच्चस्तरिय गोल्डकप आयोजना हुनु झापाबासीको लागि सुखद् रहेको स्थानीय बताउँछन् ।
यस किसिमका प्रतियोगिताहरुले खेलाडीमा थप खेलकुद प्रति लाग्न हौसला प्रदान गर्ने उनीहरुको विश्वास छ । करिब १८ बर्षभन्दा बढी राष्ट्रिय स्तरको कुनैपनि फुटबल प्रतियोगिता हुन नसकेको मेची रंगशालामा २०७९ साल फागुन ७ गतेदेखि १६ गतेसम्म अन्तराष्ट्रिय स्तरको प्रथम संस्करणको भद्रपुर झापा गोल्ड कप सम्पन्न गरेको थियो । दोस्रो संस्करणको गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।
गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता भरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, उत्कृष्ट गोल किपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछन् भने प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ प्रदान गरिने छ ।