सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा डढेलो लाग्ने क्रम सुरु भएसंगै डढेलो नियन्त्रण तथा चेतना अभियान सुरु गरिएको छ । जिल्लाको भोटेकोशी गाँउपालिका–२ स्थित गौरीशंकर संरक्षण क्षेत्रमा गत शुक्रबार साँझ हिम रिभर हाइड्रोपावर कम्पनी माथिको भिरमा विद्युत् सर्ट भएर सल्किएको आगो जटिल भौगोलिक अवस्थाका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो ।
सामुदायिक वन तथा निजी वन क्षेत्रमा डढेलोका घटना बढेपछि नियन्त्रणका लागि संयुक्त अभ्यास र जनचेतना अभिवृद्धिका कार्यक्रम सुरु गरिएको छ ।
मंगलबार अरनिको राजमार्गको मेलचौर इर्खु क्षेत्रमा देखिएको फरक दृश्यले राजमार्गमा आवतजावत गर्नेको ध्यान केन्द्रित गर्यो । यहाँ भेला भएकाहरु कोहि पतकर, दाउरा संकलन गरेर नियन्त्रित डढेलो लगाउँदै थिए, कोहि झाडि सफाई र अग्नी रेखा सफाई गर्नमा ब्यस्त थिए । खासमा यो दृश्य साच्चिकै आगलागी भइहाले कसरी नियन्त्रणमा ल्याउने भनेर गरिएको अभ्यास थियो ।
सिन्धुपाल्चोक स्थित अरनिको राजमार्ग अन्तरगत बन्देज चौतारा सडक खण्डमा आगलागी भइहाले कसरी प्रज्वलनशिल पदार्थ हटाउने भनेर देउराली च्यानडाडा र कल्लेरी सामुदायिक वन समुहले यो अभ्यास गरेका हुन् । सुख्खा मौसम बढ्दै जाँदा लाग्ने डढेलोबाट जोगिइन र नियन्त्रण्मा लिन यो तयारीले काम लाग्ने उनीहरु बताउँछन् ।
यो वर्ष हिउँदमा पानी नपरेकाले पनि डढेलोका घटना बढ्न सक्ने अनुमान गर्न थालिएको छ । वन क्षेत्रमा आगलागी नियन्त्रणको लागी जुटेका सामुदायिक वन समूहलाई सहजिकरण गर्न डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले हरित स्वयमसेवक परिचालन गरेको छ । तालिम प्राप्त हरित स्वयमसेवक समुहले डढेलो नियन्त्रण गर्न स्थानीयवासीलाई अभ्यास पनि गराइरहेको छ । अग्नि प्रतिरोधक जम सुट, वाटर स्प्रे, हेलमेट सहित खटिएको समुहले स्थानीयलाई अग्नि प्रतिरोधक सामग्रीका माध्यमबाट सहजिकरण गरिरहेका छन् ।
सामुदायिक वनको उद्गमस्थल मानिने सिन्धुपाल्चोकमा गतवर्ष १ सय ९९ हेक्टर जङ्गल डढेलोले नष्ट भएको थियो । गर्मी र सुख्खा मौसमसँगै डढेलो लाग्ने क्रम बढ्ने हुदा यसबाट महत्वपूर्ण जडीबुटी, वन्यजन्तु र करोडौंका रुख बिरुवा नोक्सान हुने गर्छ । तर बर्सेनि जङ्गलमा डढेलो कसले लगाउँछ भन्ने तथ्य भने अहिलेसम्म खुल्न सकेको छैन ।
सामुदायिक वनका उपभोक्ता, सर्वसाधारण नागरिकहरु डढेलोको सिजन सुरु भएसंगै नियन्त्रित डढेलो अभ्यासले डढेलो लाग्नै नदिने र यदि लागी हालेमा भयावह अवस्था नबन्ने बताउछन् । डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले समुदायले जिम्मा लिएको सामुदायिक वन समूहलाई अग्रसर बनाएर जिम्मेवार बनाउने रणनीतिमा छ ।
सामुदायिक वन मानवजिवन र प्रकृतिको लागि ठुलो सम्पती हो । सिन्धुपाल्चोक जिल्लाभित्र रहेका सामुदायिक बन समुहहरुले यसरी अग्नि रेखा सरसफाई गरि अग्नि नियन्त्रणमा जुटे विगतका वर्षमा सामुदायिक वनले भोग्दै आएको क्षति कम हुने आंकलन गरिएको छ ।
तर वन संरक्षणमा तिनै तहको सरकारले स्वामित्व ग्रहण गर्नुपर्नेमा डढेलो नियन्त्रण सम्बन्धी बजेट र कार्यक्रमलाई सरकारले खुम्च्याएको भन्दै सरोकारवाला स्थानीय निकायल चिन्ता व्यक्त गरेको छ ।