News 24 Television
कोटीहोमका कारण विजय कृष्णमूर्ति र पोखरा महानगर आमने–सामने !

कास्की । गत भदौमा पशुपतिनाथ परिसरमा कोटिहोम गरेर चर्चा र विवादमा आएका विजय कृष्णमुर्ति महाराज फेरी अराजक अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । पोखरामा कोटिहोम गर्ने तयारी स्वरुप रुख काटिएपछि उनी विवादको चुलिमा पुगेका हुन् । 

महानगले कोटीहोमका लागि स्वीकृति नदिने बताएको छ । तर, उनले धर्मका लागि अधर्म गरेर भएपनि पोखरामा कोटीहोम नगरी कुनै हालतमा पनि नफर्कने अड्डी कसेका छन् । 

पोखरामा आइतबार पत्रकार सम्मेलन गरेर आफुलाई धर्मगुरु बताउने विजय कृष्णमुर्तिले पोखरामा कोटीहोम यज्ञ गरेरै छाड्ने अभिव्यक्ति दिएका छन् । कोटीहोमका लागि बर पिपलका रुख कटानपछि विवादका बारे पत्रकार सम्मेलन गरेका उनले पोखरामा कुनैपनि हालतमा कोटीहोम गर्ने र त्यसका लागि अधर्म गर्न पनि तयार रहेको भन्दै चेतावनी दिएका छन् ।  

गेरु वस्त्र र रुद्राक्ष लगायर दर्जनौ पत्रकार र व्यक्तिका अगाडी उनले दिएको अराजक अभिव्यक्तिले कोटिहोम झन् शंकाको घेरा भित्र परेको छ । विजय कृष्णमुर्तिले संचालन गदै आएको मानव सेवा फाउण्डेसनले ‘श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ’ पोखराको लेकसाइड स्थिति क्याम्पिङ चौरमा आयोजना गर्ने तयारीमा छ । 

उनले पोखरामा निर्धारित समयमै महायज्ञ हुने बताउँदै धर्म जोगाउन पनि कोटीहोम आवश्यक भएको प्रतिक्रिया दिए । कोटीहोम आयोजना गर्ने भनिएको क्याम्पिङ चौरको जग्गा नेपाल ट्रष्टको हो । 

ट्रष्टले वैशाख १ गतेदेखि जेठ १५ गतेसम्म विराट ज्ञान महायज्ञ तथा कोटीहोमका लागि जग्गा उपलब्ध गराएपछि फाउण्डेशनले भाडास्वरुप ११ लाख ५९ हजार रुपैयाँ बुझाइसकेको छ भने उक्त रकमको करसमेत तिरिसकेको जनाएको छ । तर, महानगरका मेयर धनराज आचार्यले कोटीहोम गर्न कुनैपनि हालतमा नदिने बताएका छन् । 

मेयर आचार्यले उक्त स्थानमा कोटिहोम रोक्ने निर्णयबाट पछि नहट्ने भने पछि फाउण्डेसन र पोखरा महानगर आमनेसामने भएका छन् । लेकसाईड जस्तो पर्यटकिय क्षेत्रमा व्यापक ध्वनि र बाताबरण प्रदुषण गरेर कोटिहोम गर्न उचित नहुने भन्दै त्यसको अनुमति नदिने बारे कार्यपालिकाको बैठकले निर्णय गरिसकेको मेयर आचार्यको भनाई छ । 

आवश्यक सबै प्रक्रिया पुरा गरी स्थानिय व्यक्ती र संघ संस्थाको अनुमति लिएर अन्य कुनै स्थानमा कोटिहोम संचालन गर्ने भन्दै अनुमति माग्न आए त्यसबारे महानगरले सबै जिम्मेवार पक्षसंग छलफल गरि निर्णय लिने मेयर आचार्यले बताएका छन् ।

महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकले मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्द गर्न पत्र पठाईसकेको छ । 

त्यस्तै पोखराका पर्यटनसंग आवद्ध १६ वटा संघ संस्थाले पनि फेवा तालको किनारमा कोटिहोम नगर्न भन्दै विज्ञप्ती निकालेका छन् । कोटिहोमका लागि भन्दै पोखराका चौताराका वर पिपल काटेर थुपारिएको दाउरा पोखरा महानगरले जफत गरिसकेको छ । 

आयोजकले ५० ट्रकभन्दा बढी दाउरा लेकससाइडमा थुपारेको थियो । यसअघि पनि अनेक विवादमा पर्दै आएका विवादित धर्मगुरु विजय कृष्णमूर्तिको पोखरामा कोटीहोम शुरु नहुँदै बबण्डर मच्चिने देखिएको छ । 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update