काठमाडौं । पाथीभरामा केवुलकार निर्माणको औपचारिक थालनी भएसँगै स्थानीयले धार्मिक आस्था र पर्यावरणमा नकारात्मक प्रभाव पर्ने भन्दै त्यसको प्रतिवाद गरे । निर्माण कार्य रोक्नकै लागि परिचलित ‘मुकुम्लुङ संरक्षण संघर्ष समिति’का आन्दोलनकारी र प्रहरीबीच भएको भीडन्तमा तीन जना गम्भीर घाइते भएको अवस्था छ ।
यो घटनापछि संगठित रुपमै ‘नो केवुलकार’आन्दोलनको घोषणा गरेका उनीहरुबाट देशव्यापी संघर्षको थालनी भयो । यो पक्षले कोशीको विभिन्न जिल्लाहरुमा बन्दको आह्वान गरेपछि जनजीवन नै कष्टकर बन्यो । मुख्यतः माघ १२ गते प्रहरीको गोली लागेर ‘नो केवलकार’ पक्षका आन्दोलनकारी गम्भीर घाइते भएपछि आन्दोलनले उग्र रुप लियो । यसपछि सरकार वार्ता टोली गठन गर्न बाध्य बन्यो ।
पहिलो वार्ता असफल
आन्दोलनले उग्र रुप लिँदै जाँदा सरकारले माघ २० गते ‘नो केवुलकार’ पक्षधरसँग छलफल गर्न गृहमन्त्रीस्तरको निर्णयबाट मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । यद्यपि आन्दोलनलाई अझ राजधानी केन्द्रीत बनाएका नो केवलकार समूहले २१ गते पनि काठमाडौंमै प्रदर्शन गरे । उक्त कार्यक्रमलाई राजनीतिक दलका नेताहरुलेसमेत समर्थन गरेका थिए ।
स्थानीय लिम्बू समुदायले पाथीरा आर्थत मुुकुम्लुङलाई मुन्धुमी थलोका रुपमा लिँदै आएका छन् भने हिन्दु र बौद्ध धर्मवालम्बीहरुले धार्मिक आस्थाकैे रुपमा लिने गरेका छन् । यही कारण पनि स्थानीयले केवुलकार निर्माणको चर्को विरोध गरेका हुन् । यसपछि सृजित विवादलाई हल गर्न सरकारले वार्ता टोली गठन गरेको हो । तर सहमतिका लागि २१ गते बसेको दुई पक्षीय पहिलो वार्ताले सहमति जुटाउन सकेन ।
२२ गतेको छलफल फलदायी
आन्दोलनकारी पक्षधरले निरन्तर बन्दको आह्वान गर्दै सरकारविरुद्ध प्रदर्शन जारी राखेपछि सरकारी वार्ता टोलीले वार्ता सहजीकरण टोलीसँग २२ गते दोस्रो पटक छलफल गरेकोमा उक्त वार्ता फलदायी भएको छ । सो वार्तामा स्टेसन निर्माण कार्य स्थगन गर्ने र समस्या समाधानका लागि माघ २७ गते विस्तृत छलफल गर्ने लगायतका ६ बुँदे सहमति भएको छ । यो सँगै नो केवलकार पक्षले बन्दका कार्यक्रमहरुसमेत फिर्ता लिएका छन् ।
सहमतिको बुँदामा के–के छन् ?
– पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा मिति २०८१ माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने ।
– सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने ।
– २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने ।
– आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने ।
– मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने ।
– मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार
आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न मिति २०८१ माघ २७ गते बिहान ११ः०० बजे वार्तामा बस्ने ।
मुख्यत यो वार्ता टोली तत्कालको गम्भीर समस्यालाई हल गर्नका बढी केन्द्रीत देखिन्छ । जसले भइरहेको आन्दोलन रोक्न सघाउ पुगेको छ भने घाइतेहरुको उपचारका लागि सरकारलाई उत्तरदायी बनाउन दावाव दिएको छ । तर केवुलकार निर्माण गर्ने वा नगर्ने भन्ने विषयमाथि आउँदो २७ गतेको वार्तामा मात्रै विस्तृत विमर्श हुने छन् ।
वार्ता सहजीकरण समितिले पनि आन्दोलनलाई रोक्नेगरी सरकारी पक्षले आफूहरुसँग गरेको सहमतिलाई सकारात्मक मानेको छ । यद्यपि उक्त पक्ष कुनै हालतमा पाथीभरामा केवुलकार निर्माण गर्न नहुने तर्कबाट भने अझै पछि हटेको छैन ।
यसरी हेर्दा दुवै वार्ता टोली छलफल र सौहार्दतापुर्वक समस्या समाधानतर्फ उन्मुख भएका छन् । तर केवुलकार निर्माणको थालनीसँगै सृजित समस्याको समाधान के ? भन्ने प्रश्न भने अझै जीवितै छन् ।
खासगरी हालको प्रमुख मुद्धा पाथीभरामा केवुलकार बन्ने वा नबन्ने भन्ने नै हो । यद्यपि अझैपनि वार्ता सहजीकरण पक्ष स्थानीयको पहिचान, सम्पदा, पर्यावरण र धार्मिक आस्थामाथि नै आँच पुग्ने भन्दै कुनै हालतमा केवुलकार बन्न नहुने अडानमै देखिन्छ । तर जनप्रतिनिधिहरु र सरकार भने जिल्लाको समग्र विकासका लागि केवुलकार बन्नै पर्ने तर्क गरिरहेका छन् । यो अवस्थामा केवुलकार निर्माण र यसको विपक्षमा उठिरहेको मुद्धालाई कसरी सम्बोधन गर्ने ? भन्ने विषय अझै अन्योलतामै देखिन्छ ।