काठमाडौं । विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान देशभर सुरु गरेको छ ।
ह्युमन प्यापिलोमा भाइरसका कारण पाठेघरको मुखको क्यान्सर भई महिलाहरुले मृत्युवरण गर्नुपरेको भन्दै यसलाई रोकथामका लागि सरकारले देशभर एचपीभी विरुद्धको खोप अभियान सञ्चालनमा ल्याएकोे हो ।
महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर दोस्रो बढि देखिने क्यान्सर मध्येमा पर्छ । यो अभियान अन्तर्गत दश वर्षदेखि १४ वर्षसम्मका करिब १७ लाख किशोरीलाई एचपीभी खोप प्रदान गरिनेछ ।
पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा अर्थात गर्भाशय र योनीलाई जोड्ने भागमा हुने क्यान्सर हो । नेपालमा देखिने क्यान्सरहरु मध्ये महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा पर्दछ भने विश्वमा पाठेघरको मुखको क्यान्सर फोक्सोको क्यान्सरपछि दोस्रोमा पर्दछ । सरकारी तथ्यांक अनुसार नेपालमा बर्षेनी २ हजार १ सय ६९ जना महिला पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेका छन् ।
त्यसमध्ये १ हजार ३ सय १३ महिलाले पाठेघरको क्यान्सरकै कारण ज्यान समेत गुमाउने गरेका छन् । साथै प्रत्येक दिन ६ जना महिला क्यान्सरका कारण मृत्यु हुँदा चार जना पाठेघरको क्यान्सरले मृत्युवरण हुने गरेको छ । पछिल्लो समय महिलाहरुमा पाठेघरको मुखको क्यान्सर एक जटिल समस्याका रुपमा देखिएको चिकित्सकहरु बताउँछन् । एचपीभी खोप निश्चित उमेरका किशोरीलाई प्रदान गर्दा यसले भविष्यमा पाठेघरको क्यान्सरबाट जोगान सकिने विश्वास सरकारी पक्षको छ । १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुले सो खोप नछुटाई लगाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।
मंगलवारबाट सुरु भएको एचपीभी खोप अभियान फागुन ५ गतेसम्म सञ्चालन हुनेछ । किशोरी लक्षित एचपीभी खोप अभियानमा मुलुकभरका १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थाबाट खोप प्रदान गरिँदैछ । नेपाली महिला तथा भविष्यको नेपाललाई पनि स्वस्थ बनाउन यो अभियान महत्वपूर्ण हुने अपेक्षा प्रधानमन्त्री र मन्त्रीहरुले गरेका छन् ।
कुन प्रदेशमा कति खोप ?
कोशी प्रदेशमा दुई लाख ७५ हजार एक सय ८० मात्रा,
मधेशमा तीन लाख ८० हजार चार सय ६० मात्रा
बागमती प्रदेश अन्तर्गत हेटौँडाका लागि एक लाख २५ हजार आठ सय मात्रा
बागमती प्रदेश अन्तर्गत भक्तपुरका लागि दुई लाख १८ हजार दुई सय ८० मात्रा
लुम्बिनीका लागि दुई लाख ९८ हजार ९ सय १० मात्रा
सुदुरपश्चिमका लागि एक लाख ८७ हजार एक सय २० मात्रा
कर्णालीका लागि एक लाख २४ हजार चार सय
गण्डकीका लािग एक लाख ३० हजार ८ सय ७० मात्रा
एचपिभी खोप अभियानअन्तर्गत कोशी प्रदेशका २ लाख ६५ हजार ९ सय १८ जना ६ कक्षा किशोरीहरुलाई खोप दिने लक्ष्य छ । यो खोप पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिएकाले खोप लक्षित वर्गले नछुटाई खोप लगाउँन कोशी प्रदेशका मुख्यमन्त्रीले आग्रह समेत गरेका छन् ।
मंगलवारबाट सुरु भएको एचपीभी खोप अभियान देशैभर सञ्चालन गरिँदा दुर्गम क्षेत्रका विद्यालयमा पनि उत्तिकै उत्साहका साथ चलिरहेको छ । मुगु जिल्लाको चारै स्थानीय तहमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययरत ३ हजार ८ सय ८५ किशोरीहरुलाई खोप दिइदै छ ।
अभियानको पहिलो दिन मंगलबार सदरमुकाम गमगढी बजारमा रहेका महामाली उच्च माध्यामिक बिद्यालयबाट एचपीभी खोप अभियान सुरु गरिएको छ । यस अभियानले यस जिल्लाका बालिकाहरूको स्वास्थ्य सुधार गर्दै पाठेघर मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।
अभियान अन्र्तगत दिइने ’सिकोलिन’ नामक एचभीपी खोप पाठेघरको मुखको क्यान्सरका १६ देखी १८ प्रजातीको रोकथाम .र नियन्त्रणका लागि प्रभावकारी मानिएको छ । साथै यो खोप सुरक्षित समेत भएकाले लक्षित किशोरीहरुले नछुटाई लगाउन परिवार कल्याण अन्र्तगतको खोप शाखाले सबैलाई आग्रह गरेको छ ।
पाठेघरको मुखको क्यान्सर होस् वा अन्य कुनै क्यान्सर नै किन नहोस् क्यान्सर भन्ने वित्तिकै जीवनको अन्तिम भन्ने सोच अहिले पनि अधिकांशमा हावी छ । तर क्यान्सर रोग लाग्दैमा आत्तिनु पर्दैन । आत्मबल बलियो बनाएर उपचार गर्न सक्ने हो भने क्यान्सर रोगलाई सजिलै जित्न सकिन्छ ।
अहिले पनि जनचेतना अभावका कारण क्यान्सर रोगीहरु परिक्षणको दायरामा ढिला पुग्ने गरेको गायक धिरज राईको अनुभव छ । उनी अहिले पनि क्यान्सर रोगको बारेमा धेरै भन्दा धेरै जनचेतना अभिवृद्धि कार्यक्रमको आवश्यता भएको औलाउँछन् ।
पाठेघरको मुखको क्यान्सरलाई निकै खतरनाक मान्ने गरिन्छ । किनकी पाठेघरको मुखको क्यान्सर पाठेघरको मुखबाट कलेजो, ब्लाडर, योनी, फोक्सो र मिर्गौलासम्म पनि फैलने गर्दछ । जसका कारण यसले शरीरका भित्री अंगहरुमा समेत नराम्ररी असर पुग्ने गर्दछ ।
पाठेघरको मुखको क्यान्सर विस्तारै विस्तारै बढ्ने भएकाले कतिपयले यसको सुरुवाती लक्षण समेत थाहा पाउँदैनन् । सामान्यत पाठेघरको मुखको क्यान्सर ३५ देखि ४० बर्षको उमेरपछि हुनेगर्छ । पाठेघरको मुखको क्यान्सरको सुरुवाती लक्षणहरुमा रक्तश्राव हुनु, प्रजनन अंगमा दुखाई महसुस हुनु, योनीबाट गन्हाउने पानी आउने, रगत मिसिएको पानी आउने, महिनावारी सुकिसकेको महिलाहरुमा समेत रगत देखिने, यौनसम्पर्क गरेपछि रगत देखिने जस्ता लक्षणहरु देखिन्छन् । तर रोग लागेर उपचार गर्न भन्दा रोगबाट बच्नु नै उत्तम उपाय हो । त्यसैले ३५ वर्ष उमेर कटेका महिलाहरुले पाठेघरको मुखको पानीको तथा एचपीबी डिएनएको पनि परीक्षण गर्न आवश्यक छ । जसले पाँचदेखि १० वर्षको बीचमा क्यान्सर लाग्छ कि लाग्दैन भनेर समेत अनुमान गर्न सकिन्छ ।