News 24 Television
केन्द्रप्रति प्रदेशको आक्रोशः कानून निर्माणदेखि बजेटमा तगारो 

कास्की । गण्डकी प्रदेश स्थापना भएको सात वर्ष पूरा भएको छ । यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलग अलग मनाइने गरेकोमा यसपाली भने एकैदिन मनाइएको छ । केन्द्रीय सत्ता समीकरणको प्रभाव सिधै प्रदेशसम्म झर्दा संघीयताप्रति बढी आलोचना भएको छ । तर प्रदेश सरकारले भने अधिकार नपाएको गुनासो गरिरहेको छ । 

गण्डकी प्रदेश सरकारले मंगलबार आफ्नो आठौं स्थापना दिवस मनाएको छ । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश स्थापना दिवस मनाइएको हो । यसै अवसरमा सरकारले मङ्गलबार सार्वजनिक बिदा समेत दिएको थियो । 

दिवसको अवसरमा आयोजित कार्यक्रममा सत्ता र प्रतिपक्ष दलका नेताले संघीयताको पक्षमा वकालत गरे । उनीहरुले संघीयता कार्यान्वयनको अवस्था फितलो रहेको भन्दै संघ सरकारको आलोचना समेत गरेका छन् । संघीयतामा सत्ता पक्ष र प्रतिपक्षले वकालत गरे पनि संघीयताको पूर्ण कार्यान्वयन नुहँदा गण्डकी सरकार कमजोर भएको र कार्यान्वयनको पक्षमा गण्डकी सरकारले तलमाथि गरेको प्रमुख प्रतिपक्षी दलले आरोप लगाएको छ । 

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता एवं विपक्षी दलका नेता हरिबहादुर चुमानको आरोप छ । संघीयताप्रति जनस्तरबाट समेत प्रश्न उठीरहेको बेला सत्तापक्ष दलका नेताले भने संघीयताको बचाउ गरेका छन् । 

पूर्वमुख्यमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले राजनीतिक अस्थिरताको प्रत्यक्ष प्रभाव प्रदेश सरकारमा परेको भन्दै त्यसका कारणहरु खोतल्नुपर्ने बताए । उनले कांग्रेस र एमाले मिलेर स्थिरता दिन खोजेको संकेत गर्दै संघीयता महंगो भयो भन्नु गलत रहेको टिप्पणी गरे ।

यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा प्रदेश सरकारको स्थापना दिवस गरी छुट्टाछुट्टै मनाउँदै आए पनि यसवर्षदेखि गण्डकी प्रदेश सरकारले एकै दिन स्थापना दिवस मनाउने निर्णय गरेको छ । विक्रम सम्बत २०७९ मा दोस्रो कार्यकालको लागि निर्वाचन भए यता दोस्रो पटक मुख्यमन्त्री भएका सुरेन्द्रराज पाण्डे भने केन्द्र सरकारप्रति आक्रमक देखिन्छन् । संघीय सरकारले कानून निर्माणदेखि बजेट पनि नियन्त्रण गरेको उनको आरोप छ ।  

अस्थिर राजनीतिको प्रभावमा परेको प्रदेश सरकार स्थापना भएको सात वर्षमा ६ पटक मुख्यमन्त्री फेरिएका छन् । पहिलो कार्यकालमा पृथ्वी सुब्बा गुरुङ र कृष्ण चन्द्र नेपाली मुख्यमन्त्री बनेका थिए भने दोस्रो कार्यकालमा सुरेन्द्रराज पाण्डे २ पटक र खगराज अधिकारी २ पटक मुख्यमन्त्री नियुक्त भए । 

अहिले दुई ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनेको छ । तर सरकारले जनतामा आशा जगाउन नसकेको भन्दै आलोचना भइ नै रहेको छ । 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update