News 24 Television
यसरी हुँदैछ नेपालमा डिजिटर कारोबार, एटीएमदेखि कनेक्ट आईपीएससम्म 

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आधुनिक डिजिटल प्रविधिको प्रयोग बढाउँदै लगेका छन् । बैंकमा नपुगी आफ्नै मोबाइलमार्फत कारोबार गर्न सक्ने सुविधा दिने अवस्थासम्म नेपालका बैंक तथा वित्तीय संस्थाहरु पुगिसकेका छन् । डिजिटल सुविधा विस्तार भएसँगै अहिले बैंक खाता खोल्न, रकम जम्मा गर्न र भुक्तानी गर्न बैंक पुग्न पर्दैन । नेपालमा बैंकहरुले उपलब्ध गराएका डिजिटल बैंकिङ सुविधाहरु के–के छन । 

नेपालमा डिजिटल बैंकिङले निकै महत्वपूर्ण स्थान प्राप्त गरेको छ । यसले परम्परागत बैंकिङ सेवाहरूलाई अनलाइनमा ल्याउँदै, नागरिकहरूको जीवनलाई सरल र सुविधाजनक बनाएको छ । 

बैंकहरूको डिजिटल सेवाले, विशेष गरी कोरोना महामारीको समय सन् २०२० पछि बजार लिएको हो । अहिले सबै बैंकहरु आधुनिक प्रविधि भित्र्याउन र विकास गर्ने प्रतिस्पर्धामा छन् । 

नेपालमा उपलब्ध डिजिटल बैंकिङका प्रमुख सुविधाहरू यस प्रकार छन् । 

१. अनलाइन बैंक खाता 

अहिले अधिकांश बैंकहरुले अनलाइन बैंक खाता पनि सञ्चालनमा ल्याएका छन् ।  देश तथा विदेशमा रहेका मानिसहरुले अनलाइन बैंकिङमार्फत सजिलै खाता खोल्न सक्ने छन् । 

२. एटीएम मेसिन 

नेपालमा एटीएम सेवाको सुरु भएको धेरै भएको छैन । तर, छोटो अवधिमा पनि एटीएमले लोकप्रियता कमाएको छ । २०८१ मंसिरसम्म नेपालमा एक करोड ३५ लाख भन्दा बढी एटीएम प्रयोगकर्ता छन् । 

३. पस मेसिन

पस मेसिनको माध्यमबाट नगद बिना कारोबार गर्न सकिन्छ । यस्तो मेसिनहरु व्यापारिक केन्द्रहरुमा राखिएको हुन्छ । 

त्यहाँबाट ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोगबाट रकम भुक्तानी गरी सामान तथा सेवा खरिद गर्न सक्छन । दैनिक उपभोग्य सामान किन्ने पसल, डिपार्टमेन्टल स्टोरहरु, ठूलाठूला सपिङ मलहरु, होटल, सिनेमा हल लगायतमा यसको प्रयोग हुन्छ ।

४. डेबिट कार्ड 

बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटीएम अर्थात अटोमेटेड टेलर मेसिनबाट नगद निकल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भनिन्छ । 

अहिलेसम्म नेपालमा एक करोड ३२ लाख भन्दा बढी डेबिट कार्ड प्रयोगकर्ता छन् । 

५. क्रेडिट कार्ड 

क्रेडिट कार्डबाट निश्चित रकमसम्मको वस्तु तथा सेवा उधारोमा खरिद गर्न सकिन्छ । ‘अहिले खर्च गर पछि तिर्दै गए हुन्छ’ भन्ने उद्देश्यले यो कार्डको विकास भएको हो । 

यो कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म तोकिएको रकम बिना ब्याजमा पाउँछन् । नेपालमा अहिले क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या तीन लाख नाघेको छ ।

६. प्रिपेड कार्ड

कार्डमै रकम जम्मा गरी नगद झिक्न तथा भुक्तानी गर्न सकिनेगरी बैंक तथा वित्तीय संस्था वा अनुमतिपत्रप्राप्त संस्थाले जारी गरेको कार्ड प्रिपेड कार्ड हो । बैंकमा खाता भएको वा नभएको व्यक्ति दुबैले निश्चित रकम तिरी प्राप्त गर्न सकिने कार्ड हो । 

यस्तो कार्डबाट तोकिए बमोजिम नगद झिक्न तथा खरीद गर्दा भुक्तानी गर्न सकिन्छ ।

७. इन्टरनेट बैंकिङ

इन्टरनेट बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरु इन्टरनेट मार्फत आफ्नै कम्प्युटर तथा मोबाइलबाट पाउन सक्छन् । 

ब्यालेन्स हेर्न, स्टेटमेन्ट हेर्न र प्रीन्ट गर्न, नयाँ चेक बुकको अनुरोध गर्न, हराएको चेक रोक्का गर्न, विभिन्न बीलहरुको भुक्तानी गर्न इन्टरनेट बैंकिङबाट सकिन्छ । यसको प्रयोगकर्ता २० लाख ८८ हजार छन् ।

८. मोबाइल बैंकिङ 

मोबाइल एप्लिकेशनहरु मार्फत मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कामहरु गर्न सकिन्छ । यसबाट सजिलैसँग रकम भुक्तानी गर्न सकिन्छ ।

मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा पछिल्लो समय यसको प्रयोग बढेको छ । नेपालमा हाल दुई करोड ६० लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता छन् । 

९. युएसएसडी सेवा 

मोबाइल फोनमार्फत इन्टरनेट बिना सीम कार्डको नेटवर्कबाट युएसएसडी सेवा चल्छ । यसको माध्यमबाट ग्राहकले आफ्नो खाता जाँच्न, फन्ड ट्रन्सफर गर्न र अन्य सुविधाहरु प्रयोग गर्न सकिन्छ । 

१०. क्यूआर कोड पेमेन्ट

ग्राहकले क्यूआर कोड स्क्यान गरेर आफूले खरिद गरेको सामानको भुक्तानी गर्न सक्ने प्रविविध क्यूआर कोड हो । 

धेरै ब्यापारीहरुले यस प्रविधिको उपयोग गर्छन । नेपालमा क्यूआर कोडको प्रयोगले डिजिटल कारोबारमा आकर्षण बढ्दै गएको छ । 

११. ई–वालेट

नेपालमा विभिन्न ई–वालेट सेवा प्रदायकहरु छन् । जसले मोबाइल एप्लिकेसनका माध्यमबाट डिजिटल फण्ड ट्रान्सफर गर्न सजिलो बनाउँछ । नेपालमा ई–सेवा, खल्ती, आइएमई पे, नमस्ते पे लगायतका वालेटहरु सञ्चालनमा छन् । 

१२. कनेक्ट आईपीएस

नेपालमा भएका प्रमुख डिजिटल बैंकिङ सेवाहरुमध्ये कनेक्ट आईपीएस पनि एक हो । यो एक एकीकृत इलेक्ट्रोनिक भुक्तानी प्रणाली हो जसले सुरक्षित र सजिलो गरी पैसा पठाउन मद्दत गर्दछ । यसको माध्यमबाट एक बैंकको खाताबाट अर्को बैंकको खातामा सजिलै पैसा पठाउन सकिन्छ । 

जसलाई ब्यापारिक संस्थाहरुले पेमेन्ट गेटवेको रुपमा प्रयोग गर्दै आएका छन् । नेपालमा डिजिटल बैंकिङका यि सबै माध्यमहरुले वित्तीय कारोबार गर्न मानिसहरुलाई प्रोत्साहन गरेको छ । जसले गर्दा मानिसहरुको जीवन बढी सरल र सुविधाजनक बनेको छ । 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update