News 24 Television
संसदमा अनुपस्थित ओली टीकटकरसँग व्यस्त बन्दा चौतर्फि आलोचना  

काठमाडौं । प्रमुख प्रतिपक्षी दलको नेता बोल्ने दिन प्रधानमन्त्री केपी ओली संसदमा अनुपस्थित रहे । संसदीय प्रणालीमा सामान्यतया प्रधानमन्त्री बोल्दा प्रतिपक्षी दलको नेता र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने चलन छ । तर, प्रतिपक्षी दलको नेता बोल्दा संसदमा अनुपस्थित भएका प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमै टिकटकरसँग गफिएपछि अनेका प्रश्न र आलोचनाले घेरिएका छन् । 

प्रमुख प्रतिपक्षी दलको नेता पुष्पकमल दाहाल ’प्रचण्ड’ले माघ २४ गते संसदमा सम्बोधनको कार्यक्रम तय भएको थियो । अध्यादेशले संकटतर्फ हेलिएको सत्ता समिकरणलाई तनाव भइरहेको बेला प्रतिपक्षी दलको नेताले बोल्ने समयलाई धेरैले चासोमा राख्नु स्वभाविक नै थियो । 

अझं, ओलीले आफ्नो सम्बोधनको दिन प्रचण्डलाई सम्बोधनको पूर्णपाठ दिएको बताइएको थियो । यो हिसाबले पनि ओलीले बोलेको विषयमा प्रचण्ड कसरी पेश हुन्छन् भन्ने चासो स्वभाविक देखिन्थ्यो । तर, त्यहि बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित हुन पुगे । 

प्रधानमन्त्री ओली बालुवाटारमै टिकटकरसँग छलफलमा व्यस्त रहेको स्थितिमा प्रचण्डले संसदमा अनेक आरोप लगाए । त्यसको प्रतिवाद एमालेले गरेपनि ओलीको अनुपस्थितिलाई प्रश्न र चासोको विषय बनाइयो । जुन विषयले अहिले विभिन्न प्रश्नहरु उठिरहेका छन् ।

के भन्छन दलहरु ?

प्रमुख प्रतिपक्षी दलको नेता संसदमा बोल्दा प्रधानमन्त्री उपस्थित हुनैपर्ने कार्यविधि नभएको भन्दै कांग्रेसले पनि प्रधानमन्त्री केपी ओलीको बचाउ गरेको छ । 

संसदको अभ्यास र परम्परा सबैले पालना गर्नुपर्नेमा यस्तो नभएपनि यसलाई अतिरञ्जित बनाउन नहुने राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा देखिन्छ । 

संसदमा प्रतिपक्षी दलको नेताले सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओली स्वास्थ्य अस्वस्थताका कारण अनुपस्थित भएको एमालेको जिकिर छ । 

एमालेले प्रधानमन्त्री ओलीको अनुपस्थितिलाई स्वास्थ्य स्थितिसँग जोड्दै गर्दा माओवादी केन्द्रले भने फरक मत राखिरहेको छ । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई जानकारी दिइएन भन्ने जानकारी पाएको भन्दै आक्रोश पोखिरहेको छ । 
प्रधानमन्त्री ओली प्रमुख प्रतिपक्षी दलका नेताले बोल्दा संसदमा अनुपस्थित भएकाले संसदीय अभ्यासमाथिका प्रश्न बनेका छन् । 

माओवादी केन्द्रले उठाएको प्रश्न सामान्यतया स्वभाविक समेत देखिन्छ । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले समेत संसदमा प्रधानमन्त्री ओलीको खोजि गरेका थिए । उसोतः कांग्रेस सभापति शेरबहादुर देउवा बने ढिला गरि भएपनि उपस्थित बनेका थिए । 

ओली किन आएनन् ?

प्रधानमन्त्री केपी ओलीले बालुवाटारमै दिनभरको समय व्यतित गरेको एमालेको दाबी छ । ओलीको स्वास्थ्य स्थितिसँग एमालेले यस्तो दाबी गरेपनि ओलीले प्रचण्डले संसदमा लगाएका आरोपको जवाफ टिकटकरसँगको भेटपछि पाएको सुझाव भन्दै सामाजिक सञ्जालमा सार्वजनिक अभिव्यक्ति दिए । 

ओलीले प्रचण्डलाई टिकटक बन्द गराएको आरोप लगाउदै आफू नेतृत्वको सरकारले बन्द गराउने नभई नियमन गर्न खोजेको बताए । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मबाट आम्दानी गर्नेदेखि यसका अनेक लोकप्रियता छ्यापछ्याप छन् । सरकारले विधयेकमार्फत सामाजिक सञ्जाललाई नेपालमा अनिवार्य दर्ताको व्यवस्था गर्न खोजेको छ । 

नेपालमा फेसबुक, युट्युब जस्ता ठूला कम्पनीहरुले दर्ताको कुनै चासो देखाएका छैनन् । यस्तोमा दर्ता नभए बन्द हुने स्थिति सिर्जना भएपनि ओलीले नेपालमा दर्ता भइसकेको टिकटकलाई सहारा लिएर प्रचण्डमाथि झटारो हानेका थिए ।

प्रचण्ड नेतृत्वको सरकारले टिकटकले नेपालमा सामाजिक विद्वेष फैलाएको भन्दै बन्द गरेको थियो भने टिकटकले त्यसपछि नै नेपालमा दर्ताको प्रक्रियाका लागि पत्राचार गर्ने गरेको थियो । यस्तो स्थितिमा पनि ओलीले बालुवाटारबाटै सामाजिक सञ्जालबाट जवाफ फर्काउने तर प्रमुख प्रतिपक्षी दलको नेताको सम्बोधनमा सहभागी नहुनुले विभिन्न कोणबाट प्रश्न भने गर्न थालिएका छन् । 

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update