News 24 Television
सत्येन्द्रकुमार राम र नेहा रौनियारको प्रेम-विवाहमा हस्तक्षेप गरेका छैनौँ :  गृहमन्त्री

काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले सर्लाहीको बरहथवा नगरपालिकाका सत्येन्द्रकुमार राम (चमार) नेहा रौनियारको अन्तरजातीय विवाहमा राज्यपक्षबाट हस्तक्षेप नभएको स्पष्ट पारेका छन् । 

बिहीवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले राखेका जिज्ञासा र प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले अन्तरजातीय विवाहको सम्बन्धमा गृह मन्त्रालय गम्भीर रहेको बताए । उनले संविधानले प्रत्याभुत गरेको छुवाछुत तथा भेदभावविरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्ने वातावरण निर्माणमा सरकार क्रियाशील रहेको दाबी गरे ।

गृहमन्त्री लेखकले भने, ‘अन्तरजातीय विवाहको सम्बन्धमा म र मेरो मन्त्रालय गम्भिर र अत्यन्तै संवेदनशील रहेको छ । नेपालको संविधानले प्रत्याभुत गरेको छुवाछुत तथा भेदभावविरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्ने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील छ । म अत्यन्त जादा संवेदनशील छु । म कुनैपनि प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा सधैँ रहनेछु र रहेको छु । म आवद्ध रहेको पार्टी नेपाली काँग्रेस जन्मकालदेखि नै जातीय भिवेद र छुवाछुत विरुद्ध रहेको पार्टी हो । म अहिले र जीवनभर प्रतिवद्ध रहेको कुरा निवेदन गर्न चाहन्छु । वैयक्तिक स्वतन्त्रता र मानव अधिकार रक्षाका लागि विद्यार्थी कालदेखि लड्दै आएको म अन्तरराष्ट्रिय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शको अवमूल्यन हो भन्ने मैले ठानेको छु ।’

अन्तरजातीय प्रेमविवाह गरेकै कारण राज्यबाटै चरम अत्याचार भोगिरहेको भन्दै सत्येन्द्रकुमार र नेहा शान्तिपूर्वक बाँच्ने वातावरण मिलाइदिन याचना गरेको भन्दै समाचार सार्वजनिक गरिएका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update