
काठमाडौं । काठमाडौं उपत्यकामा दैनिक लाखौं सवारीसाधन गुड्ने गर्छन् । सानातिना दर्जनौं दुर्घटना काठमाडौंमा दिनहुँ हुन्छन्, भने सातामा एक–दुई दुर्घटना त ज्यान जाने प्रकृतिकै हुन्छन् । विशेषगरि पैदल यात्रुहरु काठमाडौंका सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । उनीहरुमाथिको जोखिम न्यूनिकरणका लागि काठमाडौं महानगरपालिकाले यात्रु आफैंले चलाउन मिल्ने ट्राफिक लाइट सञ्चालनमा सक्रियता देखाएको छ ।
दैनिक लाखौंको संख्यामा सवारीसाधन आवगमन हुने काठमाडौंका विभिन्न क्षेत्रमा यात्रुका लागि सहज हुने किसिमका ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ । काठमाडौं महानगरपालिकाले विभिन्न ३६ स्थानमा पैदल यात्रु आफैले बटन थिचेर ट्राफिक लाइट बाल्ने र बाटो वारपार गर्ने प्रविधि सञ्चालनमा ल्याएको हो ।
कहाँ–कहाँ छ पैदल यात्रु आफैँले बाल्न मिल्ने लाइट ?
काठमाडौंको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा ल्याइएको छ । बुधवारदेखि पद्मकन्या अगाडिको सडकमा काठमाडौं महानगरपालिकाले पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको हो । पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं महानगरले अहिलेसम्म ३६ ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याइएको छ ।
सडक दुर्घटना न्युनिकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको हो । पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्ने बित्तिकै केही समयका लागि सवारीसाधन रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस गर्न सकिनेछ । यात्रुको सुरक्षालाई मध्यनजर गर्दै महानगरपालिकाले अन्य ठाउँहरु समेत ट्राफिक लाइट बाल्ने प्रविधि शुरु गर्न लागेको छ ।
महानगरको यस कामको प्रशंसा गर्दै काठमाडौंवासीले सडक सुरक्षाका लागि जेब्रा क्रसिङमा ट्राफिक लाइट राखिनु उदाहरणीय काम भएको प्रतिक्रिया दिएका छन् । पद्मकन्या अगाडिको सडकमा महिनैपिच्छे दुर्घटना हुने भएको कारण अब न्युनिकरणको अपेक्षा लिइएको छ ।
पद्मकन्या बहुमुखी क्याम्पसको जनसंख्या अध्ययन विभागकी प्रमुख भगवती सेढाईंले सडक दुर्घटनामा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर उक्त प्रविधि सञ्चालनमा आएको बताउछिन् । सुरक्षाको मापदण्डमा काठमाडौं महानगरले अवलम्वन गरेको यो मापदण्ड सबैभन्दा उत्तम रहेको उनको भनाई छ ।
काठमाडौं महानगरपालकाले सडक सुधार आयोजना अन्तर्गत पेलिकन लाइट जडानको काम गरिरहेको छ । काठमाडौंमा दिनहुँ लाखौं सवारीसाधन गुड्ने गर्छन् । यहाँ सानातिना दर्जनौं दुर्घटना दिनहुँ हुन्छन् ।
मानिसको ज्यानै जाने गरि हरेक हप्ता दुर्घटना भएकै हुन्छ । पैदलयात्रुका लागि काठमाडौंका ठुला सडक जोखिमपूर्ण बन्दै गएको यस समयमा ट्राफिक लाइटले सडक अनुशासन कायम गराउँदै दुर्घटना न्यूनिकरणमा सहयोग पु¥याउने विश्वास लिइएको छ ।