काठमाडौं । संसदको बैठकमा जातीय विभेदको विषय जोडतोडका साथ उठेको छ । पछिल्ला दिनहरुमा चर्चामा रहेको सत्यन्द्र र नेहाबीचको अन्तरजातीय विवाह र सुरक्षा जोखिमको बहस संसदमा प्रवेश गरेको हो ।
विहीबार संसद बैठकमै गृहमन्त्री स्वयंमले यसबारे जवाफ पेश गर्नु परेको हो । अन्तरजातीय विवाहको विषय सरकारकै लागि किन यसरी जटिल बन्यो त ?
नेपालको संविधानले मौलिक हककै रुपमा प्रत्याभुत गरेको अधिकार हो छुवाछुत र विभेदविरुद्धको हक । यो मानव अधिकारको नैसर्गिक पक्ष पनि हो । तर, नेपालमा अहिले पनि अन्तरजातीय विवाहको विषयले खैलाबैला मच्चाउने गरेको छ ।
कतिपय ठाउँमा त अन्तरजातीय विवाह गर्न खोज्दा दंगा हुनेदेखि ज्यानै जाने गरि कुटपिट हुने गरेको छ । पछिल्ला दिनहरुमा फेरि अन्तरजातीय विवाह र यसले निम्त्याएको सुरक्षा जोखिमले माहोल गरम भइरहेको अवस्थामा संसद बैठकमै सरकारले जवाफ पेश गर्नु परेको छ ।
गृहमन्त्री रमेश लेखकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र र नेहाको विवाह प्रशंगलाई लिएर सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनुपरेको हो ।
जवाफ दिने क्रममा मन्त्री लेखकले समाचारमा आएजस्तो गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु सरासर कपोकल्पित र असत्य भएको बताएका छन् ।
अफवाह फैलाइएका समाचार थाहा पाउनेवित्तिकै गृह मन्त्रालयको तर्फबाट धारणा सार्वजनिक गरिसकेको र नेपाल प्रहरीलाई सबै तथ्य सार्वजनिक गर्न निर्देशनअनुसार विवरण सार्वजनिक गरेको गृहमन्त्रीको जिकिर छ ।
घटनाक्रमबारे छानविन गर्न आफु तयार रहेको भन्दै उनले नेहा र सत्येन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति हुने प्रतिबद्धता जनाए । बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा यस घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए ।
सर्लाहीका सत्यन्द्र कुमार राम चमार र नेहा रौनियारमाथि अन्तरजातीय विवाह गरेकै कारण अत्याचार गरेको भनेर आएका समाचारलाई लिएर सांसदहरूले गृहमन्त्रीको जवाफ माग गरेका थिए । यस घटनामा राज्यशक्तिको दुरुपयोग भएको सांसदहरूको आरोप थियो ।
अन्तरजातीय विवाहका विषयमा अहिले चौतर्फी चर्चा र चासो बढेको छ । विभिन्न आयोगहरुका साथै संघसंस्थाहरुले उनीहरुको सुरक्षा चुनौतिबारे गम्भिर बन्न ध्यानाकर्षण समेत गराइरहेका छन् ।
के हो घटनाक्रम ?
सर्लाहीको बरहथवा नगरपालिका– ४ का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा– ५ की नेहा रौनियारले अन्तरजातीय प्रेमविवाह गरेकै कारण ज्यादती गरिएको आरोप पीडित पक्षको छ ।
गृहमन्त्री र उच्च प्रहरी अधिकारीकै संलग्नतामा उनीहरुलाई छुटाउन अनेक प्रायस गरिएको भनिएको छ । २० वर्ष पुग्नु पहिले नै उनीहरु घरबाट भागेर सँगै बसेको भएपनि २० वर्ष पुग्ने वित्तिकै उनीहरुले अदालती विवाह गरे । विवाह दर्ता भइसकेको अवस्थामा सम्बन्ध टुटाउन राज्यशक्तिको दूरुपयोग गरिएको भनि लगातार समाचारहरु बाहिरिरहेका छन् ।
घुम्न मुम्बई पुगेका उनीहरूलाई प्रहरी टोली नै भारत पुगेर पक्राउ गरेको देखि शक्तिको दुरुपयोग गरी सत्येन्द्रविरुद्ध बालविवाहको मुद्दा दायर गरिएको छ । लागुऔषधदेखि मानव बेचबिखनसम्मको मुद्दामा फसाउने भन्दै धम्किआउन थालेपछि उनीहरुले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
त्यस्तै, सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिटसमेत दायर गर्नुप¥यो । सर्वाेच्चले आइतबार रिट जारी गरी नेहालाई सत्येन्द्रकै जिम्मा लगाइसकेको छ ।
यता, मानव अधिकार आयोगले अनुसन्धान गरिरहेको छ । सत्येन्द्रसँग विवाह गरेकी नेहाका बुबा सुरेन्द्र रौनियार व्यापारी हुन् ।
नेहाका बुबाको गृहमन्त्री रमेश लेखकसम्म पहुँच रहेकाले सोही पहुँचको बलमा उनले सम्बन्ध तोड्नका लागि अनेक हथकण्डा अपनाएको पीडित पक्षको आरोप छ ।