
काठमाडौं । विश्व राजनीतिमा तरङ्ग पैदा भइरहेको बेला बेलायती राजपरिवारका सदस्यले नेपाल भ्रमण गरिरहेका छन् । राजपरिवारका सदस्यले काठमाडौंका विभिन्न स्थानमा भ्रमण गरिरहेका छन्, भने उनीहरु पोखरा समेत जाने भनिएको छ । कस्तो छ त उनीहरुको पुरा भ्रमण तालिका ?
बेलायती राजपरिवारका सदस्यहरुको नेपाल भ्रमण चलिरहेको छ । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्ड र उनकी श्रीमती डचेस सोफी नेपाल भ्रमणका क्रममा उच्चस्तरिय भेटवार्तादेखि नेपालका विभिन्न स्थानमा घुमघाम गरिरहेका छन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्तामा सक्रिय भएका उनीहरुले जलवायु परिवर्तनदेखि नेपाल बेलायत सम्बन्धका बारेमा चर्चा गरेको बताइएको छ । भेटको क्रममा राष्ट्रपति पौडेलले उनीहरुलाई राष्ट्रपतिको निवास शितल निवासमा स्वागत गरेका थिए भने दुई पक्षीय सम्वाद समेत भएको थियो ।
सम्वादको क्रममा जलवायु परिवर्तनको प्रभावदेखि दुई देशको ऐतिहासिक सम्बन्ध र पारस्परिक हितको विषयमा छलफल भएको बताइन्छ ।
राजकुमारले बेलायती सेनामा नेपालीको भर्ति र उनीहरुको योगदानको प्रसंसा गर्दै दुई देशको सम्बन्धमा यसले समेत थप पुष्टी गर्ने विश्वास व्यक्त गरेको राष्ट्रपति कार्यालयले बताएको थियो ।
नेपाल भ्रमणमा रहेका उनीहरुले विभिन्न क्षेत्रको अवलोकन भ्रमण गरिरहेका छन् । भ्रमणको क्रममा अधिराजकुमारी सोफियाले भक्तपुर अस्पतालको अवलोकन गरिसकेकी छन् । उनले अस्पतालको प्रसूति कक्ष (गाइनो वार्ड) को अवलोकन गर्दै प्रसूति कक्षमा रहेका सुत्केरी र नवजात शिशुको स्वास्थ्य अवस्था, उपचार विधिलगायत विविध पक्षका बारेमा जानकारी लिएकी थिइन् । योसंगै सोफियाले कीर्तिपुरस्थित आँखा अस्पतालको अवलोकन भ्रमण समेत गरेकी छन् ।
विसं २०७४ देखि सेवा सुरुवात गरिएको अस्पतालले बेलायतको विकास साझेदार संस्था ‘रिड्ली आइ फाउण्डेसन’को सहयोगमा नेपालका विकट उच्च पहाडी क्षेत्रमा निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको छ । सोफिया यो संस्थाको सद्भावना दूत समेत हुन् ।
विश्व राजनीतिमा तरङ्ग पैदा भइरहेको बेला नेपाल आएको राजपरिवारका सदस्यले परोपकारी संस्थादेखि अस्पतालमा पुगेर विरामीको अवस्थाबारे जानकारी लिने र जनतासँगको सम्बन्धलाई मजबुत बनाउने गरि खुशी व्यक्त गरिरहेका छन् । राजकुमार एडवार्ड र सोफियाले पोखरा जाने कार्यक्रम समेत तय गरेको बताइएको छ ।