News 24 Television
कोटी होमका लागि काटिएका वरपिपलका दाउरा जफत, विजयकृष्ण मूर्तिलाई कारबाही गर्न माग 

कास्की । पोखरा महानगरपालिकाले चौताराका बरपिल ठुटो बनाएर काटिएका दाउरा र मुढा जफत गरेको छ । पशुपतिमा विवादित कोटिहोम गरेका विजय कृष्ण मुर्तीले पोखरामा गर्ने भनिएको कोटिहोमका लागि जम्मा गरिएको ५० ट्रक बरपिपलका दाउरा महानगरले बुधबार जफत गरेको हो । 

पोखरा महानगरपालिकाले पोखरामा हुने भनिएको कोटिहोमका लागि चौताराका बरपिपलको रुख जथाभावी काटेर जम्मा गरिएको दाउरा बुधबार जफत गरेको छ । । ५० ट्रकभन्दा बढी दाउरा महानगरले जफत गरेको हो । 

महानगर नगर प्रहरीले पोखराका विभिन्न स्थानबाट चौताराका पुराना रुखहरु अवैध ढंगले काटेर जम्मा गरिएको दाउरालाई नियन्त्रणमा लिएको हो । 

गतवर्ष पशुपतिनाथमा कोटिहोम गरेर विवादमा आएका विजयकृष्ण मुर्ती भनिने विजय भण्डारीको संस्था मानव सेवा फाउन्डेसनले पोखराका विभिन्न ठाउँमा चौताराका रुख काटेर कोटी होम गर्नका लागि अनुमतिबिना दाउरा संकलन गरेको थियो । 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले वातावरणीय प्रभावको कारण देखाउँदै कोटिहोम गर्न नदिने बताइसकेका छन् । धार्मिक अनुष्ठानले लामो समयसम्म ध्वनि प्रदूषण गर्न सक्ने भएकाले महानगरले अनुमति नदिएको हो । महानगरको अनुमतिबेगर मनपरि रुपमा सयौँ वर्ष पुराना चौताराको रुख काटेको हुनाले सबै काठ दाउरा जफत गरेको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाको भनाइ छ ।  

पोखरा महानगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक चौतारीका पुराना वरपीपल लगायत रुखहरू अनाधिकृत रूपमा कटान गरी नेपाल ट्रस्ट लेकसाइडको जग्गामा ति काठदाउराहरु राखिएको थियो । 

ऐतिहासिक चौतारीका रुखहरुहरू मासेर गर्न लागिएको उक्त कोटीहोम राज्यको कुनै पनि निकायबाट अनुमति नलिइएको र नगर क्षेत्रका रुखहरू कटान गर्ने सन्दर्भ समेत महानगरपालिकाबाट अनुमति नलिएको पाइएको छ । 

मानव सेवा फाउन्डेसनले पोखरामा फागुनबाट सुरु गर्ने गरी लेकसाइडको क्याम्पीङ चौरमा कोटिहोम चलाउने भन्दै पोखराका सडक तथा चौताराका रुख काटेको थियो । ऐतिहासिक एवं महत्वपूर्ण चौतारा तथा सडकका रुख ठुटो बनाएपछि महानगरको पनि चर्को आलोचना भइरहेको छ । रुख काट्न संलग्नलाई कारवाही गर्न सरोकारवालाहरुले माग गरेका छन् । 

पर्यटकको चहलपहल हुने लेकसाइड क्षेत्रमा होम गर्दा पर्यटनमै असर पर्ने महानगरको तर्क छ । फेवातालको डिलमा कोटिहोम लगाउने आयोजकको तयारी थियो । पोखराको फेवाताल किनारमा आयोजकहरुले धार्मिक महत्व भएका स्थानहरुको पहिचान गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको दावी गर्ने गरेका छन् । 

महानगरले वातावरणीय प्रभावको कारण देखाउँदै कोटिहोम गर्न नदिने जनाएको छ । पोखराका वडानम्बर ६ लेकसाइड क्षेत्र, वडानम्बर १४, १२ र १३ मा अनधिकृत रुपमा बरपिपलका रुखहरु कटान गरिएको थियो । 

वरपिपल संरक्षण गर्ने उद्देश्य सहित गण्डकी प्रदेश सरकारले बर पिपल ऐन जारी गरेको छ । तर, कार्यान्वय कमजोर हुदाँ पुराना वरपिपल कटान रोकिएको भने छैन । 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update