News 24 Television
यात्रु आफैँले ट्राफिक बत्ती बालेर बाटो काट्ने प्रविधि ३६ ठाउँमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक वर्षअघि पैदल यात्रु आफैले ट्राफिक बत्ती बालेर बाटो काट्न सक्ने प्रविधि ‘पेलिकन क्रसिङ’ सञ्चालनमा ल्यायो । पहिलोपटक गत वर्षको मंसिरमा महानगरले १० लाख खर्च गरेर बबरमहलको जिल्ला अदालत अगाडिको सडकमा उक्त प्रविधि जडान गरेको थियो । त्यस अघिदेखि नै काठमाडौँ उपत्याकाका विभिन्न चोकहरूमा ‘अटोमेटिक ट्राफिक बत्ती’ सञ्चालनमा छन् । तर अटोमेटिक बत्ती उति व्यावहारिक नभएको भन्दै काठमाडौँ महानगरले सडक सुधार अभियान अन्तरगत ‘पेलिकन क्रसिङ’ बत्ती विस्तार गरिरहेको छ । करिब एक वर्षको अवधिमा महानगरले ३६ ठाउँमा उक्त प्रविधिका बत्ती जडान गरिसकेको छ । 

बुधबार ३६ औँ स्थानका रुपमा बागबजारस्थित पद्मकन्या क्याम्पसगाडिको सडकमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याइएको छ । पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै महानगरले अहिलेसम्म ३६ ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । उनले सडक दुर्घटना न्युनीकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको बताए । श्रेष्ठका अनुसार पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्नेबित्तिकै केही समयका लागि सवारीसाधन रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस गर्न सकिनेछ । यात्रुको सुरक्षालाई मध्यनजर गर्दै महानगरपालिकाले अन्य ठाउँहरु समेत ट्राफिक बत्ती बाल्ने प्रविधि शुरु गर्न लागेको बताए ।

सडक सुरक्षाका लागि जेब्रा क्रसिङमा ट्राफिक बत्ती राखिनु उदाहरणीय काम भएको भन्दै स्थानीय खुशी भएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसकी विद्यार्थी सन्ध्या बस्नेतले उक्त प्रविधिले सडक दुर्घटना कम हुने विश्वास व्यक्त गरिन् । पद्मकन्या अगाडिको सडकमा महिनैपिच्छे दुर्घटना हुने भएको कारण काठमाडौं महानगरको यस कार्यको प्रशंसा गरिन् । 

पद्मकन्या बहुमुखी क्याम्पसको जनसंख्या अध्ययन विभागकी प्रमुख भगवती सेढाईंले सडक दुर्घटनामा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर उक्त प्रविधि सञ्जालनमा आएको बताइन् । उनले सडक सुरक्षाको मापदण्डमा काठमाडौं महानगरले अवलम्वन गरेको उक्त मापदण्ड सबैभन्दा उत्तम रहेको बताइन् । जेब्रा क्रसिङ गर्नको लागि उक्त प्रविधिले दिने समयबारे केही समयको अभ्यासपछि पुनरावलोकन गर्न सकिने उनको भनाइ छ । 

काठमाडौं महानगरपालकाले सडक सुधार आयोजना अन्तर्गत पेलिकन बत्ती जडानको काम गरिरहेको छ । अटोमेटिक ट्राफिक बत्तीको विकल्पको रुपमा पेलिकन क्रसिङ राख्न थालिएको हो । अटोमेटिक बत्तीले सवारी साधन र पैदलयात्रुको तालमेल मिलाउन नसक्ने हुँदा पैदल यात्रुहरुले आफ्नो आवश्यकताको आधारमा मात्रै बत्ती बाल्ने प्रविधिलाई महानगरले प्राथमिकता दिएको छ । यद्यपि यस प्रविधिका पनि आफ्नै फाइदा र बेफाइदा भएका कारण निश्चित समयको प्रयोगपछि पुनरावलोकन गरिने ट्राफिक सल्लाहकार श्रेष्ठको भनाइ छ । 

पेलिकन क्रसिङ प्रविधिमा यात्रुले बटन थिचेपछि निश्चित समय (५ सेकेन्ड)पछि सवारी साधनलाई रोक्ने संकेतस्वरुप रातो बत्ती बल्ने र पैदल यात्रुका लागि हरियो बत्ती बल्ने गर्छ । त्यसको ३०–३५ सेकेन्डभित्र पैदल यात्रुले बाटो काटिसक्नुपर्छ, त्यसपछि फेरि पैदल यात्रुलाई रातो बत्ती र सवारी साधनलाई हरियो बत्ती बल्छ । यद्यपि यस्तो समय आवश्यकता अनुसार सेटिङ गरिएको हुन्छ । प्रयोग गर्न नजानेमा दुर्घटनाको जोखिम समेत निम्तिने भएकाले सावधानी अपनाएर मात्र यो प्रविधि प्रयोग गर्नुपर्ने विज्ञहरु बताउँछन् । 

हाल काठमाडौँ बाहिर पनि यस्तो प्रविधि प्रयोगमा आइरहेको छ । एक वर्षअघि नै रुपन्देहीको तिलोत्तमा शान्तिकुञ्ज अगाडि पनि पेलिकन क्रसिङ प्रविधि जडान गरिएको थियो । विशेषगरी विद्यालयअगाडिको सडकमा यस्तो बत्ती जडानलाई काठमाडौँ महानगरले प्राथमिकता दिएको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update