कैलाली । नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशन गरेपछि नेकपा एमालेका पूर्व उपाध्यक्ष समेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री डा. भिम रावल यतिबेला सुदूरपश्चिमको दौडाहमा छन् । आफ्नो गृहजिल्ला समेत रहेको प्रदेशको अछामबाट मातृभूमि अभियान सुरु गरेका रावल डोटी, डडेल्धुरा हुँदै अहिले कैलालीमा पुगेका छन् ।
नेकपा एमालेका पूर्वउपाध्यक्ष समेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री डा. भिम रावल मातृभूमी जागरण अभियान सञ्चालनको लागी भन्दै देश दौडाहामा छन् । नेकपा एमालेको १० औं महाधिवेशनमा केपी ओलीको प्रतिस्पर्धी बनेर अध्यक्षमा चुनाव लडेपछी ओली र रावलको सम्बन्धमा नराम्रोसँग दरार उत्पन्न भयो जसको कारण रावल पार्टीमा किनाराकृत भए ।
एमालेमा रहदै ओलीप्रति कटाक्ष गर्दै आएका रावललाई नेकपा एमालेको २०८१ पुस १० गते बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको साधारण सदस्य समेत नहने गरी कारबाही गरेको थियो । त्यो लगत्तै डा. भीम रावल मातृभूमी जागरण अभियान सञ्चालनको लागी भन्दै देश दौडाहामा निस्किएका हुन् ।
आगामी निर्वाचनको मुखैमा पार्टी घोषणा गर्ने तयारीका साथ अहिले रावल जागरण अभियान सञ्चालन गरिरहेका छन् । सुनसरीको बरहा क्षेत्रबाट २०८१ पुस २० बाट अभियानको सुरुवात गरेका रावल मोरङ र काठमाण्डौं पछी अहिले सुदूरश्चिम प्रदेशमा केन्द्रीत भएका छन् ।
आफ्नो गृहजिल्ला समेत रहेको यस प्रदेशको अछाम जिल्लाबाट अभियान सुरु गरेका रावलले डोटी, डडेल्धुरा हुँदै अहिले कैलालीमा अभियान सञ्चालन गरिरहेका छन् । जुन ठाउँमा कार्यक्रम ग¥यो त्यही अनुसारका कमिटी निर्माण गर्ने तयारी पनि उनले गरेका छन् । तर राजनीतिक दल गठन गरेर अध्यक्ष बन्ने रहर भने आफुमा नभएको उनी जिकिर गर्छन् ।
विगतमा आफूले कम्युनिष्ट पार्टीको राजनिति गरेपनि अहिले कम्युनिष्ट र गैरकम्युनिष्ट पार्टीमा कुनै भिन्नता नभएको रावल बताउँचन् । त्यसैले पार्टी निर्माण गरिहाले कम्युनिस्ट पार्टी नै खोल्ने भन्नेमा आफु नरहेको उनको भनाइ छ ।
एक समय रावलको सुदूरपश्चिममा राम्रै पकड थियो । सुदूरपश्चिममा उनी एमालेको आधारस्तम्भ नै मानिन्थे । रावलसँग निकट भएको र उनको पछिल्लो अभियानलाई साथ दिएका कारण एमालेले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री समेत रहेको कृष्ण प्रसाद सुवेदी र उनका छोरा जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदी, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दुधकला विष्ट, प्रदेश सल्लाहकार परिषद सदस्य हर्क कुँवर लगाएत ७ जनालाई एमालेले पार्टी सदस्यबाट निष्काशन गरेको छ ।
भीम रावल पार्टी नीति तथा नेतृत्वको विरुद्ध गएकोले कारबाहीमा परेको एमालेका केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्ट बताउँछन् । रावलको पारिवारका केही सदस्य मात्रै उनीसँग गएको भट्टले बताए । रावलका विगत देखिका सबै क्रियाकलाप पार्टीका नेता कार्यकर्ताले राम्ररी बुझेकोले पनि उनको पछाडी कोही नलाग्ने भट्टको दाबी छ ।
अहिले सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले कमजोर छ । प्रदेशमा १६ प्रतिनिधीसभा सदस्यमध्ये एमालेले १ मात्र सिट जितेको छ भने ३२ प्रदेश सभा सदस्य सिटमा ४ सिट मात्रै जितेको छ ।
पछिल्लो चरणमा पार्टीमा बढ्दै गएको गुटबन्धी तथा रावल पक्षको बहिर्गमनले एमालेलाई अझै ठूलो झट्का लाग्न सक्ने अनुमान गरिएको छ ।