
कास्की । पोखरामा जारी २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्लब विजयी भएको छ । एपीएफ फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै मछिन्द्रले जित हासिल गरेको हो । यद्दपी, समग्रमा दुबै टिमको प्रदर्शन उत्कृष्ट भने देखिएको छैन ।
पोखरामा जारी २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्लबले एपीएफ फुटबल क्लबलाई पराजित गरेको छ । पोखरा रङ्गशालामा बुधबार भएको खेलमा मछिन्द्रले एपीएफलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
मछिन्द्रका लागि आदित्य शाक्य र स्टेफेन कमाहले गोल गरे । खेलको ७४औं मिनेटमा मछिन्द्रका लागि आदित्यले गोल गरे भने, ८१औं मिनेटमा स्टेफनले गोल गरे । मछिन्द्रसँग एपीएफले आफ्नो प्रदर्शन खास राम्रो देखाउन सकेन ।
आफूले पाएको मौका सदुपयोग गर्न नसक्दा एपीएफले हार बेहोर्नु पर्यो । खेलाडीले राम्रै खेले पनि विभिन्न अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको एपिएफका प्रशिक्षक जिबेस पाण्डेले प्रतिक्रिया दिएका छन् ।
यता पहिलो खेलमै जित निकालेको मछिन्द्र फुटबल क्लबको खेल पनि त्यति चित्त बुझ्दो थिएन । पहिलो हाफ ठिकै खेलेको मछिन्द्रले दोस्रो हाफमा आफ्नो रणनीति परिवर्तन गर्दै गोल हान्न सफल भयो ।
प्रतियोगितामा एक करोड ५१ लाख आम्दानी, एक करोड ४२ लाख खर्च र आठ लाख ८० हजार बचत हुने आयोजक सहारा क्लबले जनाएको छ । यसवर्ष प्रतियोगिता विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त प्राप्त गर्नेछन् ।