News 24 Television
नयाँ दलको साथ लिएर संसद तताउने रणनीति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धन सरकारप्रति निकै आक्रामक बनेका छन् । विहीबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेरि पनि सरकारको आयुको भविष्यवाणी गरेका छन् । 

सरकारले अघि सारेको सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकदेखि थ्रेस होल्डको विषयमा प्रश्न उठाउँदै प्रचण्डले विपक्षी दलहरुको साथ बटुल्न खोजेका छन् । 

संघीय संसदको हिउँदे अधिवेशनको दोस्रो बैठकमा विहीबार विशेष समय लिएर सम्बोधन गरेका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारप्रति निकै आक्रामक रुपमा प्रस्तुत भए । कांग्रेस एमाले गठबन्धन सरकारको भविष्यवाणी गर्दै आएका उनले विहीवार प्रतिनिधिसभाको बैठकमा पनि त्यही कुरा दोहो¥याए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १८ गतेको संसदको हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा ब्यक्त गरेको अभिब्यक्तिको समेत जवाफ फर्काए । 

आफू सरकार ढाल्ने खेलमा नलागेको तर यति समयपछि देउवाजीलाई सरकार छाड्छु भनेर ओलीले नै भन्ने गरेकोतर्फ संकेत गर्दै ओलीले संसदमा ढले ढले गीत गाएको प्रचण्डले स्मरण गराए । 

अहिलेको सरकारमा विचौलिया र स्वार्थ समूह हावी भएको भन्दै प्रचण्डले फेरि जनताको शक्ति लिएर सत्तामा आउने संकेत गरेका छन् । सरकारलाई किनेर पाएको उन्मुक्ति स्थायी नहुनेसमेत उनले चेतावनी दिए । 

विचौलिया र राजनीतिको गठजोड भत्काइ छाड्ने उनको चेतावनी थियो । सत्तारुढ प्रमुख २ दलप्रति निकै आक्रामक रुपमा देखिएका प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीसहितका नयाँ उदाएका दलहरुको भने निकै प्रशंसा गरे । 

रास्वपा,  जनमत पार्टीदेखि नागरिक उन्मुक्ति पार्टीलाई लोकतन्त्रको फूल भनी प्रशंसा गरेका प्रचण्डले कांग्रेस र एमालेले नयाँ दलहरुलाई निमोठ्ने प्रयास गरेको समेत आरोप लगाए । 

उनले प्रतिशोधपूर्ण रास्वपा सभापति रवि लामिछानेलाई देशकै ठूलो सहकारी ठगका रुपमा देशभर दौडाउने गरेकोदेखि सरकारी वकिलको सरुवाको पनि प्रश्न उठाए । मानव तस्करीमा जोडिएको मन्त्रीलाई उन्मुक्ति दिएको पनि प्रचण्डले आरोप लगाउँदै सत्ताको दुरुपयोग भएको दाबी गरे । 

उनले सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै बुहमतको दाबी गर्ने सरकारले अध्यादेशबाट शासन चलाउन खोजेको आरोप पनि लगाए । साथै उनले सरकारले संसदमा दर्ता गराएको सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकको पनि आलोचना गरे ।

उनले यस्तो विधेयक ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमैं नियन्त्रण गर्न खोजेको भन्दै उनले विधेयक आपत्तिजनक रहेको बताए । 

माओवादी अध्यक्ष प्रचण्डले सत्तारुढ दुई दल कांग्रेस र एमालेले संविधान संशोधन गरी थ्रेसहोल्ड बढाउन खोजेको विषयलाई ब्यङग्य गरेका छन् । अहिलेकै पाराले सरकार चलाउँदै गएमा अहिलेकै थ्रेसहोल्ड पनि कांग्रेस–एमालेलाई धेरै हुने प्रचण्डले चेतावनी दिएका छन् । 

विपक्षी गठबन्धनको मोर्चाबन्दीको आभाष

प्रमुख प्रतिपक्षी दल नेकपा माओवाादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदमा विपक्षी दलहरुको मोर्चाबन्दीको आभाष दिलाएका छन् । संसदको अधिवेशन नडाकिएको भन्दै प्रचण्डले रास्वपा, राप्रपा, राष्ट्रिय जनमोर्चा लगायत विभिन्न ८ दलको मोर्चाबन्दी गरेका थिए । 

उनीहरुले संसदको हिउँदे अधिवेशनमा एउटै श्वर भएर सरकारविरुद्ध आवाज उठाउने निर्णय नै गरेका थिए । सरकारको कार्यशैलीको आलोचना गरेका प्रचण्डले सदनका साथै सडक तताउने समेत चेतावनी दिएका छन् । 

विपक्षी दलहरुको प्रतिनिधित्व गर्दै संसद अभिब्यक्ति दिएका प्रचण्डले खास गरी रास्वपा, नागरिक उन्मुक्ति तथा जनमत पार्टीको साथ लिने प्रयास गरेका छन् । 

प्रचण्डले संसदमा गरेको यो सम्बोधनले विपक्षी दलहरु सबैको साथ लिएर संसद तताउने संकेत गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update