News 24 Television
विवादको शिखरमा ओली प्रचण्डः पाउने के, गुमाउने के ?

काठमाडौं । जेट विमानका दुई पाइलटको सम्बन्ध विच्छेदपछिका मिलापमा देखिने गरेको मित्रता पछिल्लो समय दुश्मनीमा बदलिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीबीचको तिक्तता चुलीमा पुगेको बेला किन दाउपेचको राजनीतिले प्रश्रय पाउन थाल्यो ? 

चुनावी गठबन्धनपछि पार्टी एकतामै पुगेपछि जेट विमानका दुई पाइलट भन्दै वामपन्थी आन्दोलनलाई उचाईमा पु¥याउने उद्घोष गरेका दुई नेताहरु पछिल्लो समय आरोप–प्रत्यारोपमा उत्रिएका छन् । 

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई लगाउने आरोप बडो रोचक र सहकार्यको ढोका नै बन्द भएको जस्ता देखिन्छन भने प्रचण्ड पनि ओलीलाई अनेक आरोपले प्रहार गरिरहन्छन् । 

ओली प्रचण्डबीच सत्ता सहकार्य टुटेपछि यस्ता आरोप–प्रत्यारोप चलिरहेका छन् । संसदमा समेत घोचपेच र अस्थिरताको कारकको रुपमा प्रचण्डलाई ओलीले चित्रण गरिरहन्छन् ।

ओलीले प्रचण्ड नेतृत्वको सरकारले देशको ढुकुटी रित्याएको र त्यसको सवलीकरणमा आफू जुटेको समेत भनिरहेका छन् । 

तर, प्रचण्ड ओली नेतृत्वको सरकार विचौलिया र सिमित वर्गको हितका लागि कस्सिएको आरोपमै केन्द्रित देखिन्छन् । 

ओली प्रचण्डबीचका जुहारी चलिरहेका छन् । ओली नेतृत्वको सरकार टिक्दै टिक्दैन भन्ने प्रचण्ड र सरकार ०८४ मा चुनाव गराएपछि मात्रै ढल्छ भन्ने ओलीबीचको तिक्तता चुलीमा देखिन्छ । 

यसमा कांग्रेसले पनि मौनरुपमा माओवादी केन्द्रको विरोध गरेपनि निर्णायक आरोप भने लगाएको देखिन्न । तर, कांग्रेस सभापति शेरबहादुर देउवा भने ओलीलाई जेलदेखिका साथी भन्दै धोका नहुने र लोकतन्त्रको रक्षा भएरै छाड्ने आश्वासन दिनेमा केन्द्रित देखिन्छन् । तर, जेट विमानका दुई पाइलट भन्दै कुम जोडेका उनीहरुबीच फेरि तत्कालीन नेकपा विभाजनपछिको स्थिति जस्तै आरोप–प्रत्यारोपको श्रृंखला चल्न थालेको छ । 

अब बस्ने संसद बैठकमा प्रचण्ड झन उग्र भएर ओलीमाथि खनिने विश्लेषण समेत भइरहेको छ । तर यसले राजनीतिक रुपमा थप संकट ल्याउने मात्रै नभई अबको राजनीति अझ पेचिलो बन्ने देखिन्छ ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update